सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाका दुई विपरीत परिचय छन् । उनलाई बुझ्ने र चिन्नेहरु प्रष्ट वक्ता भन्छन् भने नबुझ्नेहरु ‘छुच्चो वक्ता’ पनि भन्छन् । पत्रकारका रुपमा वा तत्कालीन एमालेको जिल्लास्तरीय नेताको भूमिका रहँदा उनलाई चिन्नेको दायरा साँघुरो थियो ।
दुई वर्षअघि प्रतिनिधिसभा सदस्यमा भएपछि सञ्चारमन्त्री भएर प्रवक्ताको जिम्मेवारीमा पुगेपछि बास्कोटा दिनहुँ मिडियामा छाउने क्रममा धेरैलाई उनको प्रष्ट र झर्रो बोली छुच्चो पनि लाग्यो ।
प्रवक्ताको हैसियतमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा उल्टै पत्रकारलाई ‘प्रशिक्षण’ दिने गरेको आरोप खेप्ने गरेका बास्कोटामाथि हरेक प्रश्नको छुच्चो जवाफ दिने गरेको आरोप लाग्नेगर्छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमण तयारी अन्तिम चरणमा पुगेका बेला अनलाइनखबरकर्मी मात्रिका पौडेलले बास्कोटालाई केही ‘छुच्चा’ प्रश्न र सामाजिक सञ्जालहरुमा टिप्पणी भइरहेका विषयबारे सोधेका छन् ।
चीनका राष्ट्रपति आउने निश्चित भएपछि रातारात दशैंसमेत नभनी सडक र सहर सफाचट पार्ने काम भइरहेको छ, आखिर सरकारले चाहँदा त जे पनि हुने रहेछ भन्ने टिप्पणी पनि सुनिरहनुभएको होला नि होइन ?
घरमा पाहुना लाग्न कोही आउँदैछ भने कोठाचोटाको जालो झार्ने, कसिंगर बढार्ने, आँगनका झारपात उखेल्ने, आँगन भान्छा गोबरले लोटाउने, लिपपोत गर्ने त हाम्रो नेपाली संस्कार नै हो नि । यसमा पनि अन्यथा टिप्पणी गर्नुपर्ने केही छैन ।
सडक, सहर, वातावरण सबैलाई सधैंभरि राम्रो हराभरा बनाउने तथा सफासुग्घर राख्ने गरी दिगो विकासको लक्ष्यतर्फ सरकार अग्रसर भइरहेको छ । आजै एकैदिनमा सबै ठाउँमा त्यो नहोला, समय त केही लाग्छ । तर, सरकार यस्ता टिप्पणीहरुको कामले जवाफ दिने गरी अघि बढेको छ ।
चिनियाँ राष्ट्रपति भारत हुँदै नेपाल आउन लागेको कुरालाई कतिपयले चीनले नेपाललाई भारतको आँखाले हेर्ने टिप्पणी पनि गरेका छन् । विगतमा पनि चीनले नेपाललाई भारतसँग मिलेरै काम गर्न भनेको स्मरण गर्दा चीनले भारतपछिको प्राथमिकतामै राखेको भन्न सकिन्छ ?
