जोडिनुहोस
शुक्रबार, फाल्गुन २९, २०८२
शुक्रबार, फाल्गुन २९, २०८२
  • होमपेज
  • रेमिट्यान्स बढ्यो ४० प्रतिशत, माघमै २ खर्ब 

रेमिट्यान्स बढ्यो ४० प्रतिशत, माघमै २ खर्ब 

चालु आर्थिक वष सातौं महिनामा पनि रेमिट्यान्स आप्रवाहमा उच्च सुधारले निरन्तरता पाएको छ । चालु आव माघमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशत बढेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । चालु आव पुसमा ३९.१ प्रतिशत बढेको थियो ।

पुसमा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा माघमा सामान्य बढेर १ खर्ब ९८ अर्ब पुगेको हो । तर, गत आव सोही अवधिको तुलनामा हरेक महिनाको रेमिट्यान्स आप्रवाह ४० प्रतिशत हाराहारीमा देखिएको हो ।

माघसम्म १२ खर्ब ६१ अर्ब १ करोड बराबर रेमिट्यान्स स्वदेश आएको छ । यो रेमिट्यान्स गत आव सोही अवधिको तुलनामा ३९.८ प्रतिशत धेरै हो । गत आव माघमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

गत माघमा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आव माघमा १ खर्ब ३७ अर्ब ५० करोड रेमिट्यान्स आएको थियो ।

चालु आव माघमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ५.५ प्रतिशत बढेको थियो ।

चालु आव माघसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड थियो ।

चालु आव माघसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ छ । गत आव सोही अवधिमा यस्तो संख्या २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ थियो ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका