जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सीइओ नै नराखी संस्था चलाउँदै बीमा कम्पनी

सीइओ नै नराखी संस्था चलाउँदै बीमा कम्पनी

कुनै कम्पनी स्थापना गर्दा लगानीकर्ताको प्रमुख चासो कम्पनीको प्रमुख कर्यकारी अधिकृत (सीइओ) को कस्तो व्यक्तिलाई बनाउने भन्नेमा हुन्छ । किनभने कुनैपनि कम्पनीको व्यवसायीक सफलता र व्यवसायीक जोखिमको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कम्पनीको सीइओको हुन्छ ।

निजी कम्पनीमा सीइओको भूमिका कम हुन्छ । तर, पब्लिक कम्पनीका लागि भने अत्याधिक महत्वपूर्ण व्यक्ति हो । किनभने पब्लिक कम्पनीको नियामक सशक्त हुन्छ । नियामकले बनाएका नीति निर्देशनको हुबहू पालना कम्पनीहरुले गर्नुपर्छ ।

सीइओ नै आफ्नो कम्पनीभित्र त्यस्ता नीति नियमहरुको कार्यान्वयन गराने मूख्य व्यक्ति हो ।

बीमा कम्पनीहरु पनि पब्लिक कम्पनी हुन् । बीमा क्षेत्रको नियामक बीमा समिति हो ।

तर, कतिपय बीमा कम्पनीहरुले स्थापनाकालदेखि नै सीइओ नियुक्ति नगरी संस्था चलाइरहेका छन् । नियामक निकाय बीमा समिति आँखामा पट्टी बाँधेर बसेझैं बसेको छ ।

कम्पनी ऐन अनुसार ‘कुनै पनि पब्लिक कम्पनीहरुले कायम मुकायम वा निमित्त कार्यकारी प्रमुख ३ महिनाभन्दा बढी राख्न पाउँदैनन् । र, प्रमुख कार्यकारी अधिकृतको पद ३ महिनाभन्दा बढी रिक्त राख्न पनि पाउँदैनन् ।’

कम्पनी ऐनमा भएको सोही व्यवस्था अनुसार बीमा समितिले पनि ३ महिनाभन्दा बढी कामुको भरमा बीमा कम्पनी चलाउन नपाइने र सीइओ पद खाली राख्न नपाउने निर्देशन जारी गरिसकेको छ ।

बीमा समितिमा ०७३ पुस १८ गते चिरञ्जीबी चापागाईं अध्यक्ष भएर आएपछि दर्जन नयाँ बीमा कम्पनीले लाइसेन्स पाए । नयाँ लाइसेन्स पाएका कतिपय कम्पनीले अहिलेसम्म पनि सीइओ राखेका छैनन् । कामू सीइओ राखेर कम्पनी चलाइरहेका छन् ।

सीइओ नियुक्त नगर्ने बीमा कम्पनीहरुमा ज्योति लाइफ इन्सोरेन्स, सानिमा जनरल इन्सोरेन्स, जनरल इन्सोरेन्स कम्पनी र युनाइटेड इन्सोरेन्स रहेका छन् । युनाइटेडदेखि बाहेक सबै बीमा कम्पनी पछिल्लो पटक बीमा समितिबाट सञ्चालनको अनुमति लिएर बीमा बजारमा स्थापित भएका कम्पनीहरु हुन् ।

युनाइटेड इन्सोरेन्सले विगत डेढ वर्षयता कम्पनीमा सीइओ नियुक्त नगरेको हो । कम्पनीका तत्कालीन सीइओ शेखर बरालले पदबाट राजिनामा दिएपछि कम्पनीमा उक्त पद खाली रहेको छ । हाल युनाइटेडको सम्पूर्ण कार्यकारीको जिम्मेवारी डेपुटी सीईओ रमेशकुमार भट्टराईले सम्हाल्दै आएका छन् ।

समिति आफंैले निमार्ण गरेको नीति नियम प्रभावकारीरुपमा कार्यान्वयन गर्न नसक्दा बीमा कम्पनीहरुले सीइओ नियुक्ति नगरी लामो समय कम्पनी चलाइरहेका हुन् ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभावका कारण बीमा कम्पनीहरुले सीइओ नियुक्ति गर्न नसकिरहेको नियामक बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं बताउँछन् ।

‘हामीले सीइओ नियुक्त गर्न नसकेका कम्पनीहरुलाई सीइओ खोजेर नियुक्त गर्नुस् भनिरहेका छौँ,’ चापागाईंले भने, ‘हामीले कम्पनीहरुलाई सीइओ नियुक्तिका लागि विभिन्न पटक समय थप गर्यौं । अब चाहीँ धेरै समय दिँदैनौं ।’

कहिलेसम्म त ? चापागाईं भन्छन्– ‘हामीले यहिले नै भनेर ठ्याक्कै समय चाहीँ तोकेका छैनौं । जतिसक्दो छिट्टो गर्नुपर्यो ।’

दक्ष जनशक्ति नपाइएपछि बीमा समितिले सीइओ योग्यतामा केही लचकता अपनाइसकेको उनले जानकारी दिए ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि अध्यक्ष चापागाईंको तर्कसँग सहमत छन् । भन्छन्- ‘दक्ष जनशक्तिको अभावका कारण बीमा कम्पनीहरुले सीइओ नियुक्ति गर्न नसकेका हुन् ।’

कम्पनीको सम्पुर्ण जिम्मेवारी तल्लो तहका कर्मचारीले सम्हालिदिँदा सञ्चालकहरुले कम्पनीमा सीइओ नियुक्ति गर्नु आवश्यक नठानेको सीइओको जिम्मेवारी सम्हालेर बसेका एक बीमा कम्पनीमा डेपुटी सीइओ बताउँछन् ।

‘सबै काम डेपुटी सीइओले नै गरिरहेकै छ भनेर सञ्चालकहरुलाइ सीइओ राख्नुपर्छ भन्ने महशुस नै हुन छाडिसक्यो,’ उनले भने, ‘सञ्चालकलाई बीमा समितिले ताकेता गरेर सीइओ नियुक्त गर भन्नु सक्नुपर्छ ।’

जनरल इन्सोरेन्समा कम्पनीमा स्थापनाकालदेखि नै महाप्रबन्ध एसके तमोटले कम्पनीको सम्पुर्ण कार्यकारी जिम्मेवारी बहन गर्दै आएका छन् । स्थापनाकालबाटै सानिमा जनरल इन्सोरेन्समा सीईओ नियुक्त भएका छैनन् । सानिमामा कम्पनीका उपमहा प्रवन्धक शुबोध लाल श्रेष्ठले कम्पनीका कार्यकारीको जिम्मेबारी सम्हालि रहेका छन् ।

यस्तै, ज्योति लाईफ इन्सोरेन्समा डेपुटी सीइओ प्रकाश खत्रीले कम्पनीको सम्पुर्ण जिम्मेवारी बहन गरिरहेका छन् भने सानिमा लाइफले पनि महाप्रबन्धक राखेर कम्पनी चलाइरहेको छ ।

8140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?