जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हुँदै नभएको राजीनामाबारे किन फैलियो खबर ?

हुँदै नभएको राजीनामाबारे किन फैलियो खबर ?

सोमबार एकाएक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले पदबाट राजीनामा दिएको खबर नेपाली मिडियामा छापछाप्ती भयो । तर यति बेला पाण्डे राजीनामा दिनु त टाढाको कुरा, बैंकमा आफ्नै कार्यकक्षमा व्यस्त थिए । ‘कसैलाई भ्रम भयो होला हजुर, मैले राजीनामा दिएको होइन’, पाण्डेले भने । पाण्डेसँग सम्पर्क हुनुअघि हामीले उक्त बैंकका उच्चपदस्थ कर्मचारी र केही सञ्चालकलाई पनि सोधेका थियौँ । तर ती सबै स्रोतले यो खबर झुटो भएको बताए ।

हुँदै नभएको राजीनामाको खबर यसरी बाहिर मिडियामा आएपछि प्रश्न उठ्यो, आखिर यो हल्ला कहाँबाट र किन फिँजियो ? बैंकका एक कर्मचारीका अनुसार गत शुक्रवार नै बैंकमा खासखुस यस्तो हल्ला फिँजिएको थियो । सिइओ पदबाट राजीनामा दिन्छन् होला भन्ने आशयमा फैलिएको त्यो ‘खासखुस’ अहिले मिडियामा आइपुगेको हुनसक्ने एक जना वरिष्ठ अधिकारीले बताएका छन् । तर आफूहरूले पनि सिइओलाई स्मार्ट सेल मुद्दामा सशक्त प्रतिरक्षा गर्न र पदमै रहेर अनुसन्धानलाई सघाउन सुझाव दिएको ती अधिकारीले भने । उनका अनुसार राजीनामाको विषयमा सोच्दै नसोचिएको चाहिँ होइन, तर सबैको सल्लाहमा राजीनामा नदिने र मुद्दाको अनुसन्धानमा सघाउने निचोड निस्किएपछि पाण्डेले ‘कलम नचोपी’ बसेका हुन् ।

बैंकका कम्पनी सचिवलाई उद्धृत गर्दै अर्का उच्चपदस्थ कर्मचारीले राजीनामाको कुनै पनि कागज पेस नभएको बताए । ‘उहाँले राजीनामा दिएकै भए पनि अहिले बोर्डले स्वीकृत गर्ने थिएन । त्यसैले राजीनामा दिनु भएन । यो हल्ला गलत हो ।’ भारतमा एमबिए पूरा गरेर सन् १९८८ मा नेपाल इन्डोसुएज बैंकबाट बैंकिङ करियर सुरु गरेका पाण्डे सन् १९९२ मा हिमालयन बैंकमा सामेल भएका थिए । त्यहाँ ९ वर्ष विभिन्न विभागमा रहेर कार्य अनुभव बटुलेका पाण्डे सन् २००२ नेपाल इन्भेस्टमेन्ट बैंकमा गए । त्यसको १० वर्ष पछि सन् २०१२ देखि बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा उनले नेतृत्व सम्हाल्दै आएका छन्।

विगत १४ वर्षदेखि बैंकको नेतृत्व सम्हालेका पाण्डेका लागि आफ्नो कार्यकाल अझै धेरै वर्ष लम्ब्याउने आशा, अपेक्षा र जाँगर नहुन सक्छ । तर उनले अहिले नै जागिर छाडिहाल्ने अवस्था नरहेको बैंकका अधिकारीहरूले बताएका छन् ।

210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्