जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एकै पटक ११ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेका छन्। १८ जना कार्यकारी निर्देशकमध्ये ११ जनालाई उनले चलाएका हुन्। बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई मानव संशाधन विभाग पुर्‍याइएको छ भने उनको ठाउँमा मुद्रा व्यवस्थापन विभागका रामु पौडेललाई ल्याइएको छ। विदेशी विनिमयका रेवतीप्रसाद नेपाललाई सम्पति तथा सेवा व्यवस्था विभाग लगिएको छ। त्यहाँका रोशनकुमार सिग्देललाई बैंकिङ विभाग पुर्‍याइएको छ।

डा. सत्येन्द्र तिमिल्सिनालाई वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा लगिएको छ। डा. डिल्लीराम पोख्रेललाई बैंकिङबाट मौद्रिक व्यवस्थापनमा लगिएको छ। गभर्नरले गरेको सरुवा कर्मचारी माझ विवादमा परेको छ। पूर्व अर्थमन्त्री विष्णु पौडेलको प्रभाव र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारीको खेलोफड्कोमा तालमेल नै नमिलाइ सरुवा गरिएको कर्मचारीहरु बताउँछन्। छोटो समयमै कार्यकारी निर्देशकहरु चलाइएको छ। दसैंअघि मानव संशाधन विभागका कार्यकारी निर्देशक भएका बिश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभाग पुर्‍याइएको छ। तिमिल्सिनादेखि पण्डितसम्मको सरुवा छोटो अवधिमा गरिएको छ।

केही दिनअघि कार्यकारी निर्देशकमा बढुवा भएका राजन विक्रम थापालाई एकीकृत नेकपा माओवादी समर्थक भनेर शरण अधिकारीको प्रभावमा गभर्नर कार्यालयबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको कर्मचारीको आरोप छ। गुरु पौडेललाई हटाउनमा पूर्व अर्थमन्त्री पौडेलको जोडबल रहेको बताइन्छ। बाँकी कार्यकारी निर्देशकहरु शरण अधिकारीको तजबिजीमा चलाइएको कर्मचारीहरुको आरोप छ।

‘शरणजी खासमा संचालक समितिको सचिवमा मात्र सीमित हुनु पर्नेमा उहाँले अहिले सहायक गभर्नरकै रुपमा काम गरिरहनु भएको छ’ एक कार्यकारी निर्देशकले भने, ‘निर्देशक तहका कर्मचारीले गभर्नर भेट्न पनि उहाँको अनुमति चाहिने वातावरणको सृजना गराउनु भएको छ। अधिकारीले आफूलाई नजानिँदो पाराले नियन्त्रण गरिरहेको भन्ने कुरा गभर्नरले महशुस नगरेको हुन सक्छ।’

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका