जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, विद्यालयदेखि मन्दिरसम्म सहयोग

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, विद्यालयदेखि मन्दिरसम्म सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व नीति अनुरूप देशका विभिन्न जिल्लामा रहेका विद्यालय, सामुदायिक संस्था तथा धार्मिक स्थललाई सहयोग उपलब्ध गराएको जनाएको छ।

यसअन्तर्गत झापाको श्री पृथ्वी माध्यमिक विद्यालय, बागलुङको श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, मकवानपुरको श्री वंशगोपाल आधारभूत विद्यालय तथा चितवनको श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सुरक्षित तथा सहज शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ स्थित श्री कृष्ण आधारभूत विद्यालयका ८० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई बैंकको बेलौरी शाखामार्फत विद्यालय झोला वितरण गरिएको छ। यसले विद्यार्थीको अध्ययनलाई थप सहज बनाउने विश्वास बैंकले लिएको छ।

बाराको सिमरा कलेजमा पठनपाठनलाई प्रविधिमैत्री बनाउन बैंकले आफ्नो सिमरा शाखामार्फत एक थान ल्यापटप हस्तान्तरण गरेको छ। आर्थिक स्रोतको अभावका कारण गुणस्तरीय शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, बझाङको शिक्षोदय माध्यमिक विद्यालयस्थित किशोरकिशोरी मैत्री सूचना केन्द्रका लागि थर्मोमिटर, रक्तचाप मापन यन्त्र, प्राथमिक उपचार बाकस, स्ट्रेचर तथा खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग गरिएको छ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–४ स्थित प्रसिद्ध भैरवनाथ मन्दिरमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन १० थान डस्टबिन उपलब्ध गराइएको छ। साथै, मकवानपुरको राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी–१ मा आरओसहितको खानेपानी संरचना निर्माणका लागि पनि बैंकले आर्थिक सहयोग गरेको छ।

रौतहटको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चपुर–१० लाई डिजिटल शिक्षण प्रणालीलाई प्रोत्साहन गर्न सेतो डिजिटल बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको पनि जनाएको छ।

 

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर