जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • डीडीसीको बालाजु आयोजनाबाट म्याद नाघेका १६ करोडका बटर बरामद

डीडीसीको बालाजु आयोजनाबाट म्याद नाघेका १६ करोडका बटर बरामद

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा १६ करोड रुपैयाँ बराबरका म्याद नाघेका बटर (मख्खन) भेटिएको छ। काठमाडौं महानगरपालिकाको कृषि विभागले गरेको अनुगमनमा संस्थानको दुग्ध वितरण आयोजना बालाजुमा १ लाख ९४ हजार ९ सय ७५ केजी मख्खन म्याद नाघेको फेला परेको हो।

अनुगमन टोली संयोजक महानगरका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले चार लटमा आएका सबै एकै ठाउँमा पाइएको बताए। अनुगमन टोलीका अनुसार २५ केजी तौलको बटर कार्टुनमा राखिएको पाइएको हो। संस्थागत बिक्रीका लागि प्याकेजिङ गरिएका कार्टुनमा उत्पादकको नाम  लेखिएको छ। केही कार्टुनमा मिति लेखिएकै छैन।

मिति भएकोमा हातैले २०१९ डिसेम्बरका विभिन्न तारिखहरु लेखिएका छन्। फ्याट कति प्रतिशत छ भन्ने पनि उल्लेख छैन। २५ केजी तौल र २० सेन्टिग्रेडमा भण्डारण गर्दा ८ महिनासम्म प्रयोग गर्न मिल्ने लेखिएको छ। मख्खनको उपभोग्य म्याद नाघेको २ महिना बितिसकेको पाइएका छन्। गत अगष्टसम्म ती सामाग्रीको उपभोग्य मिति थियो।

विभिन्न कम्पनीसँग म्याद नाघेका बटर किनेर घ्यु बनाएर डीडीसीले बजारमा बेच्ने गरेको पाइएको भण्डारीले बताए। ‘बुधबार डीडीसीका जिएमसहितको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ। यो करिब १६ करोड रुपैयाँ बराबरको मख्खन हो,’ उनले भने।

डीडीसी बालाजुका निमित्त आयोजना प्रमुख गोविन्दराज जोशीले मखनमा ८० प्रतिशत फ्याट हुनुपर्ने बताए। उनका अनुसार भण्डारण गरिएका ती मखनमा ७८ देखि ७९ प्रतिशत फ्याट छ। ‘हेर्दा एक प्रतिशतको कुरा हो तर ठूलो परिमाणमा यसले प्रभाव पनि ठुलै पार्छ,’ उनले भने, ‘हामीले प्रयोग गर्न नसकिने भनेर केन्द्रमा पत्राचार गरेका छौं। त्यसको जवाफ कुर्दैछौं । यही कारण ठूलो परिणाममा सामान फ्रिजमा भेटिएको हो।’

डीडीसीका उत्पादनका  विषयमा उजुरी र गुनासाहरु आएपछि महानगरको टोली अनुगमनका लागि पुगेको थियो। काठमाडौंका बजारमा डीडीसीका उत्पादनको ठूलो हिस्सा रहेकोले गुणस्तरमा प्रश्न उठेपछि अनुगमन गरिएको टोलीले जनाएको छ।

उपभोक्ताको स्वास्थ्यमा असर पार्ने वस्तु यसरी बरामद हुँदा नष्ट तथा अन्य आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरिएको टोलीले जनाएको छ। अनुगमन टोलीले डीडीसी बालाजुलाई घिउ उत्पादन हुने कक्षको पूर्वाधार सुधार र सरसफाइ गर्न पनि निर्देशन दिएको छ।

5235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?