
नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि अन्तिम दिनसम्म ५० जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयमा गठित सिफारिस समितिले तोकेको अन्तिम समय सीमाभित्र नियामक निकाय, बैंकिङ क्षेत्र तथा बीमा क्षेत्रका विज्ञहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार आवेदन दिने अन्तिम दिन अपराह्न ५ बजेसम्म आकांक्षीहरू आफैँ उपस्थित भएर व्यक्तिगत विवरण बुझाएका थिए । आवेदन दिनेहरूमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर बम बहादुर मिश्र, बीमाविज्ञ डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर कुमार रायमाझी रहेका छन् ।
त्यसैगरी, नेपाल बीमा प्राधिकरणकै बहालवाला निर्देशक कमलराज रेग्मी, उपनिर्देशक विरोध भट्ट तथा राष्ट्र बैंकका केही कार्यकारी निर्देशक र उपनिर्देशकहरूले समेत नेतृत्वका लागि दाबी पेश गरेका छन् ।
आवेदकको सूचीमा स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक डा. दामोदर बसौला, युनाइटेड इन्स्योरेन्सका पूर्वकामु सीईओ रमेश कुमार भट्टराई, राष्ट्र बैंकका पूर्वकार्यकारी डा. राजेन्द्र पण्डित, बिष्णुबाबु मिश्र, झनकराज ढुंगेल र बुद्धकाजी श्रेष्ठ रहेका छन् । यसैगरी प्रशान्त धमला, सुनिल देवकोटा र बिक्रान्त पाण्डेले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
अर्थ मन्त्रालयले आवेदकहरूको आधिकारिक सूची सार्वजनिक नगरे पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित सिफारिस समितिले प्राप्त आवेदनहरूको सर्टलिस्टिङ गरी छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको छ । समितिले योग्य उम्मेदवारहरूमध्ये कार्यक्षमता प्रस्तुतीकरणका आधारमा उत्कृष्ट तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्ने र मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































