जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पक्राउ परेपछि महासंघका सञ्चालक यादवले फिर्ता गर्न थाले सहकारीका बचतकर्ताको पैसा

पक्राउ परेपछि महासंघका सञ्चालक यादवले फिर्ता गर्न थाले सहकारीका बचतकर्ताको पैसा

बचतकर्ताको पैसा फिर्ता नगर्नेमा सहकारी संस्था मात्रै नभएर सहकारीका नेताहरुसमेत देखिन थालेका छन् ।

सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरे बचतकर्ताको पैसा फिर्ता गराउनुपर्छ भनेर सिकाउनुपर्ने, सहकारीलाई समस्या परेको हो भने समस्या समाधानका लागि सहजीकरण गर्ने राष्ट्रिय सहकारी महासंघका सञ्चालक नै बचतकर्ताको पैसा फिर्ता नगरी भागेका छन् ।

एक वर्षदेखि बचतकर्ताको पैसा फिर्ता नगरी भागिरहेका राष्ट्रिय सहकारी महासंघका सञ्चालकसमेत रहेका श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबाबु यादवलाई बचतकर्ताले नियन्त्रणमा लिएर हातपात नै गरेका छन् ।

धनुषाको सबैला नगरपालिका-७ मा रहेको श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यादवले बचतकर्तालाई ठगेर एक वर्षदेखि भागेका थिए । बुधबार बतचकर्ताले जनकपुरधाम-९ मा समातेर हातपात गर्दै प्रहरीमा बुझाए । प्रहरीमा बुझाएपछि ठगिएका महिलाको पैसा फिर्ता गर्न थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदप्रसाद गौतमले बचतकर्ताले नियन्त्रणमा लिएको खबर आएपछि जनकपुरधाम-९ बाट अध्यक्ष यादवलाई पक्राउ गरिएको बताए । बुधबार पक्राउ गरेका यादवले १० हजारभन्दा कम रकम बचत गरेका बचतकर्ताको सबै पैसा फिर्ता गरेका छन् । उनले १० हजारभन्दा कम बचत गरेका महिलालाई १६ लाख रुपैयाँ फिर्ता गरेको बताइएको छ ।

महासंघका सञ्चालकसमेत रहेका सहकारीका अध्यक्ष यादवले १० हजारभन्दा बढी बचत गर्ने बचतकर्ताको पैसा दामासाहीमा साउनभित्र बचत फिर्ता गरिसक्ने प्रतिबद्धता जनाएको प्रवक्ता गौतमको भनाइ छ ।

यादव मात्रै होइन, महासंघका सञ्चालकले सञ्चालन गरेका अन्य सहकारीमा पनि यस्तै समस्या रहेको महासंघ वृत्तमा चर्चा छ । बचतकर्तालाई एक पटकमा ५ हजारभन्दा बढी बचत फिर्ता गर्नु हुँदैन भन्दै हिँड्ने महासंघ, त्यही महासंघका सञ्चालक भने त्यही ५ हजारका दरले पनि पैसा फिर्ता नगरी भाग्दा प्रहरीले समातेर पैसा फिर्ता गराउनुपरेको छ ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका