
काठमाडौंको चर्चित शैक्षिक संस्था टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका कार्यकारी प्रमुख कर्मा छिरिङ शेर्पा विद्यालयको ८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै ५४ वर्षीय शेर्पालाई असार १२ गते काठमाडौंको बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो । सीआईबीका अनुसार टुङ्गरम इन्टरनेसनल एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको थियो । काठमाडौं महानगरपालिका–१ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका–६ गणेशचोक बस्दै आएका शेर्पाविरुद्ध दुई वर्षदेखि रोकिएको अनुसन्धान सीआईबीले हालै मात्र ब्युँताएर कारबाही अगाडि बढाएको सीआईबी उच्च स्रोतले जनाएको छ ।
विद्यालयको बैंक खाता सञ्चालन गर्ने एकल हस्ताक्षरकर्ताको जिम्मेवारी पाएका शेर्पाले आफ्नो पदीय दुरुपयोग गर्दै डर, त्रास र अनुचित प्रभावमा पारी विद्यालयको कुल ८ करोड ७८ लाख ३० हजार ८ सय २ रुपैयाँ हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.का अनुसार शेर्पाले विद्यालयको नाममा भक्तपुर जिल्लाको साविक दधिकोट गाविस–२ मा रहेको करिब २९ रोपनी ४ आना २ पैसा १ दाम जग्गा आफू सम्बद्ध अन्य कम्पनीहरूलाई बिक्री गरेका थिए ।
यसका साथै, विद्यालयका विद्यार्थी तथा प्रशासनिक प्रयोजनका लागि सवारी साधन खरिद गर्न छुट्ट्याइएको रकमबाट उनले व्यक्तिगत तथा आफ्ना अन्य कम्पनीको नाममा जग्गा र गाडीहरू खरिद गरी विद्यालयलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको ब्यूरोको दाबी छ । आफ्नो जिम्मेवारीमा रहेको विद्यालयको सम्पत्ति र रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको भन्दै उनीविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































