जोडिनुहोस
बुधबार, चैत्र १९, २०८१
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • महाशिवरात्रीमा पशुपति पुग्नेका लागि पार्किङ स्थान तोकियो

महाशिवरात्रीमा पशुपति पुग्नेका लागि पार्किङ स्थान तोकियो

महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन योजना बनाएको हो।

भक्तजनका सवारी साधनहरुको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकरहरु पार्किङ हुने व्यवस्था गरिएको छ।

त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन संचालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यवस्थापन गरिनेछ। त्यसका लागी करिडोर सडक र भित्री सडकहरुमा समेत ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए।

सदाझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ। तर, भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाईभर्सनको नीति अबलम्बन गरि वैकल्पिक मार्गबाट सवारी साधन संचालनको व्यवस्था मिलाइएको छ।

यस्तै, तिनकुनेबाट सिनामंगलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ। तर, आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिनु हुन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ।शिवरात्री पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिनेछ। आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइदै जाने ट्राफिक प्रहरीका प्रबक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए।

255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका