नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्तालाई आग्रह गरेका छन्।
चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियलको अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज म्याचमेकिङ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रुपमा विकसित भइरहेको बताए। उनले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थललगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे।
ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसर रहेको जानकारी पनि अध्यक्ष ढकालले गराए। नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताले उपयोग गर्न सक्ने पनि उनले बताए।
अध्यक्ष ढकालले युनान र नेपालबीचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गरे। उनले यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वाससमेत व्यक्त गरे।
ढकालले चाइना साउथ एसिया एक्स्पोमा नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीलाई निमन्त्रणासमेत गरे।
कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता थियो।