
दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि गृह मन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीले एक बैंकिङ कसुरका फरार अभियुक्तको पक्षमा काम गरिदिन कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई चर्को दबाब दिएको खुलेको छ । मन्त्रालयको मर्यादाक्रममा नपरे पनि केही दिनअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट सलामी खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका तिनै स्वकीय सचिव कार्कीले फरार अभियुक्तको अवैध संरक्षणमा शक्तिको दुरुपयोग गरेको पाइएको हो । यसै गरी सोही घटनामा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले समेत अदालतको आदेशविपरीत गएर अख्तियार दुरुपयोग गर्दै गैरकानुनी पत्राचार गरेको तथ्य सतहमा आएको छ ।
प्रकरण पोखरा महानगरपालिका–१७ घर भई लेकसाइडमा ‘द यात्रा कोर्टयार्ड होटल एण्ड रिसोर्ट’ सञ्चालन गर्ने ५९ वर्षीय रामचन्द्र बहादुर भट्टराईसँग जोडिएको छ । भट्टराईले मनाङ स्थायी घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने टासी गुरुङसँग घरायसी कामका लागि लिएको १० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा २०८१ कात्तिक २७ गतेको मिति राखेर महालक्ष्मी विकास बैंकको चेक दिएका थिए । उक्त चेक सटहीका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक पोखरा शाखामा पेस गर्दा खातामा पर्याप्त रकम नभएको भन्दै पटक–पटक बाउन्स भएपछि गुरुङले प्रहरीमा जाहेरी दिएका थिए । खातामा पैसा नभएको जान्दाजान्दै ठगी गरेको आरोप लागेका भट्टराई हाल प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका छन् ।
फरार अभियुक्त भट्टराईले लुम्बिनी विकास बैंकमा सोही होटल धितो राखेर लिएको ऋण नतिरेपछि बैंकले होटल लिलामी गरेको थियो । लिलाम सकार्ने अर्का एक होटल सञ्चालकविरुद्ध भट्टराईले उच्च अदालत पोखरामा मुद्दा दायर गर्दै निर्माणाधीन होटलको काम रोक्न अन्तरिम आदेशको माग गरेका थिए । तर अदालतले भट्टराईको पक्षमा अन्तरिम आदेश नदिएपछि पूर्वगृहमन्त्रीका स्वकीय सचिव कार्कीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक फोन गरेर गैरकानुनी रूपमा होटल निर्माण कार्य रोक्न दबाब दिएका थिए । प्रमुख जिल्ला अधिकारीले अदालतको आदेश भइसकेकाले आफूले कुनै पनि गैरकानुनी कदम नचाल्ने अडान लिएपछि यो चलखेल सार्वजनिक भएको हो । अर्कातर्फ, अदालतको आदेशभन्दा माथि रहेर पोखराका मेयर धनराज आचार्य र महानगरका कर्मचारीहरूको मिलेमतोमा फरार अभियुक्तकै पक्षपोषण हुने गरी गैरकानुनी पत्राचार गरिएको भेटिएपछि स्थानीय प्रशासन र महानगरकै भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































