आर्थिक विशेष
मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले फोर्स मर्जरमा पहिलो प्राथमिकता क्रस होल्डिङ भएका बैंकलाई एकै ठाँउमा मर्जर गराउनुपर्छ
लक्ष्मीप्रपन्न निरौला, अध्यक्ष, कृषि विकास बैंक
नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । नीतिले मुख्य गरी सबै क्षेत्रमा नीतिगत सहजीकरणमा जोड दिनुपर्छ । कोभिडले जुन–जुन क्षेत्रमा असर पारेको छ, त्यसमा नीतिगत सहजीकरण गर्नुपर्छ ।
जलविद्युत क्षेत्रमा लगानी बढाएर विद्युतको उत्पादन बढाउन आवश्यक भएको समयमा राष्ट्र बैंकले हाइड्रोमा लगानी नीतिगत सहजीकरण धेरै गरेको थियो । नीतिगत सहजीकरणको कारणले धेरै निजी क्षेत्र हाइड्रोमा उपस्थिति भयो । सोही कारण विद्युतमा हामी आत्मनिर्भर हुने अवस्थामा पुगिसकेका छौँ ।
यसप्रकारको नीतिगत सहजीकरण कृषि क्षेत्रमा गर्नुपर्छ । अब कृषि क्षेत्रका व्यवसायीक खेती, पशुपालन, उच्चमूल्यका नगदेबाली, पहाडी र हिमाली क्षेत्रमा फलफुल खेती, निर्यातजन्य चिया र कफीखेतिका लागि पनि हाइड्रोमा जस्तै नीतिगत सहजीकरण गर्न सकियो भने व्यवसायीक खेती कृषिमा शुरु हुन्छ ।
यसले गर्दा आफू आत्मनिर्भर भएर विषेशगरी मिडिलिष्टमा पहाडी र हिमाली भेगमा फलेका तराकारी निर्यात गर्न सकिन्छ । अहिलेको मौद्रिक नीतिले कोभिड–१९ को असरलाई होस् वा कृषि क्षेत्रका लागि होस नीतिगत सहजीकरण गर्नुपर्छ । जुन नीतिगत सहजीकरणको कारणले हाइड्रोमा हामी आत्मनिर्भर तिर बढिरहेका छौँ, त्यस्तै नीतिगत सहजीकरण यो मौद्रिक नीतिले ल्याउनु पर्छ ।
कृषि क्षेत्र बाहेक राष्ट्र बैंकले कोरोनाले अति प्रभाव पारेको पर्यटन क्षेत्रमा साँवा ब्याजलाई डिफर गर्ने सुविधा चाहिन्छ । अहिले पाकेको साँवा ब्याजलाई पछि व्यवसायको विस्तारको आधारमा तिर्न सक्ने गरी कर्जाको पुनर्संरचना गर्नुपर्छ ।
कोरोनाले प्रभावित भएका जुनसुकै व्यवसायीक क्षेत्रमा पुनः व्यवसाय सञ्चालन भएपछि नगद प्रभावको आधारमा साँवा र ब्याज तिर्ने व्यवस्था गर्नुपर्छ । यस्तो व्यवस्थाले व्यापारीक समूदाय पनि बाच्न सक्छ र बैंकिङ समूदाय पनि बाच्न सक्छ ।
अर्कोतर्फ राष्ट्र बैंकले अहिलेको असहज परिस्थिति पहिलेको जस्तै सामान्य नभएसम्म बैंकिङ क्षेत्रको नगद लाभांश र बोनस वितरण स्थगित गर्नुपर्छ । यसले गर्दा बैंकबाट क्यासआउट हुँदैन । र, बैंक स्वस्थ्य, बलियो हुन्छ । जुन अहिले बेलायत, भारतलगायत धेरै देशहरुले गरिरहेका छन् । त्यसका लागि ऐन नै संशोधन गर्नुपर्छ भने ऐन पनि संशोधन गर्न जरुरी छ ।
कोरोनाको कारणले अर्थतन्त्र नै खस्किएर बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी धेरै घटिरहेको छ भने अर्कोतर्फ बैंकहरुको सञ्चालन खर्च दिनप्रतिदिन बढ्दो छ । विषेशगरी आइटीको खर्च, शाखा सञ्चालन, एटीएम, सञ्चालन खर्च, उच्च व्यवस्थापनका कर्मचारीमा लगायतमा बैंकहरुको धेरै खर्च हुन्छ ।
यसलाई घटाउन मर्जरको आवश्यकता छ । तर साना तहका कर्मचारीको भने जागिर कटौती गर्नु हुँदैन । उनीहरुलाई यथोचित मौका दिने वातावरण हुने गरी मर्जर गराउनु पर्छ ।
अहिलेको आवश्यकता भनेको ‘क’ वर्गको बैंकहरुको मर्जर हो । अन्य वर्गका बैंक तथा वित्त कम्पनीहरु त समयानुसार मर्जर तथा प्राप्तिमा समावेश भएर संख्या घटिसकेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकहरुको मर्जर नीति ल्याउनुपर्छ । जसमा निश्चित समय तोकेर स्वेच्छिक मर्जरको प्रावधान गर्ने । त्यसपछि फोर्स मर्जर नीतिको व्यवस्था गर्नुपर्छ ।
मर्जरमा गएपछि बैंकहरुको सञ्चालन खर्च आधारभूत रुपमा घटाउँछ । सञ्चालन खर्च आधारभुतरुपले घटाउने भएको कारणले वाणिज्य बैंकहरुलाई छोटो समय दिएर स्वतस्फुर्त बिग मर्जर गराउने र त्यो समयभित्र मर्जर नगराउनेलाई फोर्स मर्जरमा लाने ।
राष्ट्र बैंकले फोर्स मर्जरमा पहिलो प्राथमिकतामा क्रस होल्डिङ भएका बैंकलाई एकै ठाँउमा मर्जर गराउनुपर्छ । एउटै ग्रुपका विभिन्न बैंकहरुमा लगानी हुन्छ त्यस्ता बैंकहरुलाई पहिचान गरी मर्जर गराउन सकिन्छ । एउटै लगानीकर्ता र सेयरधनीको धेरै वटा संस्थामा सेयर तथा लगानी हुन्छ । त्यस्ता संस्थाहरुलाई मर्जर गराउनु पर्छ ।
मर्जर गराउदा कमजोर बैंकलाई कमजोर बैंकसँग नै मर्जर गराउनु हुँदैन । यसले पुनः अर्को कमजोर बैंकको स्थापना हुन्छ । कमजोर बैंकलाई बलिया बैंकसँग मर्जर गराउनु पर्छ । जसले गर्दा बलियो स्वास्थ्य बैंक स्थापना हुन्छ । यसको आधार राष्ट्र बैंकले तय गरिदिनु पर्छ ।