जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नाडा अटो शोमा गाडी किन्न बेस रेटभन्दा कममा बैंकको कर्जा, तीन दिनमै पाइने

नाडा अटो शोमा गाडी किन्न बेस रेटभन्दा कममा बैंकको कर्जा, तीन दिनमै पाइने

भृकुटीमण्डपमा मंगलबार सुरु भएको नाडा अटो शो गाडी किन्ने पर्खाइमा बसेकाहरुलाई ‘वान स्टप सोलुसन’ भएको छ।

शोमा आकर्षक ब्राण्ड र मोडलका नयाँ सवारीसाधानहरु प्रदर्शनीमा त राखिएको छँदैछ‚ खरिदकर्तालाई सहज कर्जादेखि मोटर इन्स्योरेन्ससम्मको व्यवस्था एउटै छानामुनि उपलब्ध छ।

१४ लाखको न्यूनतम मूल्यदेखि एक करोडभन्दा बढी पर्ने लक्जरियस सवारी छेउमै कर्जा दिन आतुर वाणिज्य र विकास बैंकका स्टल छन्। ६ वटा वाणिज्य बैंक र दुई राष्ट्रिय स्तरका विकास बैंकका कर्मचारी गाडी पारखीहरुलाई लोभ्याउने अफर प्रस्तुत गर्न व्यस्त भेटिन्छन्। जसमा विद्युतीय गाडी किन्न चाहनेका लागि अफर अझ विशेष छन्। नाडा अटो शोमै बुकिङ गर्ने ग्राहकलाई थप सेवा सुविधा छन्।

वाणिज्य बैंकहरुमध्ये नबिल, ग्लोबल आइएमई, प्रभु, हिमालयन, लक्ष्मी सनराइज र सानिमाले नाडा एक्स्पोभित्रै स्टल राखेका छन्। डुल्दै गर्दा कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकको स्टल पनि सँगै भेटिन्छ।

गाडीमा एकमुस्ट रकम हाल्न नरुचाउनेहरुलाई बैंकहरु ५० देखि ८० प्रतिशतसम्मको कर्जा सुविधा दिने योजनामा छन्। विशेषगरी विद्युतीय गाडीमा ८० प्रतिशत कर्जा र इन्धनमा ५० प्रतिशतसम्मको कर्जा उपलब्ध छ।

प्याकेजमा बैंकहरुले एक वर्षदेखि कर्जा अवधिभर उतारचढाव नहुने स्थिर कर्जा समेत प्रवाह गर्ने स्किम ल्याएका छन्। कतिपय विकास बैंकहरुले आधारदरमा ०.१४ प्रतिशत विन्दु मात्रै प्रिमियम लगाउने प्रतिबद्धता प्रस्तुत गरेका छन्। केहीले बेस रेटभन्दा कममा कर्जा दिने जनाएका हुन्। कर्जा लिँदा तिर्नुपर्ने प्रशासनिक शुल्कमा छुट दिन पनि चर्को प्रतिस्पर्धा देखिन्छ।

आकर्षक अफर कुन बैंकको कस्तो ?

नबिल बैंक

बैंकले आकर्षक ब्याजदरमा विद्युतीय सवारी खरिद गर्न ८० प्रतिशतसम्मको अटो लोन सुविधा दिने जनाएको छ। जसका लागि बैंकले अवधि अनुसारको ब्याजदर तय गरेको छ। ५ वर्षको लागि कर्जा लिँदा ऋणीले १०.४९ प्रतिशत मात्रै कर्जा तिरे पुग्छ। त्यही कर्जाको अवधि लम्ब्याएर ७ वर्ष पुर्‍याउँदा ब्याजदर १०.९९ प्रतिशत पुग्न जान्छ।

यस अतिरिक्त बैंकले गाडीका लागि कर्जा लिने ग्राहकलाई दुई लाखसम्मको लिमिट भएको क्रेडिट कार्ड सुविधा दिने जनाएको हो। बैंकले कर्जाको एक प्रतिशत प्रशासनिक शुल्क तय गरेको छ।

ग्लोबल आइएमई बैंक

यो बैंकले प्राइभेट र कमर्सियल सवारीसाधनलाई छुट्टाछुट्टै ब्याजदरमा अटो लोन दिने जनाएको छ।

व्यक्तिगत रूपमा विद्युतीय गाडी किन्न खोज्नेहरुका लागि १०.४९ प्रतिशत ब्याज लाग्नेछ। यस्तै इन्धनबाट चल्ने गाडी किन्दा १०.९९ प्रतिशत ब्याज निर्धारण गरेको छ। अर्कोपट्टि व्यवसायिक प्रयोजनका लागि खरिद गरिने विद्युतीय गाडीमा ११.४९ प्रतिशत र इन्धनबाट चल्ने गाडी किन्दा १२.४९ प्रतिशत ब्याज लिनेछ।

दुवै प्रकारका विद्युतीय गाडीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको छ। यसको सेवा शुल्क भने ०.५ प्रतिशतसम्म छ।

इन्धन गाडीका लागि कुल मूल्यको ५० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको हो। यसका लागि बैंकले ०.७५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ।

बैंकका अनुसार कर्जाको अवधिभर ब्याजदर परिवर्तन हुने छैन।

प्रभु बैंक

प्रभु बैंकले भने हुन्डाइका विद्युतीय गाडी खरिद गर्दा बेस रेटभन्दा कममा कर्जा दिने भएको छ। ९.९९ प्रतिशत मै कर्जा दिने भएको हो। यसबाहेक जुनसुकै ब्राण्डका विद्युतीय गाडी खरिद गर्दा बेस रेटमा एक प्रतिशत मात्रै प्रिमियम जोड्ने जनाएको छ। हाल बैंकको बेस रेट १०.१५ प्रतिशत छ। यो अफर एक वर्षसम्म लागू हुनेछ। सेवा शुल्क भने यथावत छन्। यस्तो कर्जा भने तीन दिनमै उपलब्ध गराउने बैंकको प्रतिबद्धता छ।

हिमालयन बैंक

यो बैंकले पनि विद्युतीय गाडी खरिद गर्दा बेस रेटमा १.१२ प्रतिशत मात्रै प्रिमियमको अफर ल्याएको छ। हाल बैंकको बेस रेट १०.८७ प्रतिशत छ। जसअनुसार ११.९९ प्रतिशतमै कर्जा उपलब्ध हुने छ। यो ८ वर्षसम्मका लागि स्थिर हुने बैंकले जनाएको छ। यसको सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै तय गरेको हो।

सानीमा बैंक

यो बैंकले १०.९९ प्रतिशत मै अटो लोन कर्जा उपलब्ध गराउने छ। हाल बैंकको बेस रेट ९.९९ प्रतिशत कायम छ। कर्जाको ७ वर्ष अवधिभर ब्याजदर स्थिर रहनेछ। र यसको सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै तय गरेको हो।

लक्ष्मी सनराइज बैंक

यो बैंकले विद्युतीय गाडी खरिदका लागि कर्जा दिँदा बेस रेटमा एक प्रतिशत र इन्धन गाडीका लागि १.५ प्रतिशत प्रिमियम लगाउने जनाएको छ। यदि स्थिर प्रकृतिको कर्जा लिने हो भने, बैंकले ५ वर्षसम्म दुवै प्रकारको गाडीमा १२.५० प्रतिशत स्थिर कर्जा लिनेछ। सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै तय गरेको छ। बैंकले पनि यस्तो कर्जा तीन दिनमै उपलब्ध गराउने छ।

कामना सेवा विकास बैंक

यो बैंकले विद्युतीय सवारी साधनका लागि वार्षिक ११.९५ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। यो बैंकको बेस रेटभन्दा ०.१४ प्रतिशत मात्रै धेरै हो। बैंकले विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिने जनाएको छ। यस्तो कर्जा तीन दिनमै उपलब्ध गराउने बैंकको प्रतिबद्धता छ।

महालक्ष्मी विकास बैंक

यो विकास बैंकले विद्युतीय गाडी र इन्धन गाडीका खरिददारहरुलाई लागि छुट्टाछुट्टै अफर ल्याएको छ।

विद्युतीय गाडीका लागि कर्जा लिँदा ३ देखि ५ वर्ष अवधिको कर्जा दिने जनाएको छ। अधिकतम ३ करोडसम्म यस्तो कर्जा पाइनेछ। इन्धनबाट चल्ने गाडीमा ३ देखि ८ वर्षका लागि कर्जा दिने जनाएको छ। कर्जा अधिकतम ३ करोडसम्म दिने जनाएको छ।

विद्युतिय गाडीका लागि ८० प्रतिशत र इन्धनका लागि ५० प्रतिशतसम्म कर्जा दिनेछ। १२.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको हो। बैंकको बेस रेट ११.२१ प्रतिशत छ। बैंकले अटो लोन लिँदा सेवा शुल्क बापत ०.७५ प्रतिशत मात्रै लिने जनाएको छ।

1340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका