जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • तिर्नुपर्ने कर तिरिएको थिएन, अब तिर भन्दा करको भार बढ्यो भन्न पाइएन 

तिर्नुपर्ने कर तिरिएको थिएन, अब तिर भन्दा करको भार बढ्यो भन्न पाइएन 
ओलीको अडान खतिवडालाई नै सिफारिस गर्नेमा थियो । त्यहाँ कसलाई पठाउने भन्ने निर्णय अझै भइसकेको छैन, तर सरकारले अर्थमन्त्रीमा खतिवडालाई पुनर्नियुक्ति दिइसकेको छ । आफ्नो दुईवर्षे कार्यकालमा अधिक नियमनका कारण बजारमा खासै उत्साह जगाउन नसकेको आरोप खेपिरहेका अर्थमन्त्री खतिवडाले अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् । उनीसँग पार्टीभित्रको विवाद, कोरोना भाइरसपछि अर्थतन्त्रमा पर्ने असर, अधिक नियमन तथा विद्यमान कर प्रणाली र सञ्चार क्षेत्रका अतिरिक्त जिम्मेवारी निर्वाहका विषयमा केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय सभामा पुन: सिफारिस गर्ने कि नगर्ने भन्ने विवादको केन्द्रविन्दुमा तपाईं पर्नुभयो । तपाईंलाई सरकारले बिनासांसद पुन: अर्थमन्त्री पनि बनाइसकेको छ । यो विवादलाई कसरी हेर्नुभएको छ ?

विवादको केन्द्रविन्दु म हैन । पार्टीका एक शीर्ष नेतालाई पनि संसदमा लैजाऔं भन्ने स्वाभाविक अपेक्षाबाट विवाद सुरु भएको हो । त्यो उद्देश्य पूरा गर्नका लागि राष्ट्रिय सभा र सरकारमा लैजानुपर्ने व्यक्ति फरकफरक पर्दा दुई जना भइयो । खाली पद एउटा मात्रै भएकाले पार्टीभित्र छलफल भएको हो । मलाई प्राप्त जानकारीअनुसार, मेरो विषयलाई लिएर विवाद भएको हैन । युवराज खतिवडालाई सरकारबाट फिर्ता ल्याउनुपर्छ, उसले बिगार्‍यो भनेर सुन्नुभएको त छैन होला !

तपाईंले राष्ट्रिय सभामा पुन: सिफारिस नगरे छ महिनाका लागि मात्रै आफू अर्थमन्त्री नबन्ने अडान राख्दै आउनुभएको थियो ।

यो अनुमान मात्रै हो । कानुन त हो, तर छ महिनाको लागि मात्रै अर्थमन्त्री भन्ने स्थिति हैन । काम गर्दै जाँदा छ दिन पनि हुनसक्छ, छ महिना वा छ वर्ष पनि हुनसक्छ । यी सम्भावनाका कुरा हुन् । पार्टी वा प्रधानमन्त्रीले हटाएको दिन हटिहालिन्छ । जति सकिन्छ काम गर्दै जाने हो ।

राष्ट्रिय सभामा तपाईंलाई पुन: लैजाने कुनै प्रतिबद्धता प्राप्त भइसकेको छैन ?

पार्टीले छलफल गर्दै होला । मुख्यत: सम्माननीय राष्ट्रपतिले मनोनीत गर्ने पद हो त्यो । त्यो पदको गरिमा, प्रतिष्ठा र त्यसले अपेक्षा गरेका विषयहरू हेरेर राष्ट्रपतिज्यूले सिफारिस गर्नुहोला । त्यसमा मेरै दावी भन्ने कुरा रहँदैन, तर स्वाभाविक रूपमा म पनि त्यसको लागि योग्यता राख्छु ।

तपाईंलाई बजारले आर्थिक क्षेत्रको प्राविधिक व्यक्ति भनेर बुझ्छ । अब तपाईं पनि राजनीतिक खेलो–फड्को र सत्ता समीकरणको राजनीतिभित्र छिर्नुभयो, हैन ?

प्राविधिक काम गर्दा म प्राविधिक मान्छे हुँ । राजनीतिक रूपमा जानुपर्दा म राजनीतिक व्यक्ति नै हुनुपर्छ । २१ औं शताब्दीका आर्थिक विकासका चुनौतीहरू समाधान गर्नका लागि सरकार तथा पार्टीहरूले विज्ञ मन्त्री नियुक्त गर्ने विश्वव्यापी चलन छ । छिमेकी मुलुकहरूमा हेर्ने हो भने, केही क्षेत्रमा विज्ञता भएका मान्छेहरू नै ल्याइएका हुन्छन् । उनीहरू आफ्नो क्षेत्रमा काम गरिरहँदा प्राविधिक नै हुने हुन् । राजनीतिक नियुक्ति पाएपछि राजनीतिक दृष्टिकोणसहित प्राविधिक विषयहरू हल गर्दै जानुपर्छ । म राजनीतिक चेतना भएको प्राविधिकभन्दा पनि विकास अर्थशास्त्री हुँ ।
त्यसैले राजनीति मेरा लागि अनौठो विषय हैन । राजनीतिलाई कसरी प्रयोग गर्ने, यो महत्त्वपूर्ण कुरा हो । अहिले हामीलाई वित्तीय संघीयता कार्यान्वयन, अन्तर्राष्ट्रिय–क्षेत्रीय आर्थिक सम्बन्धहरू, लगानीका अवस्थाहरू, विज्ञान खास गरी सूचना प्रविधिले ल्याएका चुनौतीहरूलाई बुझ्न प्राविधिक ज्ञान धेरै चाहिन्छ । खास गरी अर्थमन्त्रीको रूपमा झन् बढी ज्ञान चाहिएको छ । त्यो हिसाबले मैले अझै धेरै प्राविधिक ज्ञान सिक्नुपर्छ भन्ने राम्ररी बुझेको छु ।
तर तपाईं अर्थमन्त्री हुनुभएको दुई वर्ष बितिसके पनि अर्थतन्त्रको समग्र अवस्था राम्रो छैन नि ?

मैले केही संरचनात्मक परिवर्तन गर्न खोजेको हुँ । मेरो लडाइँ छिटो प्रतिफल लिइहाल्नुपर्ने मानसिकतासित छ । त्यसमा म लागिरहेको छु । व्यापार घाटा धेरै भयो, चालु खाता र भुक्तानी पनि घाटा भयो भनेपछि आयातलाई व्यवस्थित गर्ने काम गर्‍यौं । त्यो गरिरहँदा कतै भन्सार बढाइयो, कतै परिमाणात्मक बन्देज लगाइयो । कहीं मूल्यांकन पनि बढाइयो । यसले गर्दा आयातमा संकुचन आयो, त्यसको असर राजस्वमा पर्‍यो । त्यो हामी आफैंले अनुमान गरेको ‘रिजल्ट’ हो । यो पहिलेदेखिकै गलत काम थियो । राजस्वको लागि आयात बढाउने, विदेशी मुद्रा सञ्चिति घटाएर राजस्व बढाउने बाटोमा म गइनँ ।

दोस्रो विकृति जसरी पनि खर्च बढाउने भन्ने थियो । नयाँ–नयाँ कार्यक्रम ल्याउने, ‘मोबिलाइजेसन’ पेस्की लिने र दुरुपयोग गर्ने विकृति थियो, जसलाई रोक्नुपर्ने थियो । आयोजना तयार नभई ठेक्कापट्टामा नजाऔं, ठेक्कापट्टामा गए पनि ‘मोबिलाइजेसन’ पेस्की धेरै नदिऔं भनियो । यसको असर पुँजीगत खर्चमा पर्‍यो । हामीकहाँ केही संरचनात्मक समस्याहरू पनि छन् । वातावरणीय प्रभाव मूल्यांकन, वन सम्बन्धी समस्या, जग्गाप्राप्तिका समस्या, स्थानीयका अवरोध हाम्रो विकासका जटिल प्रकृतिका समस्या हुन् । दुई वर्षमा हल गरिसक्नुपर्ने यी विषय पूर्णत: हल गर्न सकिएको छैन ।

तेस्रो विषय लगानीको प्रतिफल हो । सार्वजनिक खर्चको प्रतिफल एकदमै उच्च हुनुपर्छ । हैन भने करदातालाई असन्तुष्टि हुन्छ भन्ने हामीले बुझेका छौं । प्रतिफलसँग जोड्नलाई हामीले मध्यकालीन खर्च संरचना, प्रतिफलका सूचक संघको कार्यक्रममा बनायौं । प्रदेशको चाहिँ बनेको छैन । तर पनि खर्च कम भयो भनेर आधारभूत अनुशासन तोडेर काम गर्नु हुँदैन ।

नेपालको विकास साझेदारको भूमिकाको क्षेत्र अर्को महत्त्वपूर्ण विषय हो । विकास साझेदारहरूलाई सुरुसुरुमा नेपालमा कम्युनिस्ट पार्टीको सरकार कसरी चल्छ भन्ने संशय थियो । ‘पर्ख र हेर’ को स्थितिमा थिए । तर पछि हामीले आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन ल्यायौं । यही सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्‍यो । यही सरकारले धेरै कानुन निर्माण गर्दा विकास साझेदारहरूसँग विश्वास बढेको छ । नियमित रूपमा आउनेभन्दा बढी सहायता प्राप्त हुने भएको छ । त्यो सहायता बढीभन्दा बढी खर्च गर्न सक्नुपर्छ, त्यो हाम्रो चुनौतीको विषय हो ।

निजी क्षेत्र अर्को ठूलो साझेदार हो । निजी क्षेत्रको लगानी प्रवर्द्धन नभई हाम्रो आर्थिक वृद्धि उच्च हुँदैन । निजी क्षेत्रलाई विश्वासमा लिनका लागि नीति–कानुनले मात्रै पुग्दैन, व्यवहारबाट पनि विश्वास दिलाउनुपर्छ । त्यसका लागि निजी क्षेत्रलाई पनि प्रतिस्पर्धी, पारदर्शी र समाजप्रति उत्तरदायी बनाउन अलि पापड बेल्नैपर्ने स्थिति थियो । उहाँहरूसँगै साझेदारीमा अहिले धेरै विधि बसेको छ । ठूला परियोजना तथा उद्योगहरूमा लगानी बढाउन बल्ल माहोल तयार भएको छ । तर यही बेला हाम्रा लागि प्रतिकूलताको अवस्था सृजना भयो । कोरोना भाइरसको प्रकोपपछि लगानी भइरहेका आयोजनादेखि लगानी हुने सम्भावित आयोजनाहरू अगाडि बढाउनमा समस्या परिदियो ।

तपाईं निजी क्षेत्रप्रति नियन्त्रणमुखी हुनुभयो भन्ने आरोप पनि छ । व्यवहारमा निजी क्षेत्रको आत्मविश्वास अझै बढ्न सकेको देखिँदैन त ?

यसलाई नियन्त्रण नभनौं, स्वस्थ नियमन भनौं । स्वस्थ नियमन नभए स्वच्छ व्यवसाय गर्नेहरू हराउँदै जान्छन् । स्वच्छ व्यवसाय गर्न चाहने र गर्नेहरूले भनिरहेका छन्— अब हामीलाई व्यवसाय गर्न सजिलो भयो । ‘हिजो कर छली गर्नेहरूसँग प्रतिस्पर्धा गर्नुपरेको थियो, अब त्यो परेन, अब हामी व्यावसायिक वातावरणमा काम गर्न पाउने भयौं’ भन्नेहरू पनि धेरै हुनुहुन्छ । हिजोका दिनमा खुकुलो नियमनको वातावरणमा व्यवसाय गर्ने सीमित व्यवसायीहरूलाई अप्ठेरो परेको हुनसक्छ । तर त्यसरी कतिन्जेल व्यवसाय गर्ने ?

उहाँहरूको आवाज कहिलेकाहीं प्रेसमा पुगेको होला । तर त्यो आवाज ठूलो छैन । यदि आवाज निकै ठूलो भएको भए, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघबाट आउनुपर्ने हो, तर उहाँहरूले केही भन्नुभएको छैन । म उहाँहरूसँग नियमित सहकार्य र छलफलमा छु ।

अचाक्ली कर भयो भनी निजी क्षेत्रले निरन्तर गर्दै आएको टिप्पणीप्रति के भनाइ छ ?

हिजोका दिनमा गाविस, जिविसले कर लगाउँथे । त्यो एउटा अभ्यास थियो, आज कानुन आयो । कानुन आजको तर अभ्यास हिजोको गर्न खोज्दा विवाद आयो । दोस्रो कुरा, संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीका करमा क्षेत्राधिकार कसको हो भन्ने विवाद छ । त्यसमा स्पष्ट हुनु छ । हामीले कानुन नै संशोधन गर्ने तयारी गरिरहेका छौं ।
अर्कोतर्फ, करको भार बढ्यो भन्ने गरेको सुन्छु । तिर्नुपर्ने कर तिरिएको थिएन, अब तिर भन्दा करको भार बढ्यो भन्न पाइएन । संघीय संरचनापूर्व हिजोको दिनमा कर लगाउने व्यक्ति एउटै हुन्थ्यो, अर्थमन्त्री । अहिले पनि स्थानीय तहमा लगाइएको करको लागि समेत संघीय अर्थमन्त्रीलाई नै दोष दिने गरिएको छ ।

तपाईं अर्थमन्त्री नभई एक नागरिकका रूपमा भन्नुस् न त, कर अचाक्ली हो कि हैन ?

अचाक्ली भन्नु हुँदैन । कहींकतै करबारे नमिलेको भए बेग्लै कुरा हो । अहिलेको संघीयताको राम्रो पाटो भनेको स्थानीय साधनस्रोत परिचालन गर्ने, राजस्व उठाउने, त्यो पारदर्शी रूपमा प्रयोग गरेर स्थानीयले नै सेवा लिने भन्ने हो । करको प्रतिफलस्वरूप जनताले लाभ पाउनुभयो कि भएन ? बहसको विषय यो हुनुपर्छ । करको दर नमिले परिवर्तन गर्नु स्थानीय तहको स्वायत्त अधिकार हो ।
उहाँहरूले मिलाउँदै जानुहोला । कर तिरेको छ, तर प्रतिफल राम्रो नपाए असन्तुष्टि बढ्छ । यसमा सरकारहरूले बढी विचार गर्नुपर्नेछ । सुरुका दुई वर्षमा यस्तो समस्या देखियो पनि । त्यसकारण हामीले आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन त्यसैका लागि ल्याइसकेका छौं । अब संघका लागि कार्यान्वयन भइसकेको छ । प्रदेश र स्थानीय तहले वित्तीय उत्तरदायित्व ऐन नबनाउन्जेल संघकै यो ऐन कार्यान्वयन गर्नुपर्छ । वित्तीय उत्तरदायित्व कानुनको परिपालनाले धेरै कुरा ठीक गर्छ ।

कर सम्बन्धी खास समस्या उहाँहरूले नै सृजना गर्नुभएको हो । कर बुझाउने निकायमा अस्वाभाविक रूपमा कामदार खर्च लेखिएको छ, भुक्तानीमा पनि मनपरी गरिएको छ । बैंकमा जाँदा नाफैनाफा देखिने, कर कार्यालयमा आउँदा चाहिँ घाटैघाटा देखिने स्थिति बनेको त हो नि ! यसलाई रोक्न हामीले कर कार्यालयमा पेस गरेका कागजातका आधारमा ऋण दिने भनेपछि सकस परेको मैले महसुस गरिरहेको छु । तर यो बेठीक छ भनेर कसैले तर्क गर्छ भने म बहस गर्न तयार छु ।
भन्न नसकेको तर अप्ठेरो परेको विषय यो हो । यसमा पनि साना व्यवसायीलाई कर चुक्ता प्रमाणपत्र ल्याउन झन्झट भयो भनी मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट सम्बोधन गरिसकेका छौं । त्यसकारण व्यावहारिक कठिनाइ केही छन् भने सुधार गर्नु हाम्रो जिम्मेवारी हो । हामी हाम्रो दायित्व निर्वाह गर्न तयार छौं । तर सही विवरण पेस गरी कर बुझाउने दायित्व व्यवसायीको हो ।

२० लाख रुपैयाँभन्दा बढी आयमा लाग्ने करको विषयमा बहस गर्न सकिन्छ । यो सरकार प्रगतिशील आयकर प्रणालीको पक्षपाती हो । २० लाख आम्दानी भनेको कति हो भनेर पनि हेरौं न । अझै पनि १६ लाख मानिस गरिबीको रेखामुनि छन् । उनीहरूलाई गरिबीको रेखामुनिबाट माथि उठाई समतामूलक समाज निर्माण गर्न माथिल्लो आय भएका व्यक्तिले अलिकति त्याग गर्नैपर्छ । त्यो त्यागको प्रतिफल के हो भने, तल्लो वर्गको आम्दानी बढ्नेबित्तिकै, क्रयशक्ति बढ्नेबित्तिकै माथिल्लो वर्गको आम्दानीलाई नै सघाउ पुर्‍याउँछ ।

भारतले भर्खरैको बजेटमा त्यहाँको आयकर सीमा र दर परिवर्तन गरिसकेको छ । त्यसै अनुसार अब नेपालले पनि परिवर्तन गर्नुपर्छ भन्ने दबाबमा तपाईं हुनुहुन्छ कि ?

भारतका सबै कर प्रणालीको पुनरवलोकन गरेर हाम्रा कर प्रणालीलाई परिमार्जन गर्छौं । भारतले फेब्रुअरीमा बजेट ल्याएपछि भारतीय बजेटको अर्थतन्त्रमा प्रभाव भनेर हामीले अनिवार्य अध्ययन गर्ने गरेका छौं । यो गर्नैपर्ने बाध्यता पनि हुन्छ । किनभने भारतको भन्सार दर धेरै परिवर्तन भयो भने हाम्रो व्यापारमा विचलन आउँछ । हैन भने सीमा क्षेत्रमा औपचारिक व्यापार हुनै छाड्छ ।

भारत र नेपालबीच करका दरहरू अन्तरसम्बन्धित हुन्छन् । लगानीकर्तासम्बन्धी करका दरहरू परिवर्तन हुँदा हामीले थप आकर्षित गर्न नसके बिग्रन सक्छ । विदेशी लगानीकर्ताको सन्दर्भमा विनिमय प्रणाली कस्तो छ, विनिमय सुविधा कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ । अर्को, ब्याजदरको विषय पनि छ । आ–आफ्नो व्यापार छ, पुँजी पलायन हुँदैन भन्छौं, तर हाम्रो सीमावर्ती क्षेत्रको कारोबारमा सानोतिनो पुँजी वारपार भइरहने हुन्छ । त्यसकारण ब्याजदरलाई फरक राख्नु हुँदैन भन्ने मान्यता छ ।

आउँदो बजेटबाट आयकरको दरमा हेरफेर हुने संकेत हो यो ?

अहिले नै त्यसरी नबुझौं । यो संसदको अधिकारको कुरा हो । बजेट छलफलमा राजस्व बोर्ड गठन भएपछि अघि बढाउँछौं । त्यसमा पनि बोर्डले जे सुझाव दिन्छ, त्यो अघि बढाउने हो । भारतका समग्र आर्थिक नीतिहरूसँग हामीले तालमेल मिलाउनुपर्छ । पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ पूर्वाधार कर थप्नुको कारण पनि यही हो । भारतबाट निश्चित मूल्य तिरेर पेट्रोलियम पदार्थ ल्याउँछौं । २० रुपैयाँ सस्तो हुने भयो । हामी ल्याउने, सस्तो हुने र फेरि उतै तस्करी हुने भएपछि प्रहरी र प्रशासन त्यसैका पछाडि लाग्नुपर्ने भयो । यो देखेर हामीले कर बढाएका हौं ।

तस्करी नियन्त्रण गर्नुको सट्टा कर लगाएर उपभोक्तालाई असर पार्न मिल्छ ?

खुला सिमाना छ, कसरी धान्न सक्नु ? यति धेरै व्यक्ति तथा वस्तुहरूको आवतजावत भइरहन्छ, कसरी रोक्न सक्नु ? सारा प्रहरीलाई त्यहीँ लगाउन सकिँदैन भनेर कर लगाएका हौं ।

तपाईंले पुस्तकमा कर उपभोक्तालाई लगाएको हैन भन्नुभएको छ । तर १० प्रतिशत भन्सार महसुलबाट त उपभोक्तालाई नै भार पर्ने हैन र ?

सबै अप्रत्यक्ष करको भार अन्त्यमा उपभोक्तालाई नै पर्छ । पुस्तक बिक्रेताहरूलाई मेरो अनुरोध सामान बेच्दा ४० प्रतिशतसम्म मुनाफा नलिनुस्, २०/२५ प्रतिशत नाफा लिनुस्, अरू क्रेतालाई सहुलियत दिनुस् भन्ने हो । १५० भारुमा किनेको पुस्तक ४ सयसम्ममा बेचेको भनेर सञ्चारमाध्यममै आइरहेका छन् । यति धेरै नाफा छ भने, भन्सार बढ्दा उपभोक्तालाई छुट धेरै दिई नाफा कम लिए पुस्तक महँगो पर्दैन । मूल्य नबढाइदिए वा नाफा कम खाए हुन्छ ।

अर्को कुरा, माध्यमिक तहसम्मका पुस्तक हामी नि:शुल्क भन्दै छौं । नेपालमा प्रेस छन्, कागज उद्योग पनि छन् । कागज आयात गर्दा १५ प्रतिशत भन्सार लिन्छौं । कागज हाम्रो सम्भावना भएको क्षेत्र हो, आत्मनिर्भर हुन सक्छौं । त्यसलाई प्रवर्द्धन गर्नुपर्ने भएकाले भन्सार घटाउनु युक्तिसंगत मानिएन । १५ प्रतिशत भन्सार तिरेर कागज आयात गरी यहाँ किताब छाप्ने र पाण्डुलिपि लिएर सीमापारि गई छपाएर भन्सार फ्रीमा किताब ल्याउनेबीच विगतमा प्रतिस्पर्धा थियो ।
त्यसकारण मुद्रण उद्योग र कागज उद्योग दुवैलाई बचाउन १० प्रतिशत भन्सार लगाएका हौं । हाम्रो मुद्रण उद्योगलाई संरक्षण गर्ने कि नगर्ने ? हाम्रो कागज उद्योग आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै त्यतातिर जाने कि नजाने ? मेरो मूल प्रश्न यही हो । तर, विद्यार्थीहरूले सहुलियतपूर्ण पाठ्यपुस्तक पाउनुपर्छ । कस्ताकस्ता पाठ्यपुस्तकमा भन्सार महसुल परिवर्तन गर्ने, छलफल गर्न सकिन्छ, नीति संशोधन गर्न सकिन्छ ।

पुस्तकमा करको विरोध गर्नेहरूलाई राजस्व अनुसन्धान र आन्तरिक राजस्व कार्यालयबाट छापा मार्न लगाई प्रतिशोध साध्ने काम गर्नुभयो भनिन्छ नि ?

ज्ञानको व्यापार गर्छौं भन्नेहरूलाई यसो भन्न लाज लाग्नुपर्ने हो । किताबको व्यापार पारदर्शी ढंगले गर्नुस् भन्ने मेरो अनुरोध हो । म अहिले नै धेरै कुरा नखोलूँ । उहाँहरूका व्यवसाय धेरै राम्रो गरी चलेका होलान्, म आशा गर्छु । ‘फेयर’ व्यवसाय गरेको छु भनेर सबैलाई बताउनुपर्ने र प्रमाणित गर्नुपर्ने चुनौती मैले देखेको छु । प्रारम्भिक अनुसन्धानमा उहाँहरूको स्थिति अप्ठेरो देखा परेको छ । त्यसकारण मेरो फेरि पनि अनुरोध छ— पारदर्शी र स्पष्ट व्यापार गरौं ।

यस वर्ष बजेटको समग्र आकार नै घटाउनुभयो । तर आर्थिक वृद्धिदर साढे ८ प्रतिशत नै गर्ने लक्ष्य यथावत् राखी संशोधन गर्नुभएन । यो पूरा होला त ?

आर्थिक वृद्धिको संशोधन तथ्यांक विभागले गर्छ । फागुन महिनासम्मको तथ्यांकको आधारमा चैतभित्र विभागले त्यो गर्ला । हामी यसै पनि जोखिममा थियौं । कोरोना भाइरसका कारण आर्थिक वृद्धिको लक्ष्यप्राप्तिमा थप जोखिम छ । ठ्याक्कै कति प्रतिशत आर्थिक वृद्धि तलमाथि हुन सक्छ भनेर अहिले हामीले अध्ययन गरिरहेका छौं । धानको उत्पादन घटेको छ, यसको असरको मोटामोटी अवस्था थाहा भइसक्यो । उत्पादनतर्फ चीनबाट आयातित कच्चा पदार्थले चल्ने उद्योगको एउटा स्थिति छ । निर्माणमा चिनियाँ ठेकेदारले काम गरिराखेका सरकारी र निजी आयोजनाहरूमा आएको अवरोधलाई पनि हेर्नुपर्ला । पर्यटनमा त सेटब्याक नै भइसक्यो । थोक र खुद्रा व्यापारमा अलिक हेर्नुपर्नेछ । निर्माण सामग्री र कच्चा पदार्थको आयातको पनि विश्लेषण गर्नु छ । वित्तीय क्षेत्रमा चाहिँ मैले समस्या देखेको छैन ।

दातृ निकायहरूले कोरोना भाइरस फैलनुपूर्व नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन नसक्ने बताउँदै आएका थिए । अब झन् नहोला नि ?

अहिले मैले त्यसमा केही भनिनँ । अध्ययन नगरीकन यस्तो विषयमा बोल्नु उपयुक्त हुन्न । दातृ निकायहरूको सधैं आफ्नै दृष्टिकोण रहन्छ । उनीहरूले नेपालको आर्थिक वृद्धिदर सधैं तलै अनुमान गरेका छन् । तर १०–१५ वर्षयताको हेर्नुस्, उनीहरूले भनेभन्दा माथि नै आर्थिक वृद्धि भइरहेको छ ।

तपाईं मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुन्छ भन्नुहुन्छ । परराष्ट्र मन्त्रालयलाई थाहै नदिई अर्थले विभिन्न उपसम्झौता गर्‍यो भन्ने छ नि ?

हाम्रो आर्थिक कार्यविधिले अर्थ मन्त्रालयलाई केही सम्झौता गर्ने अधिकार दिएको छ । सम्बन्धित मन्त्रालय र परराष्ट्रको वार्ता टोली गठन भई त्यसैको आधारमा सम्झौता गरिन्छ । एमसीसी एउटा छाता सम्झौता हो । त्यसको कार्यान्वयनका लागि एमसीए नेपाल गठन भयो । त्यसका लागि खरिद, कर्मचारी भर्ना, वन तथा जग्गाप्राप्ति र विद्युत् सम्बन्धी केही उपसम्झौता गर्नुपर्छ । यी सम्झौता एमसीए र सम्बन्धित मन्त्रालय तथा निकायहरूसँगको समझदारीपछि गरिएका हुन् । दशकौंदेखि सहायता परिचालन सम्बन्धमा गरिआइएका उपक्रम हुन् यी । सहायक सम्झौता भने पनि, ‘एग्रिमेन्ट’ भने पनि आयोजना कार्यान्वयनको लागि सहजीकरण गर्ने गरी गरिने समझदारी/सम्झौताहरू हुन् यी । एमसीसीको हकमा पनि यही मात्रै भएको हो ।

एमसीसीको फ्रेमवर्कबाहिर गएर कुनै सम्झौता तथा समझदारी भएको छैन । गरिएका सम्झौता पनि अर्थ मन्त्रालयले एक्लैले गरेको होइन, टिम बनाएर, छलफल गरेर, वार्ता टोलीको माध्यमबाट भएका हुन् । त्यसमा परराष्ट्रदेखि सम्बन्धित मन्त्रालयसम्मका मान्छे हुन्छन् । यसमा मैले थप बुझाइको आवश्यकता देखेको छु ।

एमसीसी एउटा खास परियोजना कार्यान्वयन गर्न गरिएको सम्झौता हो । यो कुनै एकमुस्ट (ब्ल्यांकेट) सम्झौता होइन । विद्युत् प्रसारण लाइन र केही किलोमिटर सडक बनाउने हो । त्यो सम्झौता पाँच वर्षपछि स्वत: निष्क्रिय हुने समयसीमा छ, आयोजना सम्पन्न भए पनि नभए पनि । हामीले कुनै मुलुकसँग बिप्पा वा द्विपक्षीय सन्धि–सम्झौता गरे जस्तो होइन यो । त्यही रूपमा यसलाई हेर्नु हुँदैन । अर्को कुरा, अनुदान दिने सम्झौता हो यो । अनुदान दिने र लिनेबीचमा व्यापार वा लगानीको जस्तो समान कक्षमा बसेर सम्झौता हुँदैन । कतिपय दाताका सर्तहरूलाई हामीले राष्ट्रहितप्रतिकूल नहुने गरी मान्नु पनि पर्छ । यो व्यावहारिक कुरा हो । यदि उनीहरूले भनेका केही सर्त हाम्रो राष्ट्रहितविपरीत छैनन् भने भैगो नि ! यो सम्झौता संसदमा पेस भएकोले त्यहीँ छलफल भएको भए यति धेरै कुरा आउने थिएनन् । जे हो संसदमै हुन्थ्यो ।

एमसीसीबारे तपाईंले यति धेरै सकारात्मक कुरा गर्नुभयो । तर नेकपाको कार्यदल र केही शीर्ष नेताले यो सम्झौता राष्ट्रहितविपरीत छ भनिरहेका छन् ।

कार्यदलको अन्तिम प्रतिवेदन तयार हुँदै छ । प्रारम्भिक प्रतिवेदन मात्र बुझाइएको मेरो बुझाइ छ । त्यसमा अर्थ मन्त्रालयले थप केही प्रस्ट पार्नुपर्ने थियो, पारिदिएका छौं । हाम्रा दर्जनौं सम्झौतामा यस्ता प्रावधान राखिएका हुन्छन्, ‘आर्बिट्रेसन’ प्रयोजनको लागि । त्यही कुरा त्यहाँ छ । कतिपय विषयमा हामीले पनि अझ स्पष्ट गराउनुपर्नेछ, भलै यी कुरा अब साम्य भए । बुझाइ अझै परिमार्जित हुँदै गएको मैले देखेको छु । रणनीतिक रूपमा केही समस्या छन् भने हामीले दाता राष्ट्रसँग कुरा गरेर थप स्पष्ट हुन पनि सकिन्छ भन्ने मलाई लाग्छ ।

यो सम्झौता र उपसम्झौताहरू राष्ट्रघाती छन् भनिन्छ ।

त्यसलाई चाहिँ मैले अभिव्यक्ति स्वतन्त्रताको अर्थमा मात्रै बुझ्छु । सरकार र मेरो राष्ट्रियता र राष्ट्रप्रतिको आफ्नै जिम्मेवारी छ । योभन्दा अगाडि सम्झौता गर्नेले पनि राष्ट्रघाती सम्झौता गरे भन्नु चाहिँ राम्रो होइन । हाम्रो मुलुकको राष्ट्रियता, सार्वभौमिकताप्रतिको हाम्रो प्रतिबद्धतालाई कसैले नजरअन्दाज गर्नु हुँदैन ।

सञ्चारमन्त्रीको पदभार ग्रहण गर्ने क्रममा तपाईंले प्रेससँग सम्बन्ध सुमधुर बनाउनु छ भन्नुभयो । यो भनेको के हो ?

मुलुकलाई अग्रगमन र विकासका साझा मुद्दामा लैजाने, मौलिक हक र सूचनाको हक कार्यान्वयन गर्ने, जनतालाई सुसूचित गराउने कर्तव्यमा तपाईंहरू पनि हुनुहुन्छ । हामी पनि त्यसमै छौं भने मुद्दा त साझा हुन् । दृष्टिकोण अलिकति फरक होला । सँगै बसेर छलफल गर्‍यो भने दृष्टिकोण एउटै बनाउन सकिन्छ । दृष्टिकोण मिल्दैन भने पनि मिल्ने कुराहरूमा अघि बढ्न सकिन्छ । त्यसमा मैले तीन वटा कुरा भनेँ । एउटा, नीति र कानुन बनाउने कुरामा सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाँदा हाम्रा समझदारीमा तलमाथि परेको रहेछ भने मिल्दै जान्छ । दोस्रो, हाम्रा निर्देशन, नियमन र कानुन नमिलेका भए कार्यान्वयनमा ल्याउँदा सँगै बसेर हल गर्दै लान सकिन्छ । तेस्रो व्यवहारको कुरा हो । व्यवहारमा पनि अब छोइछिटै गरिहाल्नुपर्ने छैन । मुद्दामा बसेरै बहस गर्न सकिन्छ । फरक मत आउन पनि सक्छ । हामी साझा मुद्दामा सधैं अघि बढ्न सक्छौं ।

सूचना प्रविधि विधेयकलाई लिएर सरकारको धेरै आलोचना भएको छ ।

सूचना प्रविधि विधेयक विकास तथा प्रविधि समितिबाट पास भएको र संसदमा पेस हुने क्रममा छ भन्ने मैले बुझेको छु । पास भएर समिति सभापतिले संसदमा पेस गर्ने स्थितिको विधेयकमा सरकारको भूमिका कति रहन्छ ? त्योसँग सम्बन्धित कानुनका मस्यौदाहरू र समितिमा पछिल्लो चरणमा के भइरहेको छ भनी म बुझ्दै छु । समिति सभापति बाहिर हुनुहुन्छ, फर्केपछि म कुरा गर्छु ।

विवादित दुई परियोजना सेक्युरिटी प्रेस र स्याटलाइट ‘जीटुजी’ प्रक्रियाबाट खरिद गर्ने भनिएको थियो । पदभार ग्रहणका क्रममा तपाईंले प्रतिस्पर्धामार्फत मात्रै खरिद गर्ने भन्नुभयो । अब अघि बढ्छ ?

खरिदका विभिन्न विधि छन् । जीटुजी सार्वजनिक खरिद ऐनले दिएकै विधि हो । जीटुजीका खरिदको विधिमा जाँदा मुलुकलाई सबैभन्दा सस्तो, राम्रो र गुणस्तर कसरी प्राप्त हुन्छ भनेर हेर्ने हो । तर जीटुजीको विधिमा, सरकार–सरकारको सम्बन्धमा मान्छे पसिदिनाले अप्ठेरो हुँदो रहेछ ।

व्यावहारिकतामा यो देखियो । उताको सरकार भन्छ— यो मेरो मान्छे होइन । यताको सरकार भन्छ— यसलाई मैले चिनेको छैन । त्यसले जीटुजीमा पनि विवाद आउने सम्भावना देखियो ।

सार्वजनिक खरिद ऐनमा गुणस्तर पनि मापन हुने र मूल्य पनि प्रतिस्पर्धी हुने गरी जान सकिने व्यवस्था छ । यसो भयो भने प्रतिस्पर्धी खरिद पनि व्यवस्थित हुन्छ । सस्तो भनेर हामीले कामै नलाग्ने चीज पनि खरिद गर्नुपर्दैन । त्यसैले सार्वजनिक खरिद ऐनमा प्रस्तावित संशोधनमा मैले राम्रो हुन्छ भन्या छु । अब यो जिम्मेवारी कसरी अगाडि बढ्छ, त्यही अनुरूप नै प्रक्रिया अघि बढ्छ ।

सेक्युरिटी प्रेसमा बैंक नोटको सुविधा नराखौं भनेर तपाईंले भन्नुभएको कुरा बाहिरिएको थियो ।

बैंक नोट जटिल कुरा हो । प्रक्रियागत जटिलता पनि छ । यसै पनि बैंक नोट विश्वव्यापी रूपमै कम हुँदै गएको छ । हाम्रो आफ्नै आवश्यकता पनि क्रमश: घट्दै छ । अब अनलाइन बैंकिङले नै सबै बजार लिन्छ, नगदको कारोबार कम हुँदै जान्छ । त्यसैले हामीले प्रेस राखेपछि त्यसको पूर्ण क्षमता उपयोग गर्न सकिँदैन कि भन्ने कुरा हो ।

अर्को प्राविधिक कुरा, नोट छाप्ने कागजदेखि केमिकलसम्म धेरै आयात गर्नुपर्ने हुनाले हामीलाई बचत थोरै हुन्छ कि भन्ने सन्दर्भमा पहिलो चरणमा यो विषयमा नजाऔं भनिएको हो । आवश्यकता भयो र प्रतिस्पर्धी भयौं, अरू देशका पनि नोट छाप्ने अवस्थामा गयौं भने गरौंला, अहिले त्यो अवस्थामा गई नहालौं भनेका हौं ।

सेक्युरिटी प्रेसजस्तै विवादित किसिमले स्याटलाइट राख्ने परियोजना पनि अघि बढेको छ ।

यसमा म धेरै अपडेट छैन । मलाई गरिएको ब्रिफिङ अनुसार यो परियोजना धेरै अघि बढिसकेको छैन । म थप अपडेट भएपछि मात्रै कुरा गर्न सक्छु ।

अर्थ मन्त्रालयसम्बद्ध दूरसञ्चार क्षेत्रमा अर्बौं राजस्व बक्यौता उठेको छैन । बक्यौता नतिर्नेको लाइसेन्स रद्द गर्दा पनि मन्त्रिपरिषद्ले किस्ताको सुविधा उपलब्ध गराइदियो नि ?

अब उठाउने हो । कतिपयलाई किस्तामा मौका दिइएको छ । तिर्न पनि थालेका छन् । लेखा समितिमा दूरसञ्चारकै बक्यौता असुल्ने सम्बन्धी छलफल पनि भइरहेको छ । उहाँहरूले व्यवसाय गरेर आम्दानी गरेपछि कर तिर्नुपर्छ भन्ने मेरो मान्यता हो । केही राम्रा लक्षण पनि देखिएको छ । प्रतिबद्धता देखाउनुभएको छ ।

दूरसञ्चार सेवाको लाइन्सेन्सलाई लिएर सरकार र एक व्यापारिक घरानाबीच जुवारी नै चल्यो । दुई कम्पनीबीच मात्रै प्रतिस्पर्धा भयो र तेस्रो कम्पनीलाई आउन नदिइएको भन्ने गुनासोलाई कसरी सम्बोधन गर्नर्हुन्छ ?

जुवारी त नभनौं, अलिकति बहस र छलफल भएको मैले सुनेको छु । यसमा ‘ब्रिफिङ’ लिँदै छु । ग्रामीण दूरसञ्चार सेवा र युनिफाइड लाइसेन्सबीचको कुरा हो यो । कानुन अनुसार जे हुन्छ, त्यही गर्ने हो । दबाबमा गर्ने कुरा पनि भएन, कानुन मिचेर गर्ने कुरा पनि भएन । कानुनसम्मत ढंगले के गर्न सकिने रहेछ, हेरेर अघि बढ्छौं । कति वटा टेलिकम कम्पनी भए भने प्रतिस्पर्धा हुन्छ, छलफलकै विषय छ । कतिपय अवस्थामा दर्जनौं भए पनि ‘कार्टेलिङ’ भयो भने केही लाग्दैन । कतिपय अवस्थामा दुईतीन वटामा पनि प्रतिस्पर्धा हुन्छ ।(ekantipur.com)
6185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका