कोरोेना भाइरसले विश्व आक्रान्त बनिरहँदा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । पछिल्लो समय नेपालमा पनि संक्रमण फैलिँदै गएको छ । संक्रमण फैलिन थालेसँगै मुलुक लकडाउन गरिएको छ ।
संघसंस्था, व्यापार, उद्योगलगायतका सम्पूर्ण क्षेत्र ठप्प छ । बैंक तथा वित्तीय संस्थाहरूमा पनि भीडभाड नगर्न सरकारले निर्देशन जारी गरिसकेको छ । यस्तो अवस्थामा वित्तीय कारोबारका बैकल्पिक माध्यम प्रयोग गर्न र सकेसम्म एटीएम कार्डको प्रयोग गर्न राष्ट्र बैंकले लाभग्राहीहरूलाई आग्रह पनि गर्दै आएको छ ।
तर, स्पर्शबाटै सर्ने कोरोना भाइरसबाट एटीएम प्रयोगकर्ता कति सुरक्षित रहलान् भन्ने विषयमा भने बैंकहरू अझै मौन छन् । धुलिखेल अस्पतालका डिन डा. राजेन्द्र कोजू कोरोना भाइरसको संक्रमण एटीएम कार्ड र एटीएम मेसिनमा झन् बढी हुने बताउँछन् । कोजूले भाइरस ठोस वस्तुहरूबाट पनि सर्ने हुँदा स्वाइप गर्दा नोट हातमा राख्दा र एटीएम मेसिनको ढोका खोल्दा पनि सर्ने सम्भावना पनि प्रबल हुने हुँदा एटीएम सुरक्षित नभएको बताउँछन् ।
यता, राष्ट्र बैंकले बैंकमा भीडभाड नगर्न एटीएमको प्रयोग गर्न भन्दै आएको छ तर १ घण्टाको समयमा शहरी क्षेत्रमा एउटा मेसिनमा २० देखि २५ जनासम्मले पैसा निकाल्दै आएका छन् । भाइरसको संक्रमण भएको खण्डमा १ घण्टामा २० देखि २५ जनालाई नै संक्रमण हुने देखिन्छ । यसतर्फ न त बैंकहरूको ध्यान जान सकेको छ, न केन्द्रीय बैंक राष्ट्र बैंकको नै ।
अहिले बैंकहरूमा जाँदा सुरक्षाका सम्पूर्ण उपायहरू अपनाइएको सहजै देखिन्छ । जस्तो कि भीडभाड निकै कम भइसकेको छ । बैंक पस्नुभन्दा पहिल्यै स्यानिटाइजर हातमा थमाइदिन्छन् र बैंकका कर्मचारीहरू पनि पञ्जा, मास्क र स्यानिटाइजर लगाएर काम गरिरहेका देख्न सकिन्छ । तर, बैंकमा संक्रमण हुन सक्ने भन्दै एटीएम कार्ड प्रयोग गर्न भन्ने राष्ट्र बैंक र अन्य बैंकहरूले भने एटीम मेसिनको छेवैमा स्यानिटाइजरसमेत राख्न सकेका छैनन् ।
लाभग्राहीले आफ्नो बैंक प्रयोग गरिरहँदा लाभग्राहीको स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने बैंकहरू अहिले शाखाहरूमा सीमित भएका छन् । एटीएम मेसिनहरूमा सुरक्षाका उपाय नअपनाइएको प्रति राष्ट्र बैंकलाई सोध्दा एटीममा भने सर्वसाधारण आफैँले सुरक्षित हुनुपर्ने बताउँदै आएको छ ।
यता, बैंकर एसोसिएसनका पूर्वअध्यक्ष उपेन्द्र पौडेल भने एटीएमबाट संक्रमण झन् भयावह रूपमा फैलिन सक्ने बताउँछन् । एनएमबी बैंकका पूर्वसीईओसमेत रहिसकेका पौडेल एटीएम मेसिनमा स्यानिटाइजर नराखेको बताउँछन् ।
उनी भन्छन्, ‘बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना लाभग्राहीहरूलाई सही सूचना संप्रेषण गरेर नोटको कारोबार गर्दा र एटीएम मेसिन प्रयोग गर्दा स्यानिटाइजर, पञ्जा, मास्क जस्ता कुराहरू अत्यावश्यक गर्न निर्देशन नै जारी गर्नुपर्ने देखिन्छ । तर, यसप्रति अन्य बैंक र राष्ट्र बैंक दुवै बेखबर छन् ।’
उनका अनुसार अहिले मुलुकभर ८० प्रतिशतको पहुँच बैंकमा पुगेको छ भने त्यसको ४० प्रतिशतजतिले एटीएम कार्डबाट पैसाको कारोबार गर्दै आएका छन् । करिब १ करोड जनताको हातमा विभिन्न बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड छ ।
यसरी १ करोड जनता एटीएम कार्ड प्रयोग गरेवापत कोरोनाको उच्च जोखिममा छन् । यसतर्फ न त सरकारको ध्यान जान सकेको छ, न राष्ट्र बैंकको नै, न त सर्वसाधारणले ने ध्यान दिएका छन् ।
तसर्थ एटीएम प्रयोग गर्नु पनि अरू जस्तै घातक हुन सक्छ । त्यसैले एटीएम स्वाइप गर्नुपूर्व र गरिसकेपश्चात् स्यानिटाइजर लगाउन र हातमा पञ्जा लगाउन अनिवार्य छ । नियामक निकायले बैंकहरूलाई मात्र होइन, एटीम प्रयोगकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै एटीएम मेसिनमा पनि सुरक्षाको उपाय अपनाउन प्रयोगकर्ताको माग छ ।