जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सहुलियत घोषणा गर्दै राष्ट्र बैंकः किस्ता तिर्ने म्याद थप

सहुलियत घोषणा गर्दै राष्ट्र बैंकः किस्ता तिर्ने म्याद थप

नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि सहुलियत घोषणा गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले सरकारले घोषणा गरेबमोजिम किस्ता तिर्ने म्याद थप गर्ने, ०.५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउने र सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था ल्याउन लागेको हो । राष्ट्र बैंकले आजभोलि नै परिपत्र गरेर यस्तो व्यवस्था गर्न लागेको स्रोतले बतायो ।
जसअनुसार जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योगी, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका ऋणीले तिर्नुपर्ने साँवा तथा व्याजको भुक्तानी गर्नुपर्ने अवधि थप गरिनेछ । यसैगरी जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योगी, व्यापारिक, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनस्र्थापना गरी सञ्चालन गर्न आधार दरमा बढीमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराइनेछ । यी राहत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत् उपलब्ध गराउनेछ ।

यता सवारी साधन किन्न पनि बैंकबाट मूल्यको ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । हाल सवारीसाधन किन्न ६० प्रतिशतमात्र कर्जा पाइन्छ । जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिहरुमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनको क्षति भइ नयाँ खरिद गर्नुपर्ने भएमा बैंक कर्जामा कर्जा मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) कम्तिमा ८० प्रतिशत हुने व्यवस्था राष्ट्र बैंकले मिलाउने भएको छ ।

यसैगरी कर्मचारीको रोजगारी सुनिश्चित गर्न राष्ट्र बैंकले पेरोल प्रोटेक्सन स्किम ल्याउँदै छ । जसअनुसार बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउने भएमा आधार दरमा बढीमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा दिइनेछ । सो कर्जामा राष्ट्रिय पुनर्निर्माण कोषबाट ६ महिनाको लागि २ प्रतिशत अनुदान उपलब्ध गराउने सरकारले घोषणा गरिसकेको छ ।

1210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?