
चालु आर्थिक वर्षको वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल ऋण लगानीमा वृद्धि भए पनि कर्जा खाताको संख्या भने ७ हजारभन्दा बढीले घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार वैशाख महिनामा मात्रै थप एक अर्ब रुपैयाँ ऋण प्रवाह भई चालु आर्थिक वर्षको १० महिनामा कुल ३ खर्ब १२ अर्ब कर्जा थपिएको छ । तर, सोही अवधिमा ७ हजार १७७ वटा कर्जा खाता बन्द भएका छन् । बजारमा नयाँ कर्जाको माग सन्तोषजनक नहुनु, पुराना र लामो समयदेखि पेन्डिङमा रहेका निष्क्रिय खाताहरू बैंकहरूले बन्द गर्नु तथा बैंकहरूको नीति पुरानो कर्जा असुलीमा बढी केन्द्रित हुनुले खाताको संख्या घटेको बैंकरहरू बताउँछन् । चालु आर्थिक वर्षको चैत महिनासम्म २० लाख ४४ हजार ६ सय १२ रहेको कर्जा खाता संख्या वैशाख मसान्तसम्म आइपुग्दा घटेर २० लाख ३७ हजार ४ सय ३५ मा खुम्चिएको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूका अनुसार अर्थतन्त्रमा आएको सुस्ती र केही समयअघिको आन्दोलनपछि व्यवसायीहरूको आत्मबल कमजोर हुँदा नयाँ उद्योग व्यवसाय सुरु गर्ने वा भएकालाई विस्तार गर्ने उपयुक्त वातावरण बन्न सकेको छैन । जसका कारण कर्जा स्वीकृतिका लागि प्रक्रिया पूरा गरेर खाता खोलेका कतिपय ग्राहकले समेत अन्तिम समयमा ऋण नलिई खाता बन्द गराएका छन् । यसका साथै बैंकहरूले सानो आकारका, शून्य मौज्दात भएका र नियमित रूपमा राफसाफ भएका खाताहरूलाई प्रणालीबाट हटाउने (अपलेखन गर्ने) नीति लिएका कारण पनि यो गिरावट देखिएको हो । यसअघि चालु आर्थिक वर्षकै कात्तिक महिनामा पनि असोजको तुलनामा ४ हजारभन्दा बढी कर्जा खाता घटेको तथ्याङ्कले देखाउँछ, जसले कर्जाको मागमा लामो समयदेखि शिथिलता रहेको पुष्टि गर्छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार पछिल्लो समय बैंकहरूको शाखा मर्जरका कारण र सञ्चालक समितिले समय–समयमा गर्ने कर्जा अपलेखन सम्बन्धी निर्णयहरू एकैपटक वैशाख महिनामा कार्यान्वयनमा आउँदा संख्यामा ठूलो गिरावट देखिएको हो । शून्य वा अत्यन्तै न्यून लोन भएका र बन्द गर्नुपर्ने प्रक्रियामा पुगेका खाताहरूलाई प्रणालीबाट हटाउँदा यस्तो अवस्था आएको केन्द्रीय बैंकको भनाइ छ । कर्जा खातामा उत्साहजनक सुधार नदेखिए पनि बैंकहरूमा निक्षेप (बचत) खाता भने तीव्र गतिमा बढिरहेको छ । वैशाख महिनामा मात्रै निक्षेप खाता ३ लाखभन्दा धेरैले बढेर बैंकिङ प्रणालीमा कुल कर्जा र निक्षेप खाताको संख्या ६ करोड २७ लाख २३ हजार पुगेको छ । गत आर्थिक वर्ष २०८२ को वैशाखमा १९ लाख ५३ हजार र असार मसान्तसम्म १९ लाख ६१ हजार ४६९ रहेका कर्जा खाताहरू यस वर्ष उतारचढावपूर्ण अवस्थामा रहेकाले बैंकहरू अझै पनि नयाँ लगानी भन्दा पुरानाे उठाउनेतर्फ नै बढी केन्द्रित देखिन्छन् ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































