जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एक महिनामै छापिए ११ लाख लाइसेन्स: असार मसान्तभित्र पुराना लाइसेन्स सबै सकिने

एक महिनामै छापिए ११ लाख लाइसेन्स: असार मसान्तभित्र पुराना लाइसेन्स सबै सकिने

सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइमा देखिएको लामो समयदेखिको ढिलाइ अन्त्य हुने संकेत देखिएको छ। सुरक्षण मुद्रण केन्द्रले पछिल्लो एक महिनाको छोटो अवधिमै ११ लाख थान लाइसेन्स छापेर कीर्तिमान कायम गरेको छ। लाइसेन्स प्रिन्ट सुरु गरेको पहिलो ५ महिनामा विविध प्राविधिक कारण र कच्चा पदार्थको अभावले मात्र १ लाख लाइसेन्स छापेको केन्द्रले पछिल्लो ३० दिनमा आफ्नो क्षमतालाई तीव्र पार्दै बाँकी ११ लाख कार्ड छापेको हो।

सम्झौता अनुसारको काम सम्पन्न
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने गरी सम्झौता भएको थियो। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार सम्झौता बमोजिमका सबै १२ लाख लाइसेन्स छपाइ भइसकेका छन्। “अहिले छापिएका लाइसेन्सको प्याकिङ गर्ने काम भइरहेको छ,” कार्यकारी निर्देशक ढुंगानाले भने, “प्रिन्ट भइसकेका लाइसेन्सको विवरण वेबसाइटमा छिट्टै अपडेट गरिनेछ, जसले गर्दा सेवाग्राहीले आफ्नो लाइसेन्सको अवस्थाबारे जानकारी पाउन सहज हुनेछ।”

असार मसान्तसम्म सबै वितरण हुने लक्ष्य
सरकारले ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गर्ने महत्त्वाकांक्षी नीति अघि सारेको छ। सोही नीतिलाई मूर्तरूप दिन केन्द्रले हाल दैनिक करिब ४० हजारको हाराहारीमा लाइसेन्स छापिरहेको छ। विभागसँग भएको पहिलो चरणको १२ लाख लाइसेन्सको काम सकिए लगत्तै बाँकी रहेका अन्य करिब १७ लाख पुराना लाइसेन्स (ब्याकलग) पनि असार मसान्तभित्रै छापिसक्ने लक्ष्य राखिएको छ। यसका लागि केन्द्र र विभागबीच थप सम्झौता समेत भइसकेको छ।

असार मसान्तसम्म सबै पुराना लाइसेन्स छापिएपछि साउन १ गतेदेखि राजस्व तिरेको केही समयमै चालकले स्मार्ट कार्ड पाउने अवस्था सिर्जना हुने केन्द्रको दाबी छ। हाल छापिएका लाइसेन्सहरू हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयहरूमा पठाउने तयारी भइरहेको छ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका