
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण गरेको छ। असोजभित्रै उक्त सफ्टवेयरमार्फत सहकारी दर्ता प्रक्रिया थालनी गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणालीसम्बन्धी राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने काम प्राधिकरणले गर्ने बताए।
उनका अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालनसम्बन्धमा नियामकीय मापदण्ड जारी भइसकेको छ। “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड २०८२ लागू भई कार्यान्वयन चरणमा रहेको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता अभिलेखीकरण मापदण्ड २०८२ पनि जारी भइसकेको छ,” पौडेलले बताए।
त्यस्तै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभा सञ्चालनसम्बन्धी निर्देशन पनि जारी भई कार्यान्वयन चरणमा पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको सघन अनुगमन सुरु गरिएको छ। सहकारी ऐन २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषय सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणतर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।
उनका अनुसार असोजदेखि ऐनको व्यवस्था अनुसार सहकारी संघसंस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण सुरु गरिनेछ। सहकारी संस्थालाई प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको ६० दिनभित्र आवश्यक विद्युतीय प्रणालीमा प्रविष्ट गराई रुजु गरेपछि प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































