जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने टपटेन कम्पनी: सूर्य नेपाल पहिलो, पाँच बैंक टप टेनमा

आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने टपटेन कम्पनी: सूर्य नेपाल पहिलो, पाँच बैंक टप टेनमा

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ। अर्थमन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ९ अर्ब ३४ करोड रुपैयाँ कर तिरेर यो कम्पनी पहिलो बनेको हो।

दोस्रोमा दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी), तेस्रोमा एनसेल, चौथोमा गोर्खा ब्रुअरी, पाँचौंमा नबिल बैंक, छैठौंमा एनआइसी एसिया,  सातौंमा  ग्लोबल आइएमइ बैंक, आठौंमा नेपाल विद्युत प्राधिकरण, नवौंमा प्राइम कमर्सियल बैंक र १०औंमा कृषि विकास बैक रहेको छ।

तथ्यांक अनुसार, उनीहरुले मूल्य अभिबृद्धि कर र अग्रिम आयकर बापत यो रकम तिरेका हुन्।

सूर्य नेपालले चुरोट, सलाई, अगरवत्ती र कन्फेसनरी बिक्री गर्दै आएको छ। कम्पनीको सिमरा र तनहुँमा चुरोटको दुई वटा उद्योग छ। कम्पनीले विभिन्न ब्राण्डमा  वार्षिक ३ अर्ब खिल्ली चुरोट उत्पादन र बिक्री वितरण गर्दै आएको छ।

अघिल्लो आर्थिक वर्ष कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ भ्याट र अग्रिम आयकर ५ अर्ब ३१ करोड गरेर कुल ९ अर्ब १८ करोड राजस्व तिरेको थियो। कम्पनीले आर्थिक वर्ष २०६६/०७७ भन्दा १६ करोड रुपैयाँ धेरै राजस्व तिरेको छ।

कम्पनीमा आइटीसी इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र विट्रिस अमेरिकन टोब्याको (इन्भेष्टमेन्ट) लिमिटेड युकेको कम्पनीको दुई प्रतिशत सेयर छ। सन् १९८६ मा स्थापना भएको यो कम्पनी धेरै कर तिर्ने सूचीको टपटेनभित्र सधै पर्दै आएको छ।

धेरै कर तिर्ने दोस्रो कम्पनीमा सरकारी स्वामित्वको नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड) परेको छ। गत आर्थिक वर्ष टेलिकमले अग्रिम आयकर र भ्याट गरी ९ अर्ब कर तिरेको अर्थ स्रोतले बतायो। अघिल्लो आर्थिक वर्ष टेलिकमले ८ अर्ब ७ करोड आयकर मात्रै तिरेको थियो। यस्तै भ्याट २ अर्ब ३३ करोड तिरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा टेलिकमले १ अर्ब ४० करोड कम कर दाखिला गरेको हो। पछिल्लो समयमा सामाजिक संजाल (ओटिटी) को बढ्दो प्रयोगले टेलिकम कम्पनीको भ्वाइसको व्यापार लगातार घट्दा नाफामै प्रभाव परेको छ।

निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले गत आर्थिक वर्षमा ८ अर्ब राजस्व तिरेर धेरै कर तिर्ने सूचीमा तेस्रो बनेको छ। यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ९५ करोड कर तिरेको थियो। कम्पनी खरीदबिक्री गर्दा लाग्ने पुँजीगत लाभकर तिरेका कारण अघिल्लो आर्थिक वर्षमा धेरै कर तिरेको देखिएको थियो।

यसैगरी धेरै कर तिर्नेको चौथो नम्बरमा गोर्खा ब्रुअरीपरेको छ। नेपालमा सबैभन्दा धेरै बियर बिक्री गर्ने कम्पनीमा पर्छ। यो कम्पनीको गोर्खा, काल्सवर्ग, स्यानमिगेल, सोमर्स्बी र टुबोर्ग बियर उत्पादन र बिक्री गर्दै आएको छ। कम्पनीले गत वर्ष ४ अर्ब २४ करोड कर तिरेको छ। यसमा भ्याट र अग्रिम आयकर समावेश छ।

अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले १ अर्ब ९३ करोड भ्याट तिरेको थियो। धेरै करतिर्ने उत्कृष्ट टपटेनभित्र पाँच वाणिज्य बैंक परेका छन्।

धेरै कर तिर्ने पाँचौ नम्बरमा नबिल बैंक परेको छ। बैंकले ३ अर्ब ९७ करोड राजस्व तिरेको छ। अघिल्लो आर्थिक वर्ष नबिल बैंक धेरै आयकर तिर्नेको सुचीमा छैटौं नम्बरमा थियो।

नबिलपछि धेरै कर तिर्ने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ। यो बैंकले अग्रिम आयकर र भ्याट ३ अर्ब ६१ करोड राजस्व दाखिला गरेको छ। यस्तै जनता बैंक गाभिएपछि ग्लोबल आइएमई बैंकले ३ अर्ब राजस्व तिरेर सातौ नम्बरमा उक्लिएको छ।

यसैगरी सरकारी संस्थान विद्युत प्राधिकरणले २ अर्ब ९० करोड राजस्व तिरेर आठौं नम्बरमा परेको छ। यसैगरी नवौं स्थानमा प्राइम कमर्सियल बैंकले २ अर्ब ४३ करोड कर तिरेको छ। प्राइम पनि मर्जरपछि ठूलो बनेको हो। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ करोड आयकर तिरेको थियो।

5950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?