जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल बैंकमा बेथितीले हद नाघ्यो, सीइओ अधिकारीकै कारण पन्तको १८ लाख गायबः राष्ट्र बैंक मुखदर्शक ?

नेपाल बैंकमा बेथितीले हद नाघ्यो, सीइओ अधिकारीकै कारण पन्तको १८ लाख गायबः राष्ट्र बैंक मुखदर्शक ?

सरकारी स्वामित्व भएको नेपाल बैंक लिमिटेड भित्र बेतिथिले हद नाघेको छ भन्दा अब फरक पर्दैन । केही समय अगाडी अदालतले १ करोड जरिवाना बुझाउन नेपाल बैंकलाई एउटा केशमा आदेश नै जारी ग¥यो । त्यसको एक हप्ता पछि ग्राहकको १८ लाख बैंकबाटै गायब भयो । तर, बैंकका सीइओ कृष्ण बहादुर अधिकारी एक पछि अर्को गल्ती लुकाउदै हिँडेको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।

हरेक हप्ताजस्तो नयाँ नयाँ काण्ड सतहमा आइरहेको नेपाल बैंक लिमिटेडको अर्को किर्ते काण्डसमेत सतहमा आएको छ । बैंकबाट खातामा भएको खाताधनीको १८ लाख रुपैयाँ एकाएक गायब भएपछि अहिले पीडीत विभिन्न निकायमा धाएर बैंककै मिलेमतोमा आफ्नो पैसा ‘पच’ गराउन खोजिएको भन्दै गुहार मागिरहेका छन्। सक्कली नागरिकता नै बिना मुआब्जावापत आएको आफ्नो पैसा बैंककै मिलेमतोमा अरुले चोरेको आरोप लगाउँदै उनी प्रहरी, बैंक र मिडिया समक्ष पुगिरहेका छन् ।

भएको के हो ?
धादिङ निवासी शिवप्रसाद पन्त वैदेशिक रोजगारीको शिलशिलामा २०७६ सालदेखि दुबईमा थिए । बुढीगण्डकी हाइड्रोपावरले प्रयोग गरिरहेको आफ्नो जग्गा डुबानमा परेपछि उनलाई मुआब्जाको रुपमा १८ लाख रुपैयाँ भुक्तानी गर्नू भन्ने निर्देशन नेपाल बैंकमा गयो । नेपाल बैंकले यहि बीचमा हाइड्रोपावरको अनुरोध भन्दै उनका नाममा ‘डमी’ खाता खोलिदियो । र मुआब्जाका रुपमा आएको सो १८ लाख रुपैयाँ बैंकले उनको खातामा जम्मा गरिदियो । तर बैंक खाता खोल्दा नै नेपाल बैंक चुक्यो । यसरी खाता खोल्दा सक्कली कागजात हेरेर मात्र खाता खोल्नुपर्नेमा बैंकले सो नहेरी उनका नाममा खाता खोलिदियो । सक्कली नागरिकता पन्तले दुबई नै लागेका थिए । र यहाँ नेपालमा उनको सक्कल कागजात अरुसँग हुने कुरै भएन ।

खाता खुलेपछि हाइड्रोपावरले उनलाई खातामा पैसा जम्मा भएको जानकारी गराए । उनी बैंकमा पैसा जम्मा भएको छ भन्ने थाहा पाएपछि ढुक्क भए । बैंकिङसम्बन्धि खास जानकारी नभएका उनले आफ्नो बैंकमा आफ्नो सक्कल नागरिकता नभई कसरी खाता खुल्यो होला भन्ने सोचेनन् । बरु हाइड्रोपावरले उनको नाममा पैसा जम्मा गरिदिने कुनै नियम होला भन्ने सोचे ।

तर उनी जव नेपाल आए, उनको नाममा छ भनिएको १८ लाख रुपैँया ‘गायब’ भईसकेको थियो । अर्थात, उनले पाउनुपर्ने मुआब्जाको रकम अरु कसैले निकालिसकेको थियो । २०७९ साल जेठमा स्वदेश फर्किएर आफ्नो नामको पैसा निकाल्न जाँदा खातामा पैसा नै नभएपछि उनी छाँगाबाट खसेजस्तै भए । त्यसपछि उनले यस विषयमा थप बुझ्न खोजे । उनी दुबईमा थिए, तर बैंक उनको उपस्थितिमा उनैको सक्कल नागरिकता देखाएर पैसा झिकिएको दाबी गर्न थाल्यो । पछि बुझ्दै जाँदा थाहा भयो, खाता खोल्ने बेलामा उनको देखाइएको भनिएको नागरिकता पनि नक्कली थियो, र पैसा झिक्दा देखाइएको भनिएको कागजात पनि नक्कली थियो । किनकि दुबईमा बसेको मान्छेसँग भएको नागरिकता नेपालमा देखाउन मिल्ने कुरै भएन ।

बैंकमा पैसा गायब भएको थाहा भएपछि उनी बैंक पुगे । सुरुमा बैंकले कर्मचारीबाटै गल्ती भएको हुनसक्ने भन्दै छानविन गरी पैसा फिर्ता गराउँछौँ भन्ने आश्वासनसमेत दिए । खाताबाट हराएको पैसा ब्याजसहित दिन्छौँ भनेपछि उनले कुरे । तर महिनौँ हुँदा पनि बैंकले पैसा दिएन । अहिले पैसा दिने त टाढाको कुरा, उल्टै ‘जहाँ गएर जे गर्न सक्नुहुन्छ, गर्नुस्’ भन्दै बैंक धम्की दिईरहेको छ ।

पन्तका अनुसार आफु विदेशमै रहेको बेलामा बैंकले आफ्नो नामको नक्कली मान्छे खडा गरी रकम अपचलन गरेको छ । उनका अनुसार अहिले उनको नाममा आएको १८ लाखको ब्याज भनेर १० हजार मात्रै खातामा देखिन्छ । छानबिन गर्नुपर्ने ठाउँमा बैंक पन्छिन खोजेको उनको भनाई छ ।यसका लागि उनी प्रहरीसमक्षसमेत गएका छन् । तर आफ्नो नाममा आएको १८ लाख रुपैँया सम्पूर्ण कागजात किर्ते गरेर चोरी भएको भनी प्रहरीमा निवेदन दिँदासमेत सुनुवाई नभएको पिडित पन्तको गुनासो छ । बैंकले आफुले गरेको गल्ती र किर्ते गरेको व्यक्तिलाई लुकाउन खोजेको पन्तको दाबी छ । कतैबाट न्याय नपाएपछि उनी अहिले संचारमाध्यमहरुमा बैंकले गरेको किर्ते धन्दाका बारेमा बोलिदिन र आफुलाई न्याय दिलाईदिन भनिरहेका छन् ।

के भन्छ बैंक ?
यता बैंकका साखा प्रबन्धक रमेश जुगिजुले पनि उनको उपस्थितिमा खाता नै खोल्न नमिल्ने स्वीकारेका छन् । ‘अनि कसरी मिल्यो त ?’ संचारकर्मीको प्रश्नमा उनी भन्छन्- ‘उहाँ आउनुभएको थियो होला । उहाँको उपस्थिति बिना बैंकमा खाता खोल्न नै मिल्दैन । बैंकमा पन्त स्वयम उपस्थित भएर खाता खोलेर रकम निकालिएको हो । अरु व्यक्तिलाई त्यसरी पैसा दिनै मिल्दैन ।’ शाखा प्रबन्धकको कुराले पनि बैंकले यो केसमा बदमासी गरेको छ भन्ने प्रमाणित हुन्छ । किनकि पीडीत पन्त त्यतिबेला दुबईमा थिए र उनको सक्कल नागरिकता पनि उनीसँगै थियो ।

पन्तको नाममा आएको १८ लाख रुपैँया हराएको भन्ने खबर पाएसँगै बैंकमा भेरिफाई गर्दा आधा रकम पन्तकी जेठी श्रिती को खातामा गएको देखिने साखा प्रबन्धक जुगिजुको दाबी छ । जेठी श्रीमतीको घरायसी सल्लाहमै खातामा रकमान्तर भएको बैंकको दाबी छ । तर ‘सक्कली व्यक्ति र सक्कली कागजातबिनै बैंकमा खाता कसरी खुल्यो ? र खातामा भएको पैसा खातावालाको अनुमतिबिना कसरी रकमान्तर भयो ?’ भन्ने प्रश्नको जवाफ भने बैंकसँग छैन । सम्बन्धित व्यक्ति नै उपस्थित भएर खाता खोलिएको रटान बैंक लगाउँछ । तर सक्कली व्यक्ति नेपालमै थिएनन् ।

यता पीडीत पन्त बहने बैंकका मेनेजरले यो विषयमा झुट बोलिरहेको दाबी गर्छन् । बैंककै मिलेमतोमा आफु विदेश रहेका बेला नक्कली मान्छे खडा गरेर पैसा निकालिएको उनको दाबी छ । ‘एक त मेरो सक्कल कागजात विना नै खाता खुलेको छ । अर्को कुरा मेरो स्वीकृति बिना मेरो रकम कसरी अरुको खातामा रकमान्तर हुन्छ ?’ उनको प्रश्नको बैंकका शाखा प्रबन्धकसँग जवाफ छैन ।

के भन्छन् बैंकका सीइओ ?
यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बाहादुर अधिकारी आफुलाई यस विषयमा जानकारी भएको बताउँछन् । ‘जलविद्युत् आयोजनाबाट मुआब्जा आउने शिलशिलामा हामीलाई बुढीगण्डकी जलविधुत् आयोजनाको अफिसबाट ‘फलानो–फलानो’ ग्राहकहरुको नाममा खाता खोली जम्मा गरिदिन भनी लिष्टसहितको म्यासेजहरु आउँछ । त्यसैका आधारमा खाता खोल्छौँ र पैसा आउँछ । पैसा दिँदाचाहिँ स्वयम व्यक्तिले आफ्नो सम्पूर्ण सक्कली कागजातहरु लिएर आउनुपर्ने हुन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘यो केसमा पनि त्यतिखेर एकजना महिलाले एक पुरषलाई ‘मेरो श्रीमान हो’ बैंकमा उपस्थिति गराईएको जानकारी पाएको छु।’

उनले पनि शिव प्रसाद पन्तको सक्कल नागरिकता बैंकमा पेश भएको दाबी गर्छन् । जवकि पन्तको नागरिकता नेपालमै थिएन । ‘सक्कली कागजात त त्योबेला विदेशमा थियो नि ?’ भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनले भने– ‘मेरो जानकारीमा आए अनुसार उनीसँग श्रीमानको सक्कली नागरिकता नै थियो । नागरिकतामा सबै विवरण सही थियो, फोटो त कति पुरानो हुन्छ–हुन्छ। श्रीमतीले नै उहाँ मेरो श्रीमान हो भनेपछि कसरी नपत्याउने ?’

उनका अनुसार सो नागरिकता नक्कली थियो वा श्रीमान् नक्कली थिए भने त्यसको दोष बैंकको होइन उनकी श्रीमतीको हुन्छ । ‘अहिलेसम्म मलाई थाहा भएको यत्ति नै हो, बाँकी रिपोर्टिङ मलाई थाहा छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘बैंकको पैसा लग्ने र किर्ते गर्ने व्यक्तिको खुलासा भईसकेपछिको अवथामा बाँकी कारवाही प्रक्रिया त स्वयम् पन्तले अगाडी बढाउनुपर्छ । यसमा बैंकको केहि दोष छैन ।’

जानकार भन्छन्- ‘खाता खोल्दा सहि-गलत नबुझ्नू बैंककै गल्ती’
यता बैंकिङ जानकारहरुको तर्क भने यस विषयमा नेपाल बैंककै गल्ती छ भन्ने छ । ‘एक त त्यसरी डमी एकाउन्ट खोल्न नै मिल्दैन । सम्पूर्ण कागजात पूरा गरेपछि, सक्कल बमोजिम नक्कल ठिक छ भन्ने हेरेर, सम्बन्धित व्यक्ति नै बैंकमा आएको अवस्थामा मात्र बैंकमा खाता खोल्न मिल्छ । सो अवस्थामा बैंक खाताधनी विदेशमा छन् भन्ने तथ्य प्रमाणित हुन्छ, भने त यो विषयमा बैंक पन्छिन नै मिल्दैन नि ।’ बैंकका सीइओ अधिकारी आफ्ना मित्र भएको बताउँदै सोहि कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक अर्का बैंकका सीइओ भन्छन्- ‘यो केसमा सरासर बैंककै गल्ती छ । हुन त नेपाल बैंकमा यस्ता केसहरु धेरै छन् । सब कुरालाई नर्मल मान्ने सीइओ सापको बानीका कारण पनि धेरै समस्या भएको छ । तर यो केसमा बैंक सरासर दोषी छ ।’

हरेक हप्ता नयाँ- नयाँ काण्ड, सीइओको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न !
यसो त पछिल्लो समय नेपाल बैंकका अनेक काण्ड सतहमा आउन थालेका छन् । केहि समय अगाडी नेपाल बैंकले गरेको लापरवाहीका कारण अदालतले १ करोड जरिवाना बुझाउने आदेश दिएको घटना सेलाउन नपाउँदै यो काण्ड बाहिर आएको छ । केहि समय अगाडी सार्वजनिक भएको महालेखाको प्रतिवेदनले पनि घुमाउरो पारामा सीइओ अधिकारीको क्षमतामाथि प्रश्न उठाएको छ । बैंकमा हुने अनेक काण्डपछि बैंकको छवि बजारमा नमज्जासँग धमिलिएको छ । बैंकको क्रेडिटले त कुन हदसम्मको लापरवाही गर्छ भन्ने तथ्य केहि समय अगाडीको अदालतको आदेशलेसमेत पुष्टी गरिसकेको छ । (अर्थ सरोकार डटकमबाट साभार गरिएको)

3090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका