जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • २४ वर्षमा यती समूहको १३ औं हवाई दुर्घटना

२४ वर्षमा यती समूहको १३ औं हवाई दुर्घटना

जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३ औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका आइतबारको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १ सय ८ वटा हवाई दुर्घटना भएका छन् ।

दुईवटा टुइनअटर विमानबाट ०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २४ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालकदलका सदस्य र यात्रुसहित ९७ जनाले ज्यान गुमाएका छन् ।

हरेक दुई वर्षमा हवाई दुर्घटना बेहोर्नु परेपछि यतीले दुर्गम उडानका लागि १३ वर्षअघि छुट्टै कम्पनी स्थापना गर्‍यो । र, नाम दियो- तारा एयर । तर, तारा स्थापना भएयता ६ वटा दुर्घटना भइसकेका छन् । यो आँकडा हेर्दा यती समूहकै जहाज हरेक दुई वर्षमा दुर्घटनामा पर्ने गरेको देखिन्छ ।

२४ वर्षयता यती र दुर्गम उडानका लागि स्थापना गरिएको सहायक कम्पनी तारा एयरसमेत गरी पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाको कम्पनीले १३ वटा हवाई दुर्घटना बेहोरिसकेको छ ।

कुल १३ वटा घटनामा यती समूहले आफ्नै कम्पनीका विमानमा मानवीय क्षति भएका ६ वटा दुर्घटना बेहोरिसकेको छ । यसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् । बाँकी ७ वटा घटनामा यात्रु घाइते भए पनि कुनै मानवीय क्षति भने हुन पाएन ।

कुल १३ वटा घटनामा दुर्गम तथा हिमाली भेगमा मात्रै यो समूहले ११ वटा घटना बेहोरिसकेको छ । अधिकांश दुर्घटनामा यती समूहले वरिष्ठ तथा विज्ञ पाइलटहरू गुमाएको तथ्यांकमा देखिन्छ ।

प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट–२०२१ का अनुसार, २०१२ सालदेखि ०७६ चैत्रसम्म नेपालमा भएका १ सय ७ हवाई दुर्घटनामा अल्ट्रालाइट वायुयान ३, एकल इन्जिनयुक्त विमान ८, विदेशी वायुसेवाका ९, हेलिकप्टर ३६ र मल्टी इन्जिनयुक्त विमानसँग सम्बन्धित ५१ वटा दुर्घटना भए ।

यीमध्ये दुर्गम भेग उडानमा चार दशकदेखि नेपालमा प्रख्यात क्यानेडियन ट्विनओटर विमानमात्रै २४ वटा दुर्घटनामा परिसकेका छन् । जसमा ९ वटा घटनमा यती तथा ताराका नामले उडाइएका ट्विनओटर विमान परेका छन् ।

०४१ सालयता ट्विनओटर दुर्घटनामा मात्रै १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । मुस्ताङ क्षेत्रमा ताराको यो दोस्रो ठूलो दुर्घटना हो । ६ वर्षअघि ताराले आधुनिक ब्रान्ड–न्यू ट्विनओटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । यस कम्पनीले बेहोरेको १३ वटा हवाई दुर्घटनामा आइतबार मुस्ताङको सानोसरे भीरमा भएको दोस्रो ठूलो दुर्घटना हो ।

प्रारम्भिक अनुमानअनुसार, यो दुर्घटना हुनुमा ‘हुयुमन इरर’ भनिएको छ । दुर्गम उडानमा ताराको नाममा ४ वटा ट्विनओटर सुगम उडानमा यतीको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ८ वटा विमान बाँकी रहेका छन् ।

3605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका