लगानी गर्ने पैसा नभएपछि विदेशबाट पैसा ल्याएर ऋण लगानी गर्न तम्सेका बैंकहरु त्यसरी लिने ऋणको व्याजदर नेपालमा भन्दा महँगो पर्ने भएपछि नलिने मनस्थितिमा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार करिब आधा दर्जन वाणिज्य बैंकले विदेशबाट रकम लिएर नेपालमा लगानी गर्ने योजना बनाएका थिए । तर, त्यसरी विदेशबाट ऋण ल्याउँदा नेपालमा भन्दा महँगो व्याज तिर्नुपर्ने भएकाले पछाडि सर्नु परेको बैंकर बताउँछन् ।
विदेशबाट पैसा ल्याएर नेपालमा लगानी गर्न त्यति सजिलो नभएको एक बैंकरले बताए । उनी संलग्न बैंकले विदेशबाट पैसा ल्याउन पहल गरेको पनि उनले सुनाए । तर, ‘सफल हुन सकिएन,’ उनले विदेशबाट ऋण ल्याउँदाको फेहरिस्त सुनाउँदै भने– ‘विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा सबैभन्दा पहिले त नेपालको रेटिङ गर्दा रहेछन् । त्यसपछि बैंक तथा वित्तीय संस्था कुन अवस्थामा रहेको छ, त्यसको मूल्यांकन हुँदो रहेछ । त्यसपछि पनि विदेशी संस्थाले भनेको क्षेत्रमा मात्र लगानी गर्नु पर्दो रहेछ । यतिधेरै प्रक्रिया पुर्याउँदा पनि स्वदेशमा लिने व्याजको तुलनामा सस्तो पर्ने भए त ठिकै हुन्थ्यो । चर्को ऋणको व्याजदरमा लिएर के गर्ने भन्ने समस्या हुँदो रहेछ, त्यसैले त्यसरी ऋण लिनुभन्दा नलिनु नै बेस हुन्छ ।’ त्यसैले अहिले विदेशबाट ऋण लिन पछाडि हटेको उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउनका लागि शुरुमा नीतिगत रुपमा बाटो खोली दिएपछि एक दर्जन बैंकले विदेशबाट ऋण लिन तयार भएका थिए । तर, विदेशबाट ऋण लिन सजिलो नभएको भन्दै एकपछि अर्को गर्दै बैंक पछाडि हट्दै गए । त्यसरी पछाडि हट्नुको कारण लामो प्रक्रिया र उच्च व्याज नै थियो । विदेशबाट ऋण लिने भनेको ‘एक आकासको फल आँखा तरी मर’ भन्ने उखानजस्तै भएको एक बैंकरले बताए ।
राष्ट्र बैंकले यस्तो नीति ल्याएको करिब एक वर्ष भएको छ । यो एक वर्षको अवधिमा हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये एनएमबी बैंकले मात्र विदेशबाट पैसा लिन सफल भएको छ । एनएमबी बाहेक अन्य बैंकले त्यस्तो रकम हालसम्म भित्र्याउन सकेका छैनन् ।
एनएमबी बैंकले पटक–पटक गरी करिब ५ अर्ब रुपैयाँ भित्र्याइसकेको छ । एनएमबी बैंकले लिएको ऋणको व्याजदर करिब ९ प्रतिशतको हाराहारीमा रहेको प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए । त्यसरी लिएको ऋण पनि तोकिएको क्षेत्रमा मात्र लगानी गर्न बैंकलाई बाध्य पारिएको छ । ‘घेराबन्दीमा पार्ने काम हुँदो रहेछ’, एक बैंकरले भने ।
विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरे पनि पछिल्लोपटक पछाडि सरेका छन् । भारतीय बैंकको साझेदारीमा खुलेका एसबीआई र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिन सकिरहेका छैनन् । नेपालभन्दा भारतमै पैसा महँगो भएकाले नेपाल ल्याउन नसकिने उनीहरुले बताएका छन् । नेपालमा बढिमा साढे नौं प्रतिशतमा पैसा पाइरहेका बेला भारतमा १० प्रतिशतमाथि ब्याज रहेकाले नेपाल ल्यान नसकिएको उनीहरुले बताउँदै आएका छन् । नेपालमा भन्दा थप महँगो पर्ने भएकाले ल्याउन नसकिएको एसबीआई र एभरेष्ट बैंकको भनाइ छ ।
आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोलेको थियो । राष्ट्र बैंकले शुरुमा प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाइने व्यवस्था गरेको थियो । त्यसपछि बढाएर ५० प्रतिशत पुर्याएको थियो । अहिले फेरि बढाएर शतप्रतिशत पुर्याएको छ । तर, राष्ट्र बैंकले भनेजस्तो विदेशबाट बैंकहरुले ऋण लिन सकेका छैनन् ।