
यति बेला एउटा बैंकका कर्मचारीले आत्महत्या गरेसँगै सिङ्गो बैंकमाथि नै आरोप-प्रत्यारोप लगाउने डरलाग्दो काम केही मिडियाकर्मीहरूबाट भएको देखिन्छ। यो राम्रो पक्ष मानिँदैन। नेपालको बैंकिङ क्षेत्र अहिले गम्भीर मानसिक सङ्कट र अस्वस्थ कार्य संस्कृतिको भुमरीमा फसेको छ। पछिल्लो समय एक बैंक कर्मचारीले आत्महत्याको बाटो रोजेपछि बैंकिङ जगतमा मात्र नभई आम नागरिक र सरोकारवाला निकायबीच ठूलो तरङ्ग पैदा भएको छ। यो घटना केवल एउटा व्यक्तिगत दुःखान्त मात्र नभएर नेपालको बैंकिङ प्रणालीमा व्याप्त अव्यवस्था, कर्मचारीमाथिको दमनकारी व्यवहार र मानसिक स्वास्थ्यप्रतिको चरम बेवास्ताको एउटा कुरूप प्रतिबिम्बका रूपमा उदाएको छ। कर्मचारीमाथि थोपरिएको अनावश्यक कार्यबोझ र ओभरटाइम कामको विषयले अहिले वित्तीय क्षेत्रलाई नै हल्लाइदिएको छ। यस्तो विषम परिस्थितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई अतिरिक्त समय काम गराउँदा कानुनबमोजिमको सुविधा उपलब्ध गराउन कडा निर्देशन जारी गरेको छ। मन्त्रालयको यो निर्देशनले नेपाल राष्ट्र बैंकको नियमनकारी भूमिकामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। नियमनकारी निकाय आफैँले पहल लिनुपर्ने विषयमा श्रम मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था आउनुले केन्द्रीय बैंकको कार्यक्षमता र कर्मचारीप्रतिको संवेदनशीलतामाथि गम्भीर शङ्का पैदा गरेको छ। यसअघि पनि पटक–पटक बैंक कर्मचारीहरूले ओभरटाइम कामको भुक्तानी नपाएको र कार्यस्थलमा हुने शोषणबारे उजुरी दिएका थिए। तर, राष्ट्र बैंकले सधैँ मौनता साँध्दै आएका कारण आजको यो भयावह स्थिति सिर्जना भएको हो।
नेपालको बैंकिङ क्षेत्रमा कर्मचारीहरूले भोगिरहेको मानसिक तनावको प्रमुख कारण ‘अत्यधिक कार्यदबाब’ नै हो। बैंकहरूले सीमित कर्मचारीबाट असीमित काम लिन खोज्ने प्रवृत्तिलाई आफ्नो व्यावसायिक सफलता ठानिरहेका छन्। एउटा कर्मचारीले ग्राहक सेवादेखि लिएर कर्जा प्रक्रिया, डिजिटल बैंकिङ, रिपोर्टिङ र व्यवस्थापनको लक्ष्य पूरा गर्ने काम एकैसाथ गर्नुपर्ने बाध्यता छ। दिनभरि कम्प्युटरको स्क्रिन अगाडि बसेर काम गर्दा हुने मानसिक थकान त छँदैछ, त्यसको अतिरिक्त कामको कुनै उचित प्रतिफल वा ओभरटाइम भत्ता नपाउँदा कर्मचारीहरू भित्रभित्रै जलिरहेका छन्।
दोस्रो ठूलो कारण ‘लक्ष्य प्राप्ति’ (Target) को चर्को दबाब हो। बैंकिङ क्षेत्रमा अहिले निक्षेप सङ्कलन र कर्जा प्रवाहमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाले कर्मचारीको चैन खोसिदिएको छ। शाखा प्रबन्धकदेखि तल्लो तहका मार्केटिङ कर्मचारीसम्मलाई मासिक वा त्रैमासिक रूपमा असम्भवप्रायः लक्ष्यहरू तोकिन्छन्। यदि लक्ष्य पूरा भएन भने कार्यसम्पादन मूल्याङ्कन कमजोर देखाइने, बढुवा रोकिने वा व्यवस्थापनबाट मानसिक यातना दिइने डरले कर्मचारीहरू निरन्तर तनावमा रहन बाध्य छन्। यो प्रक्रियाले कर्मचारीलाई व्यावसायिक दक्षता बढाउनुको साटो केवल एउटा ‘मेशिन’का रूपमा प्रयोग गरिरहेको छ।
त्यस्तै, खराब कर्जा र ऋण असुलीको तनावले बैंक कर्मचारीहरूलाई थप असुरक्षित बनाएको छ। आर्थिक मन्दीका कारण धेरै ऋणीहरू ऋण तिर्न नसक्ने अवस्थामा छन्। बैंकले कर्मचारीलाई ऋण असुलीका लागि ऋणीको घरदैलोमा पुग्न दबाब दिन्छन्। यस्तो बेला ऋणीबाट हुने दुर्व्यवहार, धम्की र विवादले कर्मचारीको मनोबल गिरेको छ। कर्जा शाखामा काम गर्ने कर्मचारीहरू प्रायः त्रासमा काम गर्न बाध्य छन्। डिजिटल बैंकिङको तीव्र विस्तारसँगै आएको साइबर सुरक्षाको जोखिमले पनि कर्मचारीलाई थप तनाव थपेको छ। एउटा सानो प्राविधिक गल्ती वा सिस्टमको समस्याले गर्दा हुने ठूलो आर्थिक क्षतिमा कर्मचारीले नै पहिलो निशाना बन्नुपर्ने अवस्था छ।
अर्कोतर्फ, ग्राहकहरूको व्यवहार पनि तनावको अर्को कारण हो। डिजिटल सेवामा आउने प्राविधिक गडबडी, चेक क्लियरिङमा हुने ढिलाइ वा कर्जा स्वीकृत नहुँदा ग्राहकको आक्रोश सीधै फ्रन्ट डेस्कमा बस्ने कर्मचारीमाथि पोखिन्छ। दुर्व्यवहार र धम्कीको सामना गर्दै मुस्कानसहित सेवा दिनुपर्ने बाध्यताले कर्मचारीको मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ। महिला कर्मचारीहरूको अवस्था त झनै जटिल छ। घर र कार्यालयको दोहोरो जिम्मेवारी, सामाजिक अपेक्षा र कार्यस्थलको कहिलेकाहीँ असहज वातावरणले गर्दा उनीहरू मानसिक रूपमा बढी पिल्सिएका छन्।
नेपाली समाजमा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने संस्कार अझै विकसित भइसकेको छैन। बैंकिङ क्षेत्रमा त झन् ‘मानसिक तनाव’ वा ‘डिप्रेशन’लाई कमजोरीका रूपमा लिइन्छ। यस्तो कुरा बाहिर ल्याउँदा जागिर नै धरापमा पर्ने वा आफूलाई कमजोर कर्मचारीको बिल्ला लाग्ने डरले धेरैले आफ्नो पीडा लुकाउँछन्। तर, भित्रभित्रै उनीहरू उच्च रक्तचाप, अनिद्रा, निराशा र कार्यप्रतिको वितृष्णाबाट ग्रसित भइरहेका छन्। हालको आर्थिक मन्दीले समग्र वित्तीय क्षेत्रलाई खुम्च्याएको छ। यस्तो सङ्क्रमणकालीन समयमा अर्थतन्त्रको अग्रपङ्क्तिमा रहेर लड्ने कर्मचारीहरू आफैँ ढल्ने अवस्थामा पुग्नु मुलुकको समग्र वित्तीय प्रणालीका लागि नै ठूलो खतरा हो।
अब बैंकहरूले नाफा र लक्ष्यको प्रतिस्पर्धालाई मात्र सफलताको मापन बनाउने कार्य बन्द गर्नुपर्छ। जबसम्म एउटा कर्मचारी खुसी र मानसिक रूपमा स्वस्थ रहँदैन, तबसम्म कुनै पनि बैंकले दीर्घकालीन सफलता प्राप्त गर्न सक्दैन। बैंकहरूले कार्यघण्टालाई व्यवस्थित बनाउनु आवश्यक छ। ओभरटाइम काम गरेबापत अनिवार्य रूपमा उचित क्षतिपूर्ति र सुविधा उपलब्ध गराउनुपर्छ। कर्मचारीहरूको लागि नियमित काउन्सिलिङ र मानसिक स्वास्थ्य सेवाको व्यवस्था गरिनु जरुरी छ। साथै, व्यवस्थापनले कर्मचारीप्रति राख्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक छ।
नेपाल राष्ट्र बैंकले अब केवल कानुन बनाउने वा पत्राचार गर्ने काममा मात्र सीमित नभएर अनुगमनको पाटोलाई पनि कडाइका साथ अघि बढाउनुपर्छ। कर्मचारीको मानसिक स्वास्थ्य र कामको वातावरणलाई नियमनको एउटा प्रमुख अङ्ग बनाउनुपर्ने बेला आएको छ। बैंकिङ क्षेत्रको विकास भनेको भौतिक पूर्वाधार र नाफा मात्र होइन, त्यहाँ कार्यरत मानिसहरूको आत्मसम्मान र मानसिक शान्ति पनि हो। यदि अहिले नै यो समस्यालाई गम्भीरतापूर्वक लिइएन भने भोलि बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने र समग्र अर्थतन्त्र नै सङ्कटमा पर्न सक्ने जोखिम बढ्नेछ। कर्मचारीको सुरक्षा र सम्मान नै बैंकिङ क्षेत्रको वास्तविक जग हुनुपर्छ। सचेत भया !
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































