जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • निर्वाचन आयोगले बनायो चुनावी तालिका, नयाँ दल दर्ता गर्ने म्याद कात्तिक मसान्तसम्म

निर्वाचन आयोगले बनायो चुनावी तालिका, नयाँ दल दर्ता गर्ने म्याद कात्तिक मसान्तसम्म

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि तालिका बनाएको छ। आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचन तालिका स्वीकृत गरिएको बताएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म तोकेर निर्वाचन तालिका बनाएको हो।

‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ,’ आयोगले भनेको छ। फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ। फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीतर्फमतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्नुपर्ने तालिका छ। नयाँ दल दर्ताका लागि कात्तिक अन्तिमसम्मको समय तोकिएको छ। ‘आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ,’ आयोगले भनेको छ।

किन तोकिएन मनोनयनको समय?
निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ता, दाबी विरोध तथा उम्मेदवारको नामावली प्रकाशनको समय राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले हालका लागि नतोकिएको बताएको छ। ‘मनोनयनको मिति राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले नतोकिएको हो। अलि पछि मात्रै तोकिन्छ,’ निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने। मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र त्यसकै वरिपरि उम्मेदवारी दर्ताको समय तोक्ने आयोगको तयारी छ।

585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका