जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • इसेवाले सार्वजनिक गर्यो आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र, कसरी मगाउने ?

इसेवाले सार्वजनिक गर्यो आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र, कसरी मगाउने ?

इसेवाले आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र सार्वजनिक गरेको छ । डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुनः डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि उक्त इस्पिकर यन्त्र सार्वजनिक गरेको हो ।

सिम कार्ड तथा वाई-फाई मार्फत इन्टरनेटमा जोडिएर इस्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने इसेवाले जनाएको छ । यार्सा टेकसँगको सहकार्यमा बनाइएको इस्पिकर यन्त्र पूर्णतः नेपालमै बनेको यन्त्र हो ।

इस्पिकर एक अडियो अलर्ट यन्त्र हो जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ । यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ । यस अगाडि, ग्राहक तथा व्यवसायीहरूले क्यूआरमार्फत आएको भुक्तानी पूरा भएरनभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो । कहिलेकाहीँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउनमा ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो ।

त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो । उक्त स्क्रिनसट साँचो भए/नभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन । कुनै व्यवसायीहरूले आफ्नो कर्मचारी मार्फत व्यापार-व्यवसाय सञ्चालन गर्दा कारोबार पूरा भए/नभएको यकिन गर्न समेत झन्झट हुन्थ्यो ।

एफ वान् सफ्ट ग्रुप टावरमा कार्तिक १ मा भएको इस्पिकर यन्त्रको लोकार्पण समारोह इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै एफ वान् सफ्टका डाइरेक्टर, सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए । १५ वर्ष देखि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा नेपालको डिजिटल अर्थव्यवस्थालाई सुदृध पार्न इसेवाको मुख्य भूमिका रहेकोमा पनि उनले जोड दिए ।

त्यस्तै, उक्त कार्यक्रममा बोल्दै यार्सा टेकका सीईओ रहेका एन्. जे. सुवेदीले मात्र २ वर्ष अघि खुलेको यार्सा टेकले केही समय देखि यही यन्त्रको लागि रिसर्च र विकास गर्नमा लागेको बताएका थिए । इसेवासँग मिलेर विभिन्न प्रयोजनका लागि यसै यन्त्रको अझै विस्तारित भर्जनहरू पनि बनाउने बताए । त्यस्तै, एफ वान् सफ्टका प्रेसिडेन्ट विश्वास ढकालले इसेवा र यार्सा टेकको यस सहकार्यले देशमै प्रविधि सम्बन्धी धेरै कार्य गर्न सकिने तथा यसले उद्यमीलाई प्रोत्साहन गरेर अर्थतन्त्रलाई सकारात्मक सुझाव पार्ने बताएका छन् । उक्त कार्यक्रममा विश्वास ढकालले नै रु २५०० पठाई यन्त्रले कसरी काम गर्छ भनेर उपस्थित सबैलाई नमुना देखाएका थिए ।

त्यस्तै, फोनपेका सीईओ दिवस सापकोटाले पूर्णतः नेपालमै बनेको यस प्रविधिले सुपथ मूल्यमै गुणस्तरीय सेवा दिएकाले यार्सा टेकलाई धन्यवाद ज्ञापन गरे। उनले नेपाल जसरी टेक्नोलोजी र सफ्टवेयरमा अघि बढेको छ, त्यसरी नै हार्डवेयरको मामला पनि अघि बढेको बताए । त्यस्तै इसेवाका सीईओ जगदीश खड्काले यस यन्त्रले अंक चिन्ने तथा अंग्रेजी पढ्न गाह्रो हुने साना तथा मझौला उद्यमीहरूलाई यस प्रभावकारी टेक्नोलोजीले सहयोग पुग्नेमा विश्वस्त रहेको बताएका थिए । कार्यक्रमका संचालक आशिष गौतमले यस यन्त्रले अहिले नेपाली तथा अंग्रेजीमा सेवा दिए पनि निकट भविष्यमा नेपालको स्थानीय भाषा मैथिली तथा नेवारी (नेपाल) भाषामा पनि सेवा दिने जानकारी दिएका थिए ।

इस्पिकर यन्त्र बजारमा आएसँगै यसले ग्राहक तथा व्यवसायी दुवैको अनुभवलाई सजिलो र सुलभ बनाउन ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ । यसले कारोबार पूरा भएको पुष्टि गर्नका लागि व्यवसायीले घरीघरी फोन हेर्नुपर्ने वाध्यताबाट मुक्त गरिदिएको छ । इस्पिकर यन्त्रको साथले स्क्रिनसटको साटफेर, नोटीफिकेसनको पर्खाइ, खातावालाको उपस्थिति, फोन अन हुनु पर्ने वाध्यता लगाएतको झन्झटबाट व्यवसायी तथा ग्राहकलाई पनि मुक्त गरेको छ । कारोबारको जानकारी तुरुन्तै आवाजमार्फत पाइने हुनाले यसले सबैलाई सहज बनाउने विश्वास छ । इसेवाको सामाजिक सञ्जालमा देखिएअनुसार थुप्रै व्यवसायीहरू यस यन्त्रको पर्खाईमा रहेका छन् ।

इस्पिकर कसरी मगाउने ?

इसेवाको वेब वा एपको प्रयोग गरी सजिलै इस्पिकर यन्त्र मगाउन सकिनेछ । यो यन्त्र अर्डर गर्नका लागि इसेवाको ‘न्यूसर्भिसेस्’ मा गई ‘ईस्पिकर रिक्वेष्ट’ छान्नुहोस् । तपाईंले उक्त फारम भरेर बुझाएपश्चात स्वीकृत भएपछि, नेपालभरी जहाँसुकै तपाईंले अनुरोध गरेको स्थानमा इसेवाले नै पुर्याउनेछ । इस्पिकर यन्त्र दुई वटा तरिकाले मगाउन सकिनेछ । व्यवसायीहरूले एकमुस्ट रकम तिरेर वा मासिक महशुल तिरेर इस्पिकर यन्त्र मगाउन सक्नेछन् । अहिलेका लागि व्यवसायीहरूले एकमुस्ट रकम तिरेर नै इस्पिकर मगाउन सक्नेछन् भने मासिक महशुल तिरेर इस्पिकर मगाउने तरिका पनि छिट्टै ल्याउने इसेवाले जनाएको छ । एकमुस्ट रकम तिर्नेले वास्तविक मूल्य रु ४००० तिर्नु पर्नेमा अहिलेको चाडपर्वको अवसरमा व्यवसायीले रु ३६०० मै इस्पिकर पाउन सक्नेछन् । साथै उक्त यन्त्रमा १२ महिनाको वारेन्टी पनि रहेको इसेवाले जानकारी गराएको छ । कार्तिक १ देखि इस्पिकर यन्त्रको अर्डर गर्न सकिने र छठ पछि व्यवसायीहरूले उक्त यन्त्र पाउने इसेवाले जनाएको छ ।

हाल, इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका २ लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा दुई करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका