
नबिल बैंकको नाफा घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमाससम्म बैंकको खुद नाफा १४.५६ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँमा सीमित भएको हो। पोहोर ३ महिनामा बैंकले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो। कर्जा नोक्सानी बढेर ब्याज आम्दानी घट्दा नाफामा गिरावट आएको छ।
बैंकले ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा करिब ८० करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ। गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी र ७५ करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको थियो।
बैंकले नोक्सानी व्यवस्थाका लागि ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ। पोहोर यही अवधिमा बैंकले ४५ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो। ब्याजदर घट्दा बैंकको ब्याज आम्दानी घटेर ९ अर्ब ८० करोडमा सीमित भएको छ। गत आवको असोज मसान्तसम्म बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा १ अर्ब रुपैयाँले घटेको हो।
बढेको प्रोभिजनिङले बैंकको नाफा प्रभावित भएको हो। नाफा घट्दा बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ। गत आवको असोज मसान्तमा ३९ रुपैयाँ ८३ पैसा रहेको ईपीएस २५ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। बैंकले ५ खर्ब ५६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। ३ महिनामा बैंकले निक्षेप ३२ अर्बले बढाउँदा ९ अर्ब रुपैयाँ बराबरको कर्जा थप गरेको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात गत आवको सोही अवधिको तुलनामा सामान्य बढेर ४.३१ प्रतिशत कायम भएको छ। गत आवको असोज मसान्तसम्म यस्तो अनुपात ४.२४ प्रतिशत थियो। बैंकको प्राथमिक पुँजी कोष अनुपात घटेर ९.५५ प्रतिशत हुँदा र पुँजीकोष अनुपात सामान्य बढेर १२.६७ प्रतिशत कायम भएको छ।
असोजसम्म बैंकको औसत बेसरेट ५.५८ प्रतिशत छ। यसैगरी, नेटवर्थ प्रति सेयर २४० रुपैयाँ ७२ पैसा, रिटर्न अन इक्विटी १०.७० प्रतिशत र पीई रेसियो १९.९७ छ। बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































