
हाल ८ वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । उनीहरु प्रारम्भिक सम्झौता गरेर मर्जरको तयारीमा जुटि रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु, सेन्चुरी कमर्सियल बैंक र प्रभु बैंक, साथै हिमालयन बैंक र सिभिल बैंक समेत मर्जरको प्रक्रियामा छन् ।
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिअनुसार चालू आर्थिक वर्षको मौद्रिक नीतिले २०७९ पुस मसान्तभित्र वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरे विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०८० असार मसान्तसम्म प्रदान गरिनेछ।
ती सुविधाहरुमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत विन्दुले छुट प्रदान गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छुट प्रदान गरिनेलगायत छन्।
तीबाहेक राष्ट्र बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दु थप गरिने, सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना पूरा नभई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत विन्दुले छुट दिइने, एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने पनि समावेश छ।
त्यस्तै एकीकृत कारोबार सञ्चालनको क्रममा १ किमिभित्रका शाखा कार्यालयहरुमध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने, वाणिज्य बैकको ० दशमलव १० प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेका संस्थापक समूहको सेयरधनीहरुले यस्तो सेयर बिक्री गर्दा ‘फिट एण्ड प्रपर टेस्ट’ अनिवार्य नहुने व्यवस्था गरिने जस्ता सुविधाहरु तोकिएका छन्।
मेगा बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्बन्धमा अन्तिम स्वीकृति प्राप्त भइसकेको छ। अब यी दुई बैंकले साधारणसभामा मर्जरसम्बन्धी प्रस्ताव पेश गर्ने र पारित गराउने तयारीमा छन्। यही मंसिर १३ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत भएको हो। दुवै बैंकले उक्त सम्झौता हस्तान्तरण समेत गरेको जानकारी दिएका थिए।
दुवै बैंकको १३ गते बसेको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम सम्झौता स्वीकृत गरेको हो। मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने समझदारी भएको छ। त्यस्तै ९०ः१०० को स्वाप रेसियो हुनेछ भने मर्जरपछि बन्ने बैंकमा दुवै बैंकका तर्फबाट ३/३ जना बोर्ड डाइरेक्टर रहनेछन्।
त्यस्तै प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता सम्पन्न भइसकेको छ। बुधबार बसेको दुवै बैंकको सञ्चालक समितिको बैंठकले मर्जरमा जान अन्तिम सम्झौता गरेका हुन्। यी दुवै बैंक १ः१ अनुपातको स्वाप रेसियोमा मर्जरमा जाँदै छन्। मर्जरपछि नाम प्रभु बैंक हुनेछ।
बैंक अफ काठमाण्डु र ग्लोब आईएमई बैंक तथा हिमालयन र सिभिल बैंकले समेत मर्जरको काम पुस मसान्तसम्ममा टुङ्ग्याउने गरी काम अगाडि बढाएका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































