नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमावापतको भुक्तानी पाएका छन् । कोरोना बीमावापतको भुक्तानी पाउन बाँकी रहेका २९ जनाले १-१ लाखका दरले भुक्तानी पाउने भएका हुन ।
बीमक युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल पत्रकार महासंघ मोरङलाई दाबी भुक्तानीवापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो । अदालतको अवहेलनामा कारवाही मुद्दाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी पठाएको हो ।
महासंघका सदस्यको कोरोना बीमावापतको रकम भुक्तानीमा अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङका तर्फ सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र साबिक अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २ सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो ।
बीमा अवधिसम्म संक्रमित भएका मध्ये २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । बीमा अवधिसम्म संक्रमित भएका र सम्पूर्ण कागजात पुगेपनि अन्य २९ जनाले भुक्तानी पाउन बाँकी रहेको थियो ।
२०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालिन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।
अदालतको अवहेलना मुद्दा दर्ता अघि उच्च अदालत विराटनगरले गत वैशाख २५ गते आदेश बमोजिम भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि पत्रकार महासंघ मोरङले अजोड इन्स्योरेन्सविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते मुद्दा दर्ता गरेको थियो । उच्च अदालत विराटनगरले असार ११ गते अदालतको अवहेलना मुद्दामा युनाईटेड अजोडलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।