नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले हुम्लाको नाम्खा गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नाम्खा गाउँपालिकाको वडा नं १ मा सम्पन्न भएको हो । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो गाउँपालिकाका अध्यक्ष प्रेम लामा, उपाध्यक्ष तक्दीर लामाको उपस्थितीमा उक्त अन्तरक्रिया सम्पन्न गरेको हो ।
प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीको सभापतित्वमा भएको उक्त कार्यक्रम प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले कार्यक्रम संचालन गरेका थिए ।
Crest
कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले सुरक्षा र जोखिमको हिसाबले पनि बीमा सबैले गर्नुपर्ने बताउँदै भने, हामी हुम्लाका मान्छेहरुले त पहिला पहिला पैसा कोटको गोजीमा राख्ने गथ्र्यौ त्यसपछि बैंकमा राख्ने चलन आयो, अब बैंकबाट पनि आफ्नो जोखिम कभरेजको लागि बीमा गर्नुपर्ने भयो । जोखिम व्यवस्थापन गर्नका लागि बीमा बीमा अपरिहार्य रहेको भन्दै बीमा चेतना सबै गाउँगाउँसम्म पुर्याउनुपर्यो उनले भने, हामी घर बीमाको अभियान नै चलाउछौं ।
स्वास्थ्य बीमा कार्यक्रम यस गाउँपालिकामा अनिवार्य गरेको उनले बताए । यो सामुहिक काम गर्ने शताब्दी हो, एक्लै गरेर हुँदैन् बीमा भनेको पनि आफ्नो जोखिम समाजमा बाड्ने हो । यो सामुहिक प्रणाली हो । त्यसकारण यो जोखिम पनि समुहमा बाँड्ने कुरा रहेछ हामीले बल्ल बुझौं अब हामी प्रदेश सरकार, संघिय सरकारसँग समन्वय गरेर जोखिमहरुको बीमा गछौं । अध्यक्ष लामाले भने, तर यहाँ बीमा कम्पनीको पनि उपस्थिती हुनुपर्यो । अब हामीले बीमा गर्न चाहौं भने हामी कहाँ जाने ? हाम्रो भुगोल ठुलो छ हामी एउटा वार्डबाट अर्को वार्डमा जान नै एक दिन लाग्छ । कसरी गर्ने क्षतिपुर्ति लिन कहाँ जाने त्यसकारण बीमा गर्नका लागि बीमा कम्पनीहरुको उपस्थिती यहाँसम्म गराउन प्राधिरकणले बाटो देखाउन उनले आग्रह गरे ।
स्थानीय निकायबाट के गर्नुपर्छ त्यो गर्नका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । बीमा कम्पनीले हाम्रो पालिकामा एक जना मात्रै कर्मचारी राखेर सम्पर्क कार्यालय राख्यो भने बीमा गर्न सहज हुन्थ्यो । उनले भने, यहाँ पशु बीमा कृषि बीमाका लागि पनि धेरै असहज रहेको छ ।
वडा अध्यक्ष सोनाम लामाले यस्तो विकट ठाउँ हुम्लासम्म आएर बीमा सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम आयोजना गरेकोमा बीमा प्राधिकरणलाई धन्यवाद दिए । बीमा भन्ने बल्ल थाहा पायौं उनले भने, यहाँ बीमाको सेवा प्रवाह गर्नका लागि कर्मचारी सहित सम्पर्क कार्यालयको आवश्यक्ता रहेको छ । बीमा सहर केन्द्रीत मात्रै भयो, बीमा कम्पनीका कार्यालय पनि सहरमै छन् सबै कुरा सहरमा मात्रै भयो तपाईले एक दिन आएर त बीमा बुझाउनु भयो तर हामीले कसरी गर्ने भन्दै गाउँसम्म बीमाको उपस्थिती पुर्याउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, गाउँपालिका सदस्यहरु, सुरक्षा निकाय, स्वास्थ्य चौकीका प्रमुख, बुद्ध आधारभुत विद्यालयका शिक्षक, स्थानीय प्रहरी इन्चार्च लगायत ७० जनाको उपस्थिती रहेको थियो ।
प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख तथा उप निर्देशक पदम प्रसाद सोडारीले बीमा सम्बन्धी संक्षिप्त प्रस्तुतीकरण दिनुका साथै छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमा देखिएका हरेक विसंगतिहरुको सत्यतथ्य जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरेका छन् । प्राधिकरण नेपालमा बीमा क्षेत्रको लागि शुरु अदालत भएको हुदाँ बीमा क्षेत्रमा देखिएको जुनसुकै विकृती तथा विसंगतिलाई नियन्त्रण गर्दै बीमितको हक हित संरक्षणमा प्रतिवद्ध रहेको बताए ।
नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमा पहुँच विस्तारका लागि जनचेतना मुलक कार्यक्रम लिएर देशका सुगमदेखि दुर्गम ठाउँसम्म पुग्ने गरेको छ । हरेक स्थानीय तहमा गएर बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।