जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • पुँजीगत लाभकर घटाऔं, आईपीओ शुल्कमा हेरफेर गरौं

पुँजीगत लाभकर घटाऔं, आईपीओ शुल्कमा हेरफेर गरौं

पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्षको बजेटको लागि एक दर्जन सुझाव दिएको छ । बजारको विकास तथा विस्तारको लागि बोर्डले आर्थिक वर्ष २०७९/८० को बजेटमा कारणसहित विभिन्न १२ बुँदे सुझाव दिएको हो ।

जसमा पुँजीगत लाभकर घटाउनेदेखि, प्राथमिक तथा दोस्रो बजारको लगानी शुल्कमा पुनरावलोकनदेखि नेप्से तथा सिडीएस एण्ड क्लियरिङको पुँजी बढाउनेसम्मको विषयलाई समेटिएको छ ।

बोर्डले धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न अल्पकालीन लगानीकर्तालाई ६.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ४ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ । हाल सरकारले अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत कर लगाएको छ । बजारमा १८० दिनभन्दा कम अवधिका लागि गरिने लगानीलाई अल्पकालीन र सो अवधिभन्दा बढी समयका लागि दीर्घकालीन अवधि मानिँदै आएको छ ।

धितोपत्र बजारलाई लगानीकर्तामैत्री बनाउन धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा लाग्ने शुल्कहरुमा पुनरावलोकन गर्न पनि सुझाव दिएको छ । पछिल्लो समय धितोपत्र कारोबार प्रविधिमैत्री हुँदै गएका कारण धितोपत्र बजारमा लाग्ने कारोबार शुल्क समसामयिक बनाउनुपर्ने आवश्यकता रहेको र यसमा लगानीकर्ताले आवाज उठाउँदै आएका छन् ।

बोर्डले नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्ल्यिरिङ्गको स्वामित्व संरचनामा परिवर्तन गरी चुक्ता पुँजी बढाउन आवश्यक रहेको बताएको छ । त्यस्तै, नेपालबाट बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको सार्वजनिक निष्काशनमा आरक्षणको व्यवस्था गरी विप्रेषण आप्रवाह प्रोत्साहित गरिनेछ ।

स साना पुँजी भएका अर्थात साना तथा मझौला कम्पनीलाई केही फरक तथा विशेष व्यवस्था सहितको एसएमईज प्ल्याटर्फम स्थापना गर्न बोर्डको सुझाव छ । जसले दोस्रो बजार मूल्य तथा परिसूचकमा उच्च उतार चढाव आउने हालको अवस्थामा सुधार ल्याउने छ । त्यसैगरी, बोर्डले विशिष्टीकृत लगानी कोषको आर्जित आयमा कर नलाग्ने व्यवस्था गराउन माग गरेको छ । सामूहिक लगानी कोषको जस्तै एकै प्रकृतिको विशिष्टीकृत लगानी कोषहरुको आयमा कर छुट दिन आवश्यक रहेको बोर्डको भनाई छ ।

बजारसम्बन्धी अध्ययन तथा प्रशिक्षण संस्था स्थापना गर्नुपर्छ । कृषि क्षेत्रको विकास तथा अन्य विशेष वस्तुहरुको व्यापारीकरणमा सहयोग पुग्ने गरी वस्तु विनिमय बजार र यसका पूर्वाधारहरु संचालनमा ल्याइनेछ । सूचीकृत संस्थागत तथा सरकारी ऋणपत्रहरु अनिवार्यरुपमा अभौतिकीकृत गराई दोस्रो बजारमा कारोवार गराउनु पर्छ । यसका लागि सिडिएससीमा टी प्लस जेरो मा राफसाफ तथा फछ्र्याैट हुने सफ्टवेयरको विकास गरी कार्यान्वयनमा ल्याउनु पर्छ ।

देशमा उद्यमशीलता तथा नव प्रवर्तनलाई प्रबद्र्धन गर्न प्राइभेट इक्यूटी तथा भेञ्चर क्यापिटललाई संचालन अनुमति दिई संचालनका लागि सहजीकरण गरिनु पर्छ । नेपाल धितोपत्र बोर्डलाई कर छुट हुने निकायको रुपमा परिभाषित गर्नुपर्छ ।

एक अर्बभन्दा बढीको पुँजी वा पाँच अर्बभन्दा बढीको कारोबार गर्ने, प्राकृतिक स्रोतहरुको उपयोग गर्ने कम्पनी, राज्यबाट अनुदान, सहुलियत, कर छुट प्राप्त गर्ने कम्पनीहरुलाई बजारमा सूचिकृत हुनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने छ । यदि सबै क्षेत्रका कम्पनीहरुको सहभागीता भए बजार परिसूचकले अर्थतन्त्रको मापनयन्त्रको रुपमा काम गर्ने बोर्डको भनाई छ ।

नियमन निकाय सरकारकै अंग भएकोमा कर छुट नहुँदा सरकारले सरकारलाई नै कर तिर्ने अवस्था आएको छ । त्यसैले, नियमन निकाय बोर्डलाई कर नलाग्ने निकायको रुपमा व्यवहार गर्न बोर्डको माग छ । जुन अन्तर्राष्ट्रिय अभ्यास समेत हाे ।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका