जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामै सीमित

बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामै सीमित

नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा मात्र एक गोल फर्काइन् ।

बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक-एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको थियो ।

गोल पोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कंदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले समाइन् । अमिसाले त्यसपछि पनि गोल गर्ने अवसर पाएकी थिइन् तर फिनिसिङमा चुकिन् । १९ औं मिनेटमा नेपालकी अमिशा कार्कीले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार बारमा लागेर फर्कंदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो ।

३३ औं मिनेटमा बंगलादेशले बक्स नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो । दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मिकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए । ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन । त्यसको चार मिनेटपछि नै अमिशा कार्कीले नेपालको लागि बराबरी गोल फर्काइन् । त्यसपछि पनि दुवै टोलीले अगता लिने अवसर पाएका थिए । ६१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो ।

६७ औं मिनेटमा नेपाली गोलकिपर एन्जिलाले मोनिका चक्माको प्रहार उत्कृष्ट बचाउ गर्दा बंगलादेशले अग्रता लिने अवसर गुमाएको थियो । तर ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गर्दै बंगलादेशलाई फेरि अग्रता दिलाइन् । उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भयो । नेपाली किपर एन्जिलाले बचाउने प्रयास गरे पनि असफल भइन् । ऋतुले गोल गर्दै दशरथ रंगशालमा उपस्थित १५ हजार भन्दा बढी दर्शकलाई साइलेन्ट बनाइन् । उनको सेलेब्रेसन पनि त्यस्तै शैलीको थियो । त्यसपछि नेपाली दर्शकले लगातार ‘नेपाल नेपाल’ भनेर हुटिङ गरिरहेका थिए । नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहे पनि सफल हुन सकेन । घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन ।यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशसँग दोस्रो पटक पराजित भएको हो । सन् २०२२ मा भएको छैटाैं संस्करणमा नेपाल बंगलादेशसँग दशरथ रंगशालामै ३-१ ले पराजित भएको थियो । साफमा नेपालले सर्वाधिक छैटाैं पटक फाइनल खेलेको छ । बंगलादेश तीन पटक फाइनल खेल्दा दुई पटक उपाधि जितेको छ । बंगलादेश सन् २०१६ को फाइनलमा भारतसँग पराजित भएको थियो। नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०१६ मा नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो । नेपालले साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदानमा लगातार तेस्रो पटक फाइनल खेलेको हो । समग्रमा पछिल्लो डेढ दशकमा नेपाले १२औं पटक फाइनल खेलेको हो । सन् १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली महिला टोलीले सन् १९८९ र १९९९ मा पनि एएफसी च्याम्पियनसिप खेलेको थियो ।

प्रतियोगितामा भुटानले फेयर प्ले अवार्ड पाएको छ भने भुटानकै देकी लाजोम सर्वाधिक गोलकर्ता बनिन् । उनले ८ गोल गरेकी थिइन् । उत्कृष्ट गोलकिपर बंगलादेशकी रुपमा चक्मा बनिन् भने सर्वोत्कृष्ट खेलाडी बंगलादेशकै रितु पोर्ना चक्मा बनिन् । उनले फाइनल खेलमा बिजयी गोल गरेकी थिइन् ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका