जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • काङ्ग्रेसको चियापान कार्यक्रम सम्पन्न

काङ्ग्रेसको चियापान कार्यक्रम सम्पन्न

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतका नेताले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका नेता एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको थियो ।

शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै सञ्चारकर्मीको जिज्ञासामा समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

चियापान व्यवस्थित भन्दै प्रशंसा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा शुभकामना दिन विभिन्न दलका शीर्ष नेता, मन्त्रीहरु, सांसद, राष्ट्रसेवक कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, मानवाधिकारकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकतालगायत हजारौँको उपस्थिति थियो ।

कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा पार्टीका झण्डा, ब्यानरसहित सजिसजाउ गरिएको थियो । आमन्त्रित अतिथिहरुको लामो लाइन भए पनि शुभकामना आदानप्रदान र चियापानका लागि उचित प्रबन्ध गरिएको थियो । अतिथि एवं नेता कार्यकर्ताको लाइन व्यवस्थापन गर्न प्रवेशका लागि पश्चिम ढोका र बाहिरिनका लागि पूर्वी ढोकाको प्रयोग गरिएको थियो ।

 

त्यस्तै सञ्चारकर्मीका लागि रिर्पोटिङ गर्न तथा तस्बीर र भिडियो खिच्नका लागि छुट्टै स्टेज र शीर्ष नेतालाई शुभकामना मन्तव्य दिनसमेत छुट्टै माइक स्टेजको व्यवस्था गरिएको थियो । कार्यक्रममा आमन्त्रितहरुले यो पटक काङ्ग्रेसले चियापान कार्यक्रम निकै व्यवस्थित गरेको भनी प्रशंसासमेत गरेका थिए । कार्यक्रममा ५० बढी पिन्ट रगत सङ्कलन चियापान कार्यक्रमकै अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पार्टीका ५० भन्दा बढी नेता कार्यकर्ता एवं सर्वसाधारणले स्वतःस्फूर्त रुपमा रक्तदान गरेका थिए ।

काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिको संयोजनमा चियापान समारोह आयोजना गरेको थियो । सिन्धुपाल्चोकमा भने शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले चियापान स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

8950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?