नेपाल–चीन सम्बन्ध पृथक, मौलिक र विशिष्ठ महत्वको छ । यो विवादरहित रहँदै आएको छ । हामीबीचको सम्बन्ध कूटनीतिक तहमा मात्र होइन, सांस्कृतिक तहमा पनि जीवन्त छ । तपाईले आजमात्रै चीनका महामहिम राष्ट्रपतिले नेपाल चीन सम्बन्धका बारेमा व्यक्त गर्नुभएको विशेष आलेखमा पनि यो कुरा पाउनुभयो होला ।
तपाई बौद्ध धर्मको उदाहरण दिन सक्नुहुन्छ । भृकुटी, अरनिको र महान भिक्षु फा सियान लगायतको प्रसंग लिन सक्नुहुन्छ । लिच्छविकालमा नेपाल भ्रमणमा आएका चिनियाँ यात्रुहरुको यात्रा वृतान्तलाई पनि उदारहणका रुपमा लिन सक्नुहुन्छ । हाम्रो सम्बन्धको आयाम भनेको कसैको नजरबाट हेर्ने वा कसैले बनाइदिने खालको होइन ।
नेपाल र चीनबीचको सम्बन्ध ‘टाइम टेस्टेड’ सम्बन्ध हो । दुवै मुलुकका लागि यसको महत्व सगरमाथाभन्दा अग्लो छ । जहाँसम्म महामहिम राष्ट्रपतिज्यू कुन बाटो भएर नेपाल आउनुभयो भन्ने कुरा छ, त्यो तपशीलको विषय हो ।
२३ वर्षप्छि चीनका राष्ट्रपति पाहुना भएर हाम्रोमा आउनु हाम्रा लागि ज्यादै महत्वपूर्ण कुरा हो । उहाँ अनौपचारिक छलफलका लागि भारत जाने कुरा छ । उहाँको नेपाल भ्रमणचाहिँ राजकीय हुनेछ । मलाई लाग्छ, यति भनेपछि तपाईको प्रश्नको जवाफ पुग्यो होला ।
नेपाल–चीन–भारत आर्थिक असमझदारीका लागि स्पेस खुला राख्दै सीको भ्रमणका क्रममा चीन नेपाल आर्थिक साझेदारीमा सहमति जुट्दैछ भन्ने चर्चा पनि चलेको छ, यसो गर्दा भारत सहमत होला त ?
दुबै छिमेकी मुलुकले अर्थतन्त्र, विज्ञान, प्रविधि र विकासका क्षेत्रमा संसारलाई चकित तुल्याउने गरी सफलता हात पारिरहेका छन् । छिमेकमा भइरहेको यस्तो प्रगतिको लाभांश सानो छिमेकी हुनुका नाताले नेपालको भागमा पनि परोस् भन्ने हाम्रो चाहना र कामना हुने नै भयो ।
पृथ्वीनारायण शाहका पालामा नेपाल दुई ढुंगाबीचको तरुल थियो । पछि गएर नेपाल दुई छिमेकीबीचको ‘बफर जोन’ भयो । अहिले राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त जस्ता विषयले अन्तर्राष्ट्रिय सम्बन्ध निर्दिष्ट गर्ने गरेकाले सारा संसारको ध्यान आर्थिक उन्नति र विकासमा केन्द्रित छ ।
त्यसैले अब नेपालको परिचय चीन र भारतबीचको आर्थिक सम्बन्धलाई जोड्ने पुलका रुपमा विकसित होस् भन्ने हाम्रो चाहना छ । हामी अहिले यही सम्बन्ध दुवैतिर विकास गर्न चाहान्छौं ।
नेपालको विदेश नीति स्पष्ट छ– सबैको भलो चिताउने, सबैसँग मित्रता गर्ने, कसैसँग वैरभाव नगर्ने ।
पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नेपालको हित र विकासका लागि हाम्रा दुवै छिमेकीलाई सहृदयी हात अघि बढाउन आह्वान गर्नुभएको थियो । हाम्रो त्यो पूर्ववत मान्यता अहिले पनि कायमै छ ।
यसबीचमा तिब्बती शरणार्थीलाई धमाधम पक्राउ गरिएको र उनीहरुमाथि निगरानी बढाइएको बारेमा पश्चिमा जगतले चासो दिएको हो ?
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ भन्ने कुरा दोहोर्याइरहनु नपर्ने गरी स्पष्ट छ । अर्काे कुरा, आश्रयदाताको कानुन पालना गर्नु आश्रय पाउनुहरुको दायित्व हो । यसमा योभन्दा बढी केही भन्नु जरुरी छैन ।
भारत र अमेरिकाको चासो त यो भ्रमणमा प्रकट भएकै देखियो नि होइन र ?
महामहिम राष्ट्रपति नेपाल आउनुअघि भारत भ्रमणमा हुनुहुन्छ । भारत र अमेरिकासँगको नेपालको द्वीपक्षीय सम्बन्धलाई अझ सघन बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं र राख्दैनौं पनि । सबै मित्रराष्ट्रसँगको हाम्रो सम्बन्ध बिशिष्ट महत्वको छ ।
हाम्रा उच्चस्तरीय भ्रमणहरु सबैतिर आवश्यकता अनुसार भइरहेका छन् । यसमा सरकारको आग्रह तपाईहरुजस्ता पत्रकार मित्रहरुलाई पनि छ कि हाम्रो सम्बन्ध वा भ्रमणहरुलाई कसैसँग नजोडौं । जोसँग हो, उसैसँग जोडौं । यसमा भारत, अमेरिका वा चीन कसैलाई जोड्नु आवश्यक छैन ।
नेपाल र चीनबीच सुपुर्दगी सन्धीमा हस्ताक्षर हुने भनिएको थियो, फेरि किन रोकियो ?
नेपाली भूमि कुनै पनि छिमेकी वा मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने नेपालको नीति स्पष्ट नै छ । सुपुर्दगी सन्धी लगायतका विषयमा छलफल हुनसक्छ । तर, सहमति भएपछि मात्र निर्णय होला ।
नेपाललाई बेवास्ता गरेर चीनले लिपुलेकमाथिको भारतीय प्रभुसत्ता स्वीकार गर्ने गरी भारतसँग समझदारी गरेको विषय यो पटकको उच्चस्तरीय भ्रमणका बेला उठ्छ कि उठ्दैन ?
द्वीपक्षीय सम्बन्धका विविध विषयबारे छलफल गर्ने भनिएको छ । नेपाल र चीन दुवै देशका विदेश मन्त्रालयबीचको संयन्त्रले यस्ता विषयको छिनोफानो गर्नेछ । सीमा व्यवस्थापनको विषय हाम्रा संयन्त्रमा छलफलका एजेण्डा हुन्छन् ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला गर्ने सम्झौता र समझदारीहरुको सबै तयारी भइसकेको हो ?
पहिलो कुरा त भौतिक तयारी पूरा भएको छ । सुरक्षामा कुनै कमी रहने छैन । राजनीतिक तयारीको पाटो पनि टुंगिएको छ । यो भ्रमणलाई पूर्ण सफल र ऐतिहासिक बनाउनुपर्छ भन्नेमा सिंगो मुलुक एक ठाउँमा छ । प्रधानमन्त्रीले यसबीचमा पूर्वप्रधानमन्त्रीहरु सहित सर्वपक्षीय छलफलबाट राजनीतिक म्याण्डेट पनि लिइसक्नुभएको छ ।
यस भ्रमणका क्रममा दुई देशबीच हुने समझदारी तथा सम्झौताहरुको तयारी पनि पूरा भएको छ । मूलतः यो भ्रमणमा दुई देशबीच मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत सडक, रेलमार्ग, अप्टिकल फाइबर, क्रसबोर्डर ट्रान्समिसन लाइन जस्ता विषयहरुमा महत्वपूर्ण समझदारी हुनेछन् ।
विगतदेखि नै छलफल र चर्चामा रहेका उत्तर–दक्षिण राजमार्ग पनि यसमा पर्छन् । यसका साथै अरनिको राजमार्गको स्तरोन्नति, टोखा छहरे सुरुङमार्ग तथा रसुवागढीसम्म यो सडक जोड्ने कुरा छन् । किमाथांका सडक, कोरोला सडक, हिल्सा सडक लगायतका उत्तर दक्षिण कोरिडोरका विषयलाई हामीले उठाउनेछौं ।
यी विषयमा अत्यन्त सकारात्मक ढंगले छलफल भएका छन् । थप छलफल पनि यस भ्रमणका क्रममा हुनेछन् । यसका साथै उर्जामा चिनियाँ लगानी तथा सीमापार विद्युत प्रसारण लाइनलाई बृहत बनाउने गरी तयारी भइरहेको छ ।