जोडिनुहोस
बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • चुनावको पिक समयमै बैंकिङ प्रणालीबाट बाहिरिएन पैसा

चुनावको पिक समयमै बैंकिङ प्रणालीबाट बाहिरिएन पैसा

अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झरेको छ। निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि अपेक्षितरुपमा खर्च नबढाउँदा अन्तर बैंक दर घटेको हो। राष्ट्र बैंक यसअघि निक्षेप संकलन र एसडीएफ प्रयोग गरी अन्तर बैंक दर २.७५ सम्म राख्न सफल भएकामा अहिले २.४९ प्रतिशतमा झरेको छ।

होली र चुनावका कारण करिब एक साता सार्वजनिक बिदा परेका कारण बैंकिङ प्रणालीमा तरलता थुप्रिएको प्रभाव अन्तर बैंक दरमा देखिएको हो। बैंकहरुमा हाल साढे ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम (तरलता) छ। राष्ट्र बैंकले २.७५ प्रतिशतमा तरलता खिच्दै आएकामा एक साता लामो सार्वजनिक बिदाका कारण अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो विन्दुभन्दा तल झरेको हो।

फागुका कारण सोमबार काठमाडौं उपत्यकासहित ५३ जिल्लामा सार्वजनिक बिदा भएकामा मंगलबार तराईका जिल्लामा बिदा छ। बुधबारदेखि शुक्रबारसम्म चुनावका लागि सार्वजनिक बिदा दिइएको छ। फागुन २४ गते नारी दिवसको बिदा छ। निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ)मार्फत तरलता खिच्दै आएको राष्ट्र बैंकले बिदाको समयमा बजारबाट पैसा उठाउँदैन।

करिब एक सातासम्म सार्वजनिक बिदा परेकाले तरलता थुप्रिने देखेपछि बैंकहरुले ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कममा कारोबार गर्न थालेको राष्ट्र बैंकका एक अधिकारीले बताए। ‘हामीले तरलता व्यवस्थापनका लागि बजारबाट निरन्तर पैसा उठाउने गरिरहेका छौं,’ ती अधिकारीले बिजमाण्डूसँग भने,’ बिदाको समयमा हामीले यस्तो टुल्स संचालनमा ल्याउँदैनौं। त्यो समयमा बैंकहरुमा आएको पैसा स्टक बस्छ। जसले गर्दा बैंकहरुले ब्याजदर करिडोरको सीमाभन्दा कममा सापटी लिने दिने गरिरहेका छन्।’

निर्वाचनमा सरकारका साथै राजनीतिक दल र उम्मेदवारका तर्फबाट बैंकिङ प्रणालीमार्फत ठूलो रकम खर्च हुने अनुमान गरिएकामा यसपालि त्यस्तो देखिएको छैन। चुनावको पिक समयमा पनि पछिल्लो एक सातामा बैंकिङ प्रणालीबाट जम्मा २० अर्ब रुपैयाँ बाहिरिएको छ। अधिक तरलताको अवस्थामा त्यति पैसा बाहिंरिदा खासै फरक नपरेको ती अधिकारीको भनाइ छ।

यसअघि दसैं तिहारका बेला पनि बिदाका कारण अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झरेको थियो।
राष्ट्र बैंकले बैंक दर निक्षेपको ब्याजदर २.७५ प्रतिशत (ब्याजदर करिडोरको तल्लो सीमा)देखि र ४.२५ प्रतिशतको बीचमा राख्नु पर्छ। तर बिदाको अवधिमा राष्ट्र बैंकले तरलता व्यवस्थापनका उपकरण प्रयोग नगर्ने भएका कारण बैंकहरूबीचको सापटी दर स्वतः घटेको हो।

सामान्य अवस्थामा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट अधिक तरलता सोस्न स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ, जसले अन्तर बैंक दरलाई ब्याजदर करिडोरभित्र राख्न मद्दत गर्छ। तर, लामो सार्वजनिक बिदाका कारण अहिले प्रणालीमा पैसा घटेको छैन। तरलता बढी भइ बैंकहरू एकअर्कालाई सस्तोमै सापटी दिन तयार भएकाले अन्तर बैंक दर करिडोरको तल्लो सीमाभन्दा तल झरेको हो।

बिदा सकिएपछि राष्ट्र बैंकले पुनः तरलता व्यवस्थापनका उपकरण प्रयोग गर्दै बैंक दरलाई करिडोरभित्र फर्काउँछ। त्यसैले हाल देखिएको अन्तर बैंक दरको गिरावटलाई संरचनागत समस्याको साटो अल्पकालीन तरलता व्यवस्थापनसँग जोडेर हेरिएको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका