जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • डलरको भाउमा उच्च सुधार, ११६ रुपैयाँसम्म झरेको डलर १२० रुपैयाँमाथि उक्लियो

डलरको भाउमा उच्च सुधार, ११६ रुपैयाँसम्म झरेको डलर १२० रुपैयाँमाथि उक्लियो

अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। २०७८ बैशाख १३ गते १२० रुपैयाँ ३२ पैसासम्म पुगेको डलर त्यसयता निरन्तर घटिरहेको थियो।

डलरको भाउ यहीबीचमा ११६ रुपैयाँ २१ पैसासम्म आएको थियो। बिहीबार भने डलरको भाउ १२० रुपैयाँ २७ पैसा पुगेको छ। बुधबारको तुलनामा एकै दिन डलरको भाउ ८५ पैसाले बढेको छ। 

बीचमा लामो समय डलरको भाउ कम हुँदा विदेशमा काम गर्ने नेपालीहरु रेमिटेन्स पठाउन निरुत्साहित भएका थिए। यही कारण पनि साउनमा रेमिटेन्स १५ अर्ब रुपैयाँ हाराहारीले घटेको थियो।

पछिल्लो दुई सातायता डलरको भाउ बढ्न थालेको हो। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ‘रिफ्रेन्स रेट’ १२० रुपैयाँ २७ पैसा तोकेको छ। 

अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहँदा डलरमा सुधार आएको हो। यसले भारतीय मुद्रा प्रभावित भएको छ। यही कारण डलरको भाउ बढ्न थालेको हो। 

नेपाली र भारतीय मुद्राबीच विनिमय दर स्थिर छ। भारु १०० बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दरका कारण भारु तल-माथि हुँदा नेपाली रुपैयाँ पनि तरंगित हुन्छ। 

नेपाललाई भने डलरको भाउ बढ्दा भन्दा घट्दा फाइदा छ। डलरको भाउ घट्दा रेमिटेन्स आय प्रभावित भए पनि बाँकी अधिकांश कुरामा फाइदा हुन्छ।

विदेश जाने खर्च बढ्यो
डलर वृद्धिले विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्ने छ। हजारौंको संख्यामा नेपाली विद्यार्थी विदेश पढ्न जान्छन्। पछिल्लो समय कोभिडका कारण यो रोकिएपनि बिस्तारै खुकुलो भएका कारण जान क्रम बढेको छ। जहाजको टिकटलगायत यातायात खर्च, कलेजमा तिर्नुपर्ने शुल्कका लागि पनि यो वृद्धिले बढी पैसा खर्च हुनेछ।

औषधि उपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेहरूलाई पनि डलर वृद्धिले बेफाइदा गर्नेछ। एक डलर किन्न पहिलेभन्दा बढी रुपैयाँ तिर्नुपर्छ। यही कारण यी सेवा लिने सर्वसाधारणलाई डलरको मूल्यवृद्धिले असर पर्छ।

आयातित वस्तु महँगो
डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ। 

मूल्य समायोजन नगर्ने हो भने पेट्रोलियम पदार्थ किन्ने नेपाल आयल निगमको नोक्सानी अझ बढ्ने छ। निगमले वर्षको २ खर्ब रुपैयाँभन्दा बढिको पेट्रोलियम पदार्थ किन्छ। यसपटक तेल आयात खर्च अझ बढाउने छ। 

विदेशबाट कच्चापदार्थ ल्याई यहाँ उत्पादन गर्ने उद्योगको लागत पनि बढ्ने छ। यसको असर केही दिनमै उपभोक्तासम्म पर्ने व्यवसायीको भनाइ छ। कतिपय आयातीत सामानको भाउमा डलर वृद्धिको असर पर्न थालिसकेको छ। डलरलाई देखाएर नै अहिले नै स्टीललगायत उद्योगले मूल्य बढाउन थालिसकेका छन्।

सरकारी हरहिसाबमा समस्या
महँगो डलरले सरकारको आयव्यय विवरण बजेटमा पनि असर गर्छ। विदेशी ऋण र साँवा भुक्तानीका लागि तोकिएभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्नेछ।

डलर वृद्धिले बजेट घाटा बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने जोखिम बढ्छ। रेमिट्यान्सका कारण पैसा प्रवाह बढ्ने भएकाले मूल्यवृद्धिमा अझ दबाब पर्छ।

विदेशबाट आउने वस्तुको भाउ बढ्दा सरकारी खर्च पनि बढ्ने छ। वस्तुको भाउ वृद्धिले सरकारी नीतिप्रति जनताको आक्रोश बढ्छ। आयल निगमको नोक्सान कम गर्न सरकारले अनुदान दिनुपर्ने भएकाले थप बजेट आवश्यक पर्छ। वा निगमले मूल्य बढाउनु पर्ने हुन्छ। मूल्य बढाउँदा जनआक्रोश बढेर सरकारप्रति जनता निराश बन्न सक्छन्।

डलर भाउमा उच्च वृद्धिले नेपाल विद्युत प्राधिकरणको आम्दानी प्रभावित हुन्छ। विदेशी लगानीका आयोजनाबाट किन्ने बिजुलीलाई प्राधिकरणले डलरमा भुक्तानी गर्छ। 

फाइदा

रेमिट्यान्स पाउने परिवार
परिवारको कोही सदस्य विदेशमा काम गर्न गएका छन् भने उनीहरू डलरको मूल्यवृद्धिबाट फाइदामा रहनेछन्। डलरसँगै अन्य विदेशी मुद्राको मूल्य पनि बढेका छन्। कतारी रियाल, मलेसियन रिंगिटलगायत पनि बढेका छन्। यी देशमा ठूलो संख्यामा नेपाली कामदार छन्। डलरको मूल्यवृद्धिले उनीहरूको आम्दानी बढ्नेछ।

गत आर्थिक वर्ष ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। बीचमा डलरको भाउ घट्दा रेमिटेन्स आय १५ अर्बले घटेको थियो। असारमा ९० अर्ब ११ करोड भित्रिएको रेमिटेन्स साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ मात्र भित्रिएको छ।

डलर पाउने व्यवसायी
नेपालबाट वस्तु तथा पर्यटनलगायत सेवा बिक्री गरेर डलर प्राप्त गर्ने व्यवसायीलाई पनि यो वृद्धिले फाइदा पुग्नेछ। कोभिडले पर्यटन प्रभावित छ। तैपनि पछिल्ला दिन पर्यटक आउने क्रम बढेको छ। उनीहरु आउन थाले भने पर्यटन आम्दानीमा सुधार हुने छ। 

विदेशमा सामान पठाएर डलर पाउनेलाई पनि यसबाट फाइदा हुन्छ। हस्तकलालगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।

स्वदेशी उद्योगलाई नाफा
विदेशी सामान महँगो भएकाले यहीँ उत्पादन हुने सामानको प्रतिस्पर्धात्मक क्षमता बढ्छ। कतिपय नेपाली उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गरिरहेका छन्। डलर महँगो हुँदा यस्ता विदेशी सामानको भाउ बढ्ने छ। स्वदेशी सामानले यो मौकाको फाइदा उठाउन सक्छन्।

4315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका