

सेयर बजारमा सुचिकृत बैंक वित्तीय सँस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उनीहरुको वित्तीय विवरण सार्वजनिक भए पश्चात बजारमा लगानीकर्तामाझ कसले कति लाभांश देला भन्ने चर्चा सुरु भएको छ।
वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा संचालनमा रहेका सुचिकृत १७ वटा बिकास बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।
सार्वजनिक वित्तीय विवरणअनुसार १७ मध्ये १५ वटा बिकास बैंक गत आर्थिक बर्ष नाफामा रहेका छन् भने नारायणी बिकास बैंक घाटामा रहेको छ। यता खोटाङ केन्द्रिय कार्यलय रहेको एक जिल्ले सालपा बिकास बैंक सेयरको दोस्रो बजारमा सुचिकृत भईनसकेको अवस्था छ।
एउटा बाहेक सबै बिकास बैंक नाफामा रहेपनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक फरक रहेको छ। त्यसमा पनि २०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत आर्थिक बर्षको आम्दानीमा लेखांकन गर्न पाईने व्यवस्थाले सार्वजनिक वित्तीय विवरणमा उल्लेख लाभांश क्षमता भन्दा थप बढेर आउँन सक्छ।
यहाँ उल्लेख गरिएको बिकास बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको दर बैंकहरुको बिभिन्न कोषहरुमा भएको पैसा र अहिले सार्वजनिक भएको चौथो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर तयार गरिएको हो।
त्यसमा पनि हालै मात्रै सहारा बिकास बैंकलाई प्राप्त गर्ने सम्झौता गरेको गरिमा विकास बैंकको हिसाबमा सहारालाई प्राप्त गरिसकेपछिको अवस्थालाई समावेश गरिएको छ। यस आर्थिक बर्ष सहारालाई प्राप्ति गर्ने सम्झौता गरेकाले सहाराबाट आएको पुंजीलाई समावेश गरीएपनि सहराबाट प्राप्त नाफा गरिमाले आगामी आर्थिक बर्ष मात्र लाभांशको रुपमा सेयरधनीलाई वितरण गर्न पाउँछ। अहिले सहाराबाट प्राप्त नाफालाई गरिमाले रिजर्भमा राख्नुपर्ने हुन्छ।
यता नेपाल धितोपत्र बोर्ड बाट एक बराबर एक दशमलब १५ अर्थात ११५ प्रतिशतका दरले हकप्रद निष्काशनको अनुमतिको पर्खाईमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद समेत समायोजन गरि उसको प्रति सेयर आम्दानी, लाभांश क्षमता र दिन सक्ने लाभांश तयार गरिएको हो।
त्यस्तै नेपाल धितोपत्र बोर्डबाट एक बराबर एक कित्ता सेयर अर्थात शतप्रतिशतका दरले हकप्रद निष्काशनको अनुमतिको पर्खाईमा रहेको नारायणी डेभलपमेन्ट बैकको खुद मुनाफानै नोक्सानीमा रहेको र रिटर्न अर्निंग र प्रति सेयर आम्दानी पनि नकारात्मक रहेकाले उसको लाभांश क्षमता र दिन सक्ने लाभांशबारे केहि उल्लेख नगरिएको हो।
१७ वटा बिकास बैंकहरु मध्ये गत आर्थिक बर्ष सबै भन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडी छ भने उसलाई ग्लोबल गरिमा, ज्योति, महालक्ष्मी र कामना सेवा विकास बैंकले पछ्याएका छन्।
मुक्तिनाथ विकास बैंकले १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्दा उसलाई पछ्याएको गरिमा विकास बैंकले ८४ करोड ४४ लाख, ज्योतिले ८२ करोड ५२ लाख, महालक्ष्मी विकास बैंकले ७३ करोड २९ लाख र कामना सेवाले ७० करोड खुद मुनाफा आर्जन गरेका छन्।
त्यस्तै १७ वटा विकास बैंक मध्ये प्रति सेयर आम्दानी सबै भन्दा बढी कामना सेवा विकास बैंकको रहेको छ भने मुक्तिनाथ,ज्योति र गरिमा विकास बैंकले पछ्याएका छन्। कामनाको प्रति सेयर आम्दानी २६ रुपैयाँ ४० पैसा हुँदा उसलाई पछ्याएका मुक्तिनाथको २३ रुपैयाँ ९२ पैसा, ज्योतिको २१ रुपैयाँ ४६ पैसा, गरिमाको २१ रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै सबैभन्दा बढी लाभांश क्षमता एक्सेल डेभलपमेन्ट बैंकको रहेको छ भने सबै भन्दा बढी लाभांश बाँड्न सक्ने विकास बैंकमा पनि एक्सेल डेभलपमेन्ट नै अगाडी देखिएको छ। एक्सेलको लाभांश क्षमता २५.२३ प्रतिशत रहेको छ भने बाँड्न सक्ने लाभांश २४।२१ प्रतिशत देखिन्छ। जसमा २३ प्रतिशत बोनस सेयर रहेको छ।