एनआईसी एसिया बैंकले अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने उजुरीपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।
एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी घर खाइदिएको आरोप समेत झेल्दै आएको छ । बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।
बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ ।
बेस रेटमा सामान्य तया २ प्रतिशत प्रिमियम जोडेर अन्य बैंकहरुले ऋण लगानी गर्दै आएका छन् ।