जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • प्रभु बैंकको नाम दुरुपयोग गरी ठगी धन्दा, नक्कली सर्वेक्षणमार्फत नागरिकका गोप्य जानकारी चोर्ने दाउ

प्रभु बैंकको नाम दुरुपयोग गरी ठगी धन्दा, नक्कली सर्वेक्षणमार्फत नागरिकका गोप्य जानकारी चोर्ने दाउ

पछिल्ला दिनहरूमा प्रभु बैंक लिमिटेडको नाममा नक्कली सर्वेक्षण, पुरस्कार योजना र लोयल्टी कार्यक्रमको आडमा डिजिटल ठगी धन्दा मौलाएको पाइएको छ । बैंकले यस विषयमा अत्यन्त जरुरी सूचना जारी गर्दै आफ्ना ग्राहक तथा आम नागरिकलाई यस्ता छलकपटपूर्ण क्रियाकलापबाट सावधान रहन आग्रह गरेको हो ।

हाल कुनै पनि सामाजिक सञ्जालमार्फत पुरस्कार, उपहार, बोनस वा सर्वेक्षणसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नगरेको बैंकले जनाएको छ । केही व्यक्तिहरूले प्रभु बैंकको नाममा नक्कली वेबसाइट र लिंकमार्फत सर्वेक्षणमा सहभागी हुन आग्रह गर्दै आकर्षक नगद पुरस्कार पाइने लोभ देखाएर नागरिकलाई भ्रममा पार्ने कार्य गरिरहेको पाइएको छ।

यस्ता ठगहरूले ‘सर्भे भर्नुहोस्, दश हजार रुपैयाँ बोनस पाउनुहोस्’ भन्ने जस्ता झुटा सन्देश पठाएर ग्राहकलाई लिंकमा क्लिक गर्न र व्यक्तिगत विवरण माग्ने गरेका छन्। यसरी प्राप्त हुने विवरणको प्रयोग गरी ग्राहकको बैंक खाताबाट रकम चोरी हुने वा अनधिकृत पहुँचमार्फत आर्थिक क्षति पुर्‍याइने घटना बढिरहेका छन्।

बैंकले सबैलाई सावधान रहनुका साथै यस्ता नक्कली सन्देश र लिंकहरूमा विश्वास नगर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘कुनै पनि नचिनेको लिंक नखोल्नुहोस्, कुनै पनि व्यक्तिगत विवरण, पासवर्ड, ओटीपी वा पिन कसैसँग पनि साझा नगर्नुहोस्।’

प्रभु बैंकले डिजिटल ठगीबाट बच्नका लागि सतर्कता अपनाउन र कुनै पनि शंका लागेमा तुरुन्तै बैंकका आधिकारिक नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ। बैंकले ग्राहकहरूको गोपनीयता र सुरक्षालाई अत्यन्त महत्वपूर्ण मानेको उल्लेख गर्दै, ठगहरूले प्रयोग गर्ने चलाखीपूर्ण तरिकाबाट सावधान रहनुपर्नेमा जोड दिएको छ।

यदि कसैलाई प्रभु बैंकको नाममा कुनै अफर, पुरस्कार, वा सर्वेक्षणमा सहभागी हुन आग्रह गरिएको सन्देश प्राप्त भएमा त्यस्तो जानकारीमा विश्वास नगर्न र तुरुन्तै बैंकमा सूचना दिन भनिएको छ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?