
चालु आर्थिक वर्ष चार महिनामा पोहोरको सोही अवधिको तुलनामा अधिकांश वाणिज्य बैंकले मुनाफा बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा भएको सुधारका कारण बैंकहरूको मुनाफा बढेको हो। २० वटा बैंकले चार महिनामा २२ अर्ब २९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। यो मुनाफा रकम पोहोर पहिलो चार महिनाको चुलनामा ७.५६ प्रतिशत बढी हो।
१३ बैंकले नाफा बढाउँदा ६ वटाको भने खुम्चिएको छ। कृषि विकास बैंक भने नोक्सानीमा छ। लक्ष्मी सनराइज बैंकको नाफा सबैभन्दा धेरै १०७.२६ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले २ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ। आर्थिक गतिविधि सुस्त भएपनि केन्द्रीय बैंकले लिएको खुकुलो नीति र रिकभरीका कारण नाफा बढेको बैंकरहरूले बताएका छन्। नयाँ लगानी सुस्त रहेका बेला बैंकहरू असुलीमा केन्द्रित हुँदा नाफा बढेको उनीहरूको भनाइ छ।
साथै, राष्ट्र बैंकले असल ऋणको धितोमा राख्नु पर्ने १.२० प्रतिशत नोक्सानी व्यवस्थापन खर्चलाई घटाएर १.१० प्रतिशतमा झारिदिएका कारण पनि नाफा बढाउन सहयोग पुगेको हो। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे बैंकहरू रिकभरि केन्द्रित हुँदा नाफामा सुधार भएको बताउँछन्। उनका अनुसार पछिल्लो समय बैंकहरू खर्च घटाउन र रिकभरीमा केन्द्रित छन्। ‘पछिल्लो समय घटिरहेको ब्याजदरले खर्च केही कम भएको छ। ब्याज आम्दानी र खर्च दुवै केही घटेको छ,’ उनले भने, ‘ब्याज आम्दानी र खर्च धेरै घट्दा त्यसको प्रभाव देखिएको हो।’
कुन बैंकको नाफा कति ?

सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































