
बंगलादेशी लेखापरीक्षण फर्म हाउलादर एण्ड युनुसले १० वाणिज्य बैंकको कर्जा केन्द्रित लेखापरीक्षण ‘अफ साइट’ रुपमा सुरु गरेको छ । दुई चरणमा हुने उक्त लेखापरीक्षणको पहिलो चरणको काम सुरु भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाउलादारले उक्त कर्जा केन्द्रित लेखापरीक्षणलाई ‘अफ साइट’ र ‘अन साइट’ गरेर दुई चरणमा गर्नेछ । नेपालीकोको चाडबाड समय भएकाले पहिलो चरणमा ‘अफ साइट’ लेखा परीक्षण गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘लेखा परीक्षकका लागि अहिले कुनै कार्यालय नतोकी यथास्थानबाट अफ साइट काम भइ रहेको छ,’ ती अधिकारीले भने,‘त्यसका लागि उनीहरु सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकसँग सम्पर्क गर्दै काम गरिरहेको अवस्था हो ।’ हाउलादरले बैंकहरुको छनोट गर्दा गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्मको तथ्याङकको आधारमा धेरै कर्जा लगानी भएका १० बैंकको छनोट गरेको छ ।
सो तथ्याङकका आधारमा ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, एनआईसी एसिया, एनएमबी र प्रभु बैंकको ‘अफ साइट’ लेखापरीक्षण चलिरहेको ती अधिकारीको भनाइ छ ।
‘हाउलादरले धेरै कर्जा लगानी गरेका १० बैंकको लेखापरीक्षण सुरु गरेको हो,’ ती अधिकारीकाले भने, ‘अन्य १० बैंकको सन्दर्भमा केन्द्रीय बैंकले नियमित निरीक्षण गर्ने हो ।’ हाउलादारले कर्जामा केन्द्रित लेखापरीक्षण गर्दा अफ–साइट र अन–साइटलाई क्वालिटेटिभ र क्वान्टिटेटिभ भनेर गरेको उनको भनाइ छ । ‘अहिले हाउलादरको काम भनेको पोलिसीसँग सम्बन्धित डकुमेन्ट तथा सूचना संकलन गर्ने र विश्लेषण गर्ने भएको छ,’ उनले थपे । लेखापरीक्षणको काम अनसाइट अर्थात् स्थलगत गर्दा राष्ट्र बैंकका प्रतिनिधि सहित सबै बैंकमा एकै पटक काम हुने ती अधिकारीको भनाइ छ ।
हाउलादारले पनि नमुना छनोटको माध्यमबाट नै लेखापरीक्षण गर्ने उनले बताए । त्यसमा नमुना छनोट क्याटगोरी भने धेरै रहेको उनको भनाइ छ । कर्जा केन्द्रित लेखापरीक्षण हाउलादारले प्रोडक्ट, सेक्युरिटी, सेक्टर, टप टेन बिग बरोअर्स, धेरै खराब कर्जा, धेरै गैर बैंकिङ सम्पत्तिलाई वर्गीकरण गरेर नमुना छनोट गर्ने ती अधिकारीको भनाइ छ ।
‘यो लेखापरीक्षणमा बैंकको जोखिम हुन सक्ने क्षेत्रहरु सबैमा हेरिन्छ,’ ती अधिकारीले भने,‘कर्जामा केन्द्रित हुने भएपनि लोनसँग सम्बन्धित बोर्ड डिसिजन र पोलिसी पनि हेर्छ ।’ सरकारले विस्तारित कर्जा लिने क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई वित्तीय क्षेत्रको कर्जाको गुणस्तर हेर्न १० वाणिज्य बैंकको कर्जा केन्द्रित लेखा परीक्षण गर्ने घोषण गरेको थियो ।
सो अनुसार नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक छनोट प्रक्रिया सुरु गर्यो । पहिलो प्रक्रियामा लेखापरीक्षक छनोट हुन नसकेपछि केन्द्रीय बैंकले पुन दोस्रो पटक सुरु गर्यो । दोस्रो पटकको प्रक्रियामा बंलादेशको हाउलादर एण्ड युनुस लेखापरीक्षण फर्म छनोट भएको छ । उक्त फर्मले नेपाल १० ठूला बैंकको लेखापरीक्षणको काम सुरु गरेको छ । त्यसका लागि हाउलादरले करिब साढे ४ करोड शुल्क लिनेछ ।
राष्ट्र बैंक स्रोतका अनुसार स्थालगत लेखापरीक्षण सबै बैंकमा एकै पटक गर्न २२ जना जनशक्ति आवश्यक पर्छ । त्यसका साथै केन्द्रीय बैंकका २ जना कर्मचारी पनि थप समावेश हुनेछन् । हरेक बैंकमा फर्मका २ जना र केन्द्रीय बैंकका २ गरी ४ जनाले काम गर्नेछन् । हाउलादरलाई लेखा परीक्षण सम्पन्न गर्न ३ महिना समय अवधि दिइएको छ । केन्द्रीय बैंकको सुपरीवेक्षण विभागसँगको सहकार्यमा हुने लेखा परीक्षण दुई महिना अफसाइट अर्थात गैर स्थलगत हुने छ । त्यसपछिको समयमा स्थलगत लेखापरीक्षणको काम हुनेछ । यसरी गरिएको लेखापरीक्षण प्रतिवेदन भने सार्वजनिक हुने छैन । रिपोर्ट सार्वजनिक नहुने सर्तमा मात्रै बैंकहरुले उक्त लेखापरीक्षणका लागि सहमति जनाएको थिए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































