नियामक निकाय नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत तीन वटा बीमा पोलिसीको खाका जारी गरेको छ । आगामी पुस १६ गते लागू हुने गरि प्राधिकरणले दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा गर्न मिल्ने गरि पोलिसीको खाका जारी गरिदिएको हो ।
योसँगै अब बीमा कम्पनीहरुले आगामी पुस १६ गते देखि दाल खेती, आँप खेती र ओखर खेतीको बीमा गर्न सक्नेछन् । यसैगरि प्राधिकरणले पंक्षी बीमालेखको खाका पनि संसोधन पनि गरेको छ । अब कम्पनीहरुले पंक्षीको बीमा नयाँ व्यवस्थाअनुसार गर्नुपर्नेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि बीमाको सेवालाई फराकिलो बनाउन थप तीन खेतीको बीमा गर्न मिल्ने व्यवस्था गरेको बताए । यसले दाल, आप र ओखर खेती गर्दै आएका किसान तथा व्यवसायीलाई बीमा गर्न बाटो खुला भएको उनको भनाइ छ ।
नेपालमा २०६९ मा कृषि बीमा निर्देशका जारी गरेर आव २०७०/७१ देखि कृषि बीमाको कारोबार हुँदै आएको छ । यसमा बार्षिक दुइ अर्ब माथिको कारोबार हुँदै आएको छ ।