जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पुनर्बीमा कम्पनी खोल्न हिमालयन रिइन्योरेन्सलाई अनुमति दिने बीमा समितिको निर्णय

पुनर्बीमा कम्पनी खोल्न हिमालयन रिइन्योरेन्सलाई अनुमति दिने बीमा समितिको निर्णय

बीमा समितिले हिमालयन रि-इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न दिने निर्णय गरेको छ।

पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयनलाई कम्पनी खोल्न सहमति दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिजमाण्डूलाई बताए।

हिमालय रि-इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल उद्योग  परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अन्य विभिन्न व्यवसायिक घरानाका व्यक्तित्वहरु रहेका छन्।

बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न गरेको आह्वानमा कुल पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए। निवेदन दर्ता गराउनेमा हिमालयनसहित प्रुडेन्सियल रि-इन्योरेन्स, अन्नपूर्ण रि-इन्स्योरेन्स, काठमाडौं रि-इन्स्योरेन्स र जेन्युन रि-इन्योरेन्सले प्रस्ताव दर्ता गरेका थिए।

बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो। समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थालाई बुधबार मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव दर्ता गर्न समयसीमा तोकेको थियो।

प्रस्ताव आह्वान गर्नुअघि समितिमा पुनर्बीमा कम्पनी स्थापना गर्न दर्ता भएका सबै प्रस्तावहरु रद्द गरेपछि नयाँ प्रक्रिया सुरु भएको हो।

अहिले नेपाल पुनर्बीमा कम्पनी एक मात्रै रि-इस्योरेन्स कम्पनी हो। जसमा नेपाल सरकारको ४४%, विशाल ग्रुपको ३%, राष्ट्रिय बीमा कम्पनीको २.७%, सर्वसाधारणको १६% सहित अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयर स्वामित्व छ। पुनर्बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ।

अनुमति नपाएका प्रुडेन्सियल रि-इन्स्योरेन्समा व्यावसायिक घरानाहरू आईएमई ग्रुप, विशाल ग्रुप लगायतको लगानी रहेको बताइएको छ। उता अन्नपूर्ण रि–इन्स्योरेन्समा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोसहित केही गैरआवासीय नेपालीसमेत छन्। गैरआवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पुनर्बीमा कम्पनीमा लगानी गर्ने योजना थियो।

अर्को कम्पनी काठमाडौं रि-इन्स्योरेन्समा बीमा क्षेत्रका विज्ञहरूको समूह छ। प्रस्तावित कम्पनीमा बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिकै पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आईएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टीम छ।

जेन्यून रि-इन्स्योरेन्समा दुई जना बीमा क्षेत्रका विज्ञहरू छन्। बीमा समितिकै कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की र पोखरा विश्वविद्यालयका प्राध्यापक डा.रवीन्द्र घिमिरे यो कम्पनीमा छन्। यस कम्पनीमा म्यानपावर व्यवसायी रघु पुरीसमेत सहभागी रहेको बताइएको छ।

3485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका