जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अबको १ महिनामा ‘किसान क्रेडिट कार्ड’ वितरण, कार्डमा चिप्स होइन क्यूआर कोड हुने

अबको १ महिनामा ‘किसान क्रेडिट कार्ड’ वितरण, कार्डमा चिप्स होइन क्यूआर कोड हुने

चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षको काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
कार्ड छाप्न प्रक्रिया अघि बढाएको र कार्यविधि तयार भएपछि किसान क्रेडिट कार्ड वितरण प्रक्रिया अघि बढ्ने कृषि विकास बैंकका प्रवक्ता एवम् कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए । ‘यदि कोभिडको महामारी नबढेको भए अहिलेसम्म कार्ड वितरण प्रक्रिया अघि बढी सक्ने थियो,’ उनले भने ‘हाम्रो तयारी अबको १ महिनामा किसानलाई सो कार्ड वितरण गर्ने हो ।’

कोभिडले अबका दिनमा लिने प्रकोपलाई हेरेर कार्ड वितरण प्रक्रिया अघि बढाउने बैंकले तयारी गरेको छ । ‘यति उति भन्दा पनि बजार माग र आवश्यकता अनुसार हामी यो कार्डको व्यवस्थापन गर्छौ,’ उनले थपे ‘कार्यविधि तयार गरेर किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्ने योजना कृषि विकास बैंकले बनाएको छ ।’ स्थिति अनुकूल हुनु पर्यो, यदि कोभिडको प्रकोप नबढेको भए हामीले यति खेरा किसान क्रेडिट कार्ड वितरण गरिसक्ने थियौं ।’

किसानलाई वितरण गर्न लागिएको क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा भएपनि क्यूआर कोडमा आधारित हुने हुनेछ । एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछ । साथै बैंकले नगद भुक्तानी प्रदायक गाउँ स्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएका बेला नगद लिनसक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुने प्रवक्ता पौडेलको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत व्यवसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाउनेका लागि सो कार्डको व्यवस्था गर्ने उद्देश्य सहित कृषि विकास बैकलाई सो कार्य सुम्पिएको हो । सो व्यवस्था बमोजिम कृषि विकास बैंकले सो कार्य अघि बढाएको हो ।

कार्यविधिमार्फत क्रेडिट कार्ड कसरी सञ्चालन गर्ने, कस्ता ग्राहकलाई दिने, ग्राहक पहिचान कसरी गर्ने, खाता भएकालाई मात्रै दिने कि नभएकालाई पनि दिनेलगायतका विषयमा आवश्यक व्यवस्था गरिएपछि सुरु गर्न लागिएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले पनि आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गर्ने भनिएको छ । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैैंकले कृषि विकास बैंकलाई सुम्पेको छ ।

किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैंकसम्म पुग्नुपर्दैन ।  हरेक गाउँमा पैसा होल्ड गर्ने तथा पैसा खेलाउने मान्छेलाई बैंकले भुक्तानी प्रदायक तोक्ने भएका कारण बैंकभन्दा टाढा हुँदा पनि कृषकले आफ्नो कृषि कार्य सहजै अगाडि बढाउने सक्नेछन् ।

किसान क्रेडिट कार्डले किसानलाई उत्पादन, पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृंखला निर्माण हुने बैंकले जनाएको छ । बैंकले निर्माण गरिरहेको सफ्टवेयरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, आफ्नो कृषि उत्पादनको अवस्था, कृषि औजार उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना समेत प्राप्त गर्नसक्ने  छनु्  । कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता भएको होे ।

कृषि विकास बैंकबाट कृषि कर्जा लिएपछि ऋणको प्रकृतिअनुसार केही रकम किसानले पहिल्यै लैजान्छन् । त्यसपछि कृषि कर्मको अर्को चरणका लागि चाहिने पैसा लिन किसान चेक बोकेर पुनः बैंकको शाखासम्म पुग्नुपर्ने झन्झटबाट क्रेडिट कार्ड बोक्ने किसान मुक्त हुने छन् ।

क्रेडिट कार्डवाहेक कृषकलाई पैसा चाहिएको सूचना बैंकले पाएपछि आफूले तोकेको भुक्तानी प्रयोगकर्तालाई एकपटकका लागि प्रयोग हुने युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ र सोही आधारमा भुक्तानी प्रदायकले किसानलाई रकम उपलब्ध गराउने छ ।

निजी बैंक सरकारीभन्दा अगाडि 

किसानको समृद्धि तथा व्यवसायिक किसानलाई प्राथमिकतामा रोखेर पछिल्लो समय निजी बैंकहरूले पनि किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याउन थालेका छन् । केही समय अगाडि सिभिल बैंकले ‘किसान समृद्धि कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ भने मेगा बैंकले व्यवसायिक किसानलाई प्राथमिकतामा राखेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।

सरकारको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सम्पूर्ण कृषकको समृद्धिका लागि बैंकहरूले क्रेडिट कार्ड सेवाको सुरुवात गरेका हुन् । कुनै पनि कृषि पेशामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रूपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाका थप रकम पनि सहजै झिक्न सकिने व्यवस्था सहित बैंकहरूले सो सेवा शुरु गरेका हुन्

4460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?