जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • सन नेपाल आरक्षित आइपीओमा गरेको गडबडी सच्याउन बाध्य, सेबोन र सीआइबीलाई सीइओको पत्र

सन नेपाल आरक्षित आइपीओमा गरेको गडबडी सच्याउन बाध्य, सेबोन र सीआइबीलाई सीइओको पत्र

सन नेपाल लाइफ इन्स्योरेन्स कर्मचारीका लागि आरक्षित आइपीओ बाँडफाँटमा गरेको गल्ती सच्याउन बाध्य भएको छ।कर्मचारीका लागि आरक्षित सेयरमध्ये अधिकांश सीइओ राजकुमार अर्यालका नाममा राखिएको समाचार लगातार प्रकाशन पछि कम्पनी गडबडी सच्याउँदै पुन: बाँडफाँट गर्नुपर्ने अवस्थामा आइपुगेको हो।

नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धानका क्रममा आरक्षित सेयरको ८० प्रतिशत हिस्सा कम्पनीका सीइओ अर्यालको नाममा राखेको खुलेपछि कम्पनीले पुन: बाँडफाँट प्रक्रिया अगाडि बढाएको छ।

सीइओ अर्यालले पुन: बाँडफाँटको प्रक्रिया अगाडि बढाइसकेको पत्र सीआइबीमा पठाएका छन्। ‘सेबोनलाई जानकारी गराएर पुनः बाँडफाँटको प्रक्रिया थालिसकेका छौं भन्ने प्रकृतिको पत्र कम्पनीबाट हामीकहाँ आएको छ,’ सीआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने।

सन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले २०८० जेठ २५ गते कानुन अनुसार कुल आइपीओको ५ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याउने निर्णय गरेको थियो। कुल ९६ लाख कित्ता आइपीओमध्ये कर्मचारीका लागि ४ लाख ८० हजार कित्ता छुट्ट्याइएकामा त्यसको २० प्रतिशत अरु कर्मचारीलाई दिएर ३ लाख ८४ हजार कित्ता सीइओ अर्यालको नाममा राखिएको थियो। त्यसपछि असन्तुष्ट कर्मचारीले आइपीओ बाँडफाँट न्यायसंगत नभएको भन्दै सेबोनमा उजुरी गरेका थिए।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा संगठित संस्थाले कुल आइपीओको ५ प्रतिशतसम्म संस्थामा कार्यरत स्थायी कर्मचारीलाई वितरण गर्नुपर्ने व्यवस्था छ। कम्पनीमा कार्यरत कर्मचारी संख्याका आधारमा २ देखि ५ प्रतिशतसम्म आइपीओ छुट्याउनुपर्ने भनिएपनि कर्मचारीभित्र कसरी वितरण गर्ने भन्ने उल्लेख छैन।

कानुनमा स्पष्ट व्यवस्था नभएको फाइदा उठाउँदै सन नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक र सीइओ अर्यालको मिलेमतोमा आरक्षित सेयरमा गडबडी गरिएको हो।

उजुरीमाथि अनुसन्धान गर्दा कर्मचारीले भने अनुसार नै पाइएपछि सेबोनले फाइल सीआइबीमा पठाएको थियो। सीआइबीको प्रारम्भिक अनुसन्धानमा अधिकांश सेयर सीइओको नाममा राखेको र कर्मचारीका नाममा निकै न्यून संख्यामा देखिएको थियो।

त्यसपछि सीआइबीले कम्पनीका सञ्चालक र सीइओलाई बोलाएको थियो। उनीहरुले बाँडफाँटमा गल्ती भएको स्वीकार गर्दै सच्याउनका लागि समय मागेका थिए।

कम्पनीले कर्मचारीका लागि आरक्षित सेयर पुन: बाँडफाँटको प्रक्रिया अगाडि बढाइएको पत्र सेबोनमा पनि पठाएको छ। सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारीले कम्पनीको पत्र आएको स्वीकार गरे। ‘विभिन्न आधारहरु देखाएर सेयर पुनः बाँडफाँट गर्ने भन्ने पत्र आएको छ। उसले गर्ने बाँडफाँटको प्रकृयाबारे अब सीआइबीले नै अनुसन्धान गर्छ,’ अधिकारीले भने।

कम्पनीका सीइओ अर्यालले कर्मचारीलाई पुन: बाँडफाँटका लागि प्रक्रिया अगाडि बढाएको बताए। ‘सञ्चालक समितिले काम गरिरहेकाे छ। अहिले पुन: बाँडफाँडकाे प्रक्रियामै छ। केही दिनमै समितिले काम गरिसक्छ,’ उनले भने।

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर अहिले दोस्रो बजारमा कारोबार भइरहेको छ। तर कर्मचारीका लागि आरक्षित सेयर भने अझै २ वर्षसम्म दोस्रो बजारमा कारोबार गर्न पाइँदैन। लकइन पिरियड तीन वर्ष हुन्छ।

कम्पनीले अहिले बाँडफाँट प्रक्रिया अगाडि बढाएपनि लकइन अवधि नसकिइ सच्याउन मिल्दैन। अहिले सञ्चालक समितिबाट निर्णय गरे अनुसार कर्मचारीको नाममा कित्ता संख्या तोकेर लकइन अवधि सकिएपछि सीइओको नाममा रहेको सेयर कर्मचारीको नाममा गर्न मिल्ने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए। ‘अहिले सम्झौता गरेर सीइओको नाममा रहेको सेयर लकइन अवधि सकिएपछि अरु कर्मचारीको नाममा गर्न मिल्छ,’ पराजुलीले भने।

सीआइबीले सीइओको नाममा ८० प्रतिशत सेयर किन राखियो भन्नेबारेमा पनि अनुसन्धान गरिरहेको छ।

‘हामीलाई सेयर पुन बाँडफाँड प्रक्रिया थालेको पत्र आएपनि अनुसन्धान क्लोज भएको छैन। यसअघि ८० प्रतिशत किन सीइओको नाममा राखियो भन्ने प्रश्नको जवाफ खोज्नमा हामी केन्द्रित भएका छौं,’ सीआइबीका प्रवक्ता बोगटीले भने।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?