जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं

अन्तरवार्ता

बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं

प्रद्युमन पोखरेल, प्रथम उपाध्यक्ष डेभलपमेन्ट बैंकर्स एशोसिय नेपाल एवं सीइओ मुक्तिनाथ विकास बैंक लिमिटेड

बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं

प्रद्युमन पोखरेल चिनाई राख्नुपर्ने नाम होइन । नेपालको बैकिङ्ग इतिहासमा २६ वर्ष विताउका पोखरेलले एक दर्जन बैंक र विकास बैंकमा उच्च पदमा रहि कार्य सम्पादन गरिसकेका छन् । नेपालको सबैभन्दा ठूलो विकास बैंक मुक्तिनाथ विकास बैंकका सीइओ हुन प्रद्युमन पोखरेल । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका प्रथम उपाध्यक्ष समेत रहेका पोखरेल सालिन स्वभाव र सोच विचार गरेर निर्णय गर्ने बैंकरहरुको सूचि भित्र पर्दछन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि नेपालका विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । यस्तो अवस्थामा मुक्तिनाथ विकास बैंकले खोलेर सेवा दिएको छ ।

मुक्तिनाथ विकास बैंक मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ र नेपालका विकास बैंकहरुले कसरी सेवा दिइरहेका छन् भनेर जानकारी लिन डेभलपमेन्ट बैंकर्स एशोसियन नेपालका प्रथम उपाध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युमन पोखरेलसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा मुक्तिनाथ विकास बैंकले कस्तो सेवा दिइरहेको अवस्था छ ?
अहिले आफै उच्च सचेत भएर सेवा दिनु पर्ने बेला छ । हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ । जीवनलाई जोखिममा राखेर जनतालाई सेवा दिईरहेका छौं ।

हामीले शुक्रबार र आईतबार सबै शाखा खोली सेवा दिएको अवस्था छ । अरु विकास बैंकले पनि ग्रामीण र शहरी सबै ठाउँमा यो दुखको घडीमा जीवनलाई जोखिममा राखी सेवा दिएका छौं र बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ्य अवस्थाबारे चाहि के सोच्नु भएके छ, सीइओ साब ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।

त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ ।
उनीहरुलाई ल्याउने लैजाने व्यवस्था गरेका छौं ।

० मुक्तिनाथ विकास बैंक नेपालकै सबैभन्दा धेरै ग्राहक शाखा सञ्जाल र नाफा कमाउने बैंक हो । यस बैंक्ले स्थानीय तहमा एटिएम कार्ड नलिएका ग्राहकलाई कसरी सेवा दिएको छ ?
स्थानीय प्रशासनको सहकार्यमा हामीले प्रायः सबै ठाउँका शाखा निश्चित सेवा दिएका छौं । अर्को कुरा के छ भने अहिलेको परिस्थितिमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा धेरै कारोबार भएको छ ।

० कर्मचारी जो बैंक शाखा खोली सेवा दिएका छन् । उनीहरुको लागि राहतका प्याकेज ल्याउनु भएको छ त ?
यो विशम र अप्ठ्यारो बेला सबैले आ–आफ्नो ठाउँमा सेवा दिनुपर्दछ । यसको मुल्याङ्कन हामीले गर्ने हो । केही गर्ने हो कि भन्ने छलफल मै छौं नि ।

० राज्यले ग्राहकका लागि ल्याएको सहुलियतका प्याकेजलाई कसरी लिनु भएको छ ?
सकारात्मक छन् । तर, अपूग होला जस्तो देखिन्छन् । अर्को कुरा के छ भने राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ग्राहकहरुलाई चैत्रसम्म कर्जाको साँवा ब्याज हाल्न छुट छ । कुनै शुल्क हामी लिदैनौ । बैंक भनेको ग्राहकमुखी सेवा हो । ग्राहकलाई नगद चाहिए हामी तुरुन्तै दिन तयार छौं ।

मैले अगाडी नै भनिसके चैत्र मसान्त भरी छुट छ । हामीले फोन गरेका छैनौ । राष्ट्रिय समस्या आएको छ । कोरोना भाइरसले देश लकडाउनमा छ यो हामीले बुझेका छौं । हामी पनि यही समाजका मान्छे हौ । हामी सहयोग पक्कै गर्दछौं ।

० बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको रिजल्र्ट आउने बेला हो । चैत्र मसान्त यसलाई चाही अब कसरी हेर्ने त ?
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । जनता तपाई, हामी परिवार बच्नुप¥यो । देश बचाउनु प¥यो । अरु कुरा त पछि भईहाल्छ नि । जीवन रहे सबै रहने हो भूपेन्द्रजी ।
देशको अवस्था राम्रो भएपछि सबै राम्रो हुन्छ । ढिलो चाडो नाफा कमाउला । हिजो भूकम्प पछि पनि हामीले प्रगति गरेकै हो । त्यसकारण यो अदृश्य शक्ति कोरोना भाईरसबाट पहिला बच्ने काम गर्नुप¥यो नि ।

० यस्तो महामारीको अवस्था छ । फेरी बैंक विकास बैंक र वित्तिय संस्थाले कसरी फड्को मार्ने देख्नु भएको छ ?
भूपेन्द्रजी एउटा धुव्र सत्य के हो भने जति कालो रात आयो उति नै उज्यालो दिन हुन्छ । त्यसकारण आत्तिनु हुँदैन नयाँ गर्भनर साब आउनु भएको छ । फेरि नयाँ र उत्तम नीति आउने छ । सबै कुरा अध्ययन र अनुसन्धान गरेर सबै उपाय निश्कने निश्चित छ । डराउनु पर्ने, तर्सिनु पर्ने सकिहाल्यो भनेर चिच्याउनु पर्ने र आशु खसाई हाल्नु पर्ने छैन । अहिले संसार नै समस्यामा छ । यो बुझ्नु जरुरी छ ।

० राज्यले कोरोनाबाट लड्न स्थापना गरेको राज्यकोषमा कस्तो सहयोग छ । तपाईको बैंकको सीइओ साब ?
कुरा चलिरहेको छ । हाम्रो बैंकको बैंठक बसेको छैन । हामी एउटा निर्णयमा पुग्ने नै छौं । यो बेला सबै नेपाली एक भएर लाग्नु पर्दछ । सरकारलाई हाम्रो साथ सधै रहने नै छ ।

आउँदो आर्थिक वर्षको सामाजिक उत्तरदायित्व कोषबाट निकासा गरेर भए पनि केही राहत दिने पक्षमा हामी छौं ।
अर्को कुरा के महत्वपूर्ण छ भने पैसामा भन्दा अहिले अरु कुराको आवश्यकता बढेको छ । त्यो काम मुक्तिनाथ विकास बैंकले गरेको छ । हामीले स्थानीय तहमा राहत बाँडेका छौं । सल्यानको विकट ठाउँदेखि काठमाडौंका विभिन्न ठाउँमा ।

० अहिले यो विशम परिस्थितिमा विकास बैंकहरुले डिपोजिटका व्याजदर घटाएको अवस्था पनि छ नि कारण के होला ?
हो हामीले घटाएका छौं । निक्षेपमा कस्तीमा ५.७ बढिमा ६ बचत खातामा र मुद्दतीमा ९ प्रतिशत व्यक्तिगत तर्फ र संस्थागत तर्फ ८ प्रतिशत दिने निर्णय संघले गरेको छ । अर्को कुरा निक्षेपमा व्याजदर घटेपछि कर्जामा पनि घट्ने निश्चित छ । हाम्रो बैंकले त साना कर्जामा ब्याज यसभन्दा अगाडी नै घटाएको इतिहास छ । हामी ग्राहकमुखी बैंक हौं नि ।

० सीइओ साब, तपाई डाटा बेबमा कुरा गर्ने बैंकर मानिनुहुन्छ मलाई भनिदिनुहोस् । कोरोनाले देश फर्किएका लाखौं नेपालीले अब के गर्ने हो त ?
अत्यन्तै सान्दर्भिक र मार्मिक प्रश्न सोध्नु भयो । यसमा धेरै कुरा छन् । राज्यले तीन खम्बे नीति ल्याएर अब कृषिका उत्पादनलाई अगाडी ल्याउनु जरुरी छ । जुन जनशक्ति नेपाल आएका छन् । उसलाई कृषि उत्पादनमा लगाउनु पर्दछ । तपाईलाई थाहा छ । नेपालमा महिनामा साढे २ अर्बको चामल, १ अर्बको तरकारी, १ अर्ब बराबरकै फलफूल विदेशबाट आउने गरेको छ ।

यो सत्यलाई बुझि अबका दिनमा फाइनान्स, बैंक, विकास बैंक र गाउँगाउँका सहकारी संस्थाबाट कर्जा लिएर कृयिा उत्पादन बढाउन राज्य लाग्नु प¥यो । हामी राज्यलाई साथ दिन तयार छौं । यो जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु प¥यो नि ।

० लकडाउनले नेपालमा कति फाइदा कति बेफाइदा पु¥यायो त सीइओ साब ?
फाइदा यस कारणले भयो कि समयमै राज्यले लकडाउन ग¥यो । रोग फैलन पाएन । रोगथामका काम भए । आज चीन पनि लकडाउनबाट बच्न सक्यो । अर्को कुरा ताईवान र सिंगापुरमा यसपाली पूर्व तयारीले क्षती कम भयो ।

उनीहरु बचेका छन् । उनीहरुले रोगसंग लड्ने सबैचीज पहिलानै व्यवस्था गरे । जसले उनीहरु खुसी छन् । स्वास्थ्य छन् । अस्पताल पुग्न परेको छैन । रोग आउने डरले सीमामा तत्कालै बन्द गरे । देश राईट समयमा लकडाउन नगरेको भए हामीले पनि ठूलोक्षती व्यहोर्नु पर्ने थियो नि । अहिले धेरैको टेस्ट भएको छ । आत्ति हाल्नु पर्ने देखिदैन नि । राम्रो पक्ष भनेको के छ भने हामी बिन्दास परिवारसंगै छौं । स्वास्थ्य छौं । घर भित्रै छौं । स्वास्थ्य के हो भन्ने बुझेका छौं ।

० कोरोना भाईरसको पाठ सिक्दै अब चाही के तयारी गर्नु पर्ला ?
हेर्नुहोस सबै कुरा भोगेका हामी नेपालीले लकडाउन भोगिरहेका छौं । यसबाट धेरैकुरा सिक्नु पर्दछ । एउटा उदाहरण म भन्दछु, जापान र जर्मनी दोस्रो विश्वयुद्ध पछि नाजुक अवस्थामा पुगेको थियो तर, २ दर्शक भित्र कति प्रगति भयो । यसबाट हामीले पनि सिक्नु प¥यो नि । रोगसंग लड्ने उपकरण, रोगथामका उपायको खोजी अब राज्यले गर्नु पर्ला । साना ठूला अस्पताल बनाउदै डाक्टर नर्स उत्पादन गर्नुपर्ला । यसका लागि हामी तयार छौं । बैंकहरुले कर्जा लगानी गर्दै र राज्यलाई साथ दिनपछि पदैनौ ।

० राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । कस्तो आशा राख्नु भएको छ त ?
हामीले चाहेका राम्रा मान्छे गर्भनर पाएका छौं । उहाँ ३० वर्ष राष्ट्र बैंक भित्रै बसेर बैंकिङ्ग र वित्तिय प्रणालीलाई बुझेको मान्छे हुनुहुन्छ । अर्को कुरा नीति निर्माण गर्ने ठाउँ नेपाल लगानी बोर्डमा समेत काम गरि सकेको मान्छेबाट बैकिङ्ग क्षेत्रले ठूलो आशा गरेको छ ।
गर्भनर साब दक्ष, योग्य र क्षमतावान मान्छे हो । गर्भनरमा हुनुपर्ने गुण उहाँमा छ । यो विशम परिस्थितिमा आउनु भएको छ । हामी सहयोग गर्न तयार छौं । बैकिङ्ग प्रणाली खुशी छ । हामी आशावादी पक्कै पनि छौं ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । आफू बचौं, परिवार र जनता र देश बचाऔं । केही सिकौं । योग गरौं । किताब पढौ । नयाँ नयाँ सृजना गरौं देश र जनता आफू र परिवारलाई बचाउने जिम्मा तपाई हामी कै काँघमा आएकाले सचेत र सहज बनौ ।

15350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका