
जेनजी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले पाँच जनालाई उपत्यका छाड्न रोक्न सिफारिस गरेसँगै सुरक्षाकर्मीले उनीहरुमाथि निगरानी बढाएको छ। आइतबार बसेको आयोगको बैठकले छानबिनको दायरामा रहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमासमेत रोक लगाउन सरकारलाई पत्र लेखेको थियो।
आयोगले सिफारिस गरे पनि सरकारले भने यसबारेमा हालसम्म कुनै निर्णय गरेको छैन। सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारेमा दसैं बिदापछि निर्णय हुन सक्ने संकेत गरेका छन्। ‘आइतबार मन्त्रिपरिषद्को बैठकमा राहदानी रोक्का सम्बन्धी कुनै निर्णय भएको छैन,’ मन्त्री खरेलले भने।
आयोगले ओली र लेखकसँगै तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान नदिन भनेको हो। सँगै, उनीहरुलाई काठमाडौं उपत्यका छाड्न नदिन पनि भनिएको छ।
आयोगले बयानका लागि उनीहरुसँग सोधपुछ गर्नुपर्ने जिकिर गर्दै यस्तो सिफारिस गरेको हो। गृह मन्त्रालयले भने प्रहरीलाई उल्लेखित ५ व्यक्तिमाथि निगारनी राख्न निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले बर्बर दमन गरेको थियो। प्रदर्शनकारीमाथि अत्याधुनिक हतियारबाट अन्धाधुन्ध गोली चलाइएको थियो। जसका कारण १९ जनाको त्यही दिन मृत्यु भएको थियो भने ३०० भन्दा बढी गोली लागेर घाइते भएका थिए।
प्रहरी दमनको विरोधमा २४ गते कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी मच्चिएको थियो। सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। दुई दिनको घटनामा ६ दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। कैयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। सोमबार थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
त्यसैले ओलीदेखि संलग्न सबैलाई अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। आयोगले सिफारिस गरे पनि हाल प्रहरीकोमा भने त्यस प्रकारको कुनै सूचना पुगेको छैन।
‘अहिलेसम्म कुनै औपचारीक पत्र आएको छैन। तर, हामीले मौखिक आधारमा निगरानी भने गरेका छौं,’एक उच्च प्रहरी अधिकृले भने।
प्रदर्शनकारीहरु आगो लगाउन बालुवाटार पुगेपछि तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरबाट निस्किएका थिए। तत्कालीन गृहमन्त्री लेखकले भने २३ गते बेलुका नै राजीनामा दिएका थिए। ओली हाल भक्तपुरको गुण्डू क्षेत्रमा बस्दै आएका छन्। तत्कालीन गृहमन्त्री भने मातृ शोकमा छन्।
त्यतिखेरका गृहसचिव रहेका दुवाडीलाई नयाँ सरकारले असोज ५ गते सरुवा गरिसकेको छ। यस्तै, काठमाडौंका तत्कालीन सीडीओ रिजाल पनि सरुवामा परेका छन्।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख थापाले भने अवकाश पाइसकेका छन्। उनले भदौ २९ गते अवकाश पाएका थिए।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































