जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने

गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने

गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्र मध्य ६० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट परिपत्र विधिमार्फत विक्री गर्नेछ ।

बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्तामध्य पनि ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ३ लाख ८० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्नेछ । यो ऋणपत्र छिटोमा मंसिर २० गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने पुस १ गतेसम्मको मिति बैंकले तय गरेको छ । 

ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । बैंकको यस ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । बैंकले यो ऋणपत्र विक्रीका लागि कात्तिक १७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो । 

यस बैंकको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहेको छ । जारी पूँजी बराबरको रकम बैंकले चुक्ता गरिसकेको छ । बैंकमा संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब ३७ करोड ४३ लाख ३६ हजार रुपैयाँ चुक्तापूँजी पुर्याउने प्रक्षेपण गरेको छ । हालसम्म बैंकले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश सार्वजनिक भने गरेको छैन् । अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट भने बैंकले १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

7765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?