जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरेका छौं

७७ जिल्लामा आफ्नो सेवा विस्तार गरेका छौं

पछिल्लो समय नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेखनीय दरमा बढिरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्समा वृद्धि भएको हो । एक महिनामै एक खर्ब १६ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । जुन मासिक गणनामा हालसम्मकै उच्च हो । साधारणतः चाडपर्वको वेलामा पनि नेपालमा रेमिट्यान्स आप्रवाह बढी हुने गरेको छ । रेमिट्यान्स जनताको जीवनस्तर उकास्ने साधन मात्रै नभई अर्थतन्त्रकै आधारस्तम्भसमेत बनिरहेको छ । यसै सन्दर्भमा नेपालमा रेमिट्यान्स आप्रवाह, त्यसको सदुपयोग, रेमिट्यान्स कम्पनीका सेवालगायत विविध विषयमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलसँग गरेको कुराकानी :

नेपालमा औपचारिक रेमिट्यान्स भित्र्याउने पहिलो कम्पनी भएकाले आइएमईले अहिले बदलिँदो बजारका सन्दर्भमा आफ्नो सेवालाई कसरी विस्तार गरिरहेको छ ? 
आइएमई नेपालको रेमिट्यान्स क्षेत्रको पायोनियर कम्पनी हो । सुरुवाती दिनदेखि नै आइएमई देशकै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी पनि बन्न सफल भएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने औपचारिक माध्यमबाट नेपाल भित्रिने कुल रेमिट्यान्सको २२–२३ प्रतिशतको बजारहिस्सा आइएमईले ओगटेको छ । त्यति मात्र हैन, रेमिट्यान्स कम्पनीमध्येबाट सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा पनि आइएमई लगातार सम्मानित हुँदै आएको छ । यो हाम्रो लागि गौरवको विषय पनि हो । 

आइएमई आफ्नो स्थापनाकालदेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्घ छ । सेवा शुभारम्भको २३औँ वर्षसम्म आइपुग्दा हामीले नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्दै ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरेका छौँ । बैंक तथा वित्तीय संस्थाका शाखाहरूसहित ३५ हजार बढी एजेन्ट तथा सब–एजेन्टका साथै २२५ भन्दा बढी आइएमई सेन्टरमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेका छौँ भने दैनिक करिब ७० हजारभन्दा धेरै नेपाली सेवाग्राहीले हाम्रो सेवा लिइरहनुभएको छ । त्यसैगरी, हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमार्फत परम्परागत रेमिट्यान्स करिडोरलगायत संसारभरका अधिकांश श्रम गन्तव्यबाट सेवा सञ्चालन गरिरहेका छौँ । प्रविधिको बढ्दो प्रयोगलाई हामीले पनि आत्मसात् गर्दै अघि बढिरहेका छौँ ।

डिजिटल रेमिट्यान्सको प्रवद्र्धनलाई नै हामीले अबको कार्यदिशा बनाएका छौँ । सोही प्रयासस्वरूप हामीले आइएमई पे मोबाइल वालेटलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गरिरहेका छौँ । अब सेवाग्राहीले आफू बसेकै स्थानबाट रियल टाइममा रेमिट्यान्स पठाउन र प्राप्त गर्न सक्नुहुनेछ । यसबाट रेमिट्यान्स पठाउन तथा प्राप्त गर्न मात्र हैन, डिजिटल भुक्तानीसम्बन्धी अन्य कारोबार गर्न पनि सहज हुने हामीले विश्वास लिएका छौँ । यसरी आइएमईले रेमिट्यान्सको आप्रवाहलाई सहज बनाउन, नागरिकमा वित्तीय पहुँच विस्तार गर्न, आफ्ना सेवालाई समयसापेक्ष प्रविधिमैत्री बनाउँदै सुरक्षित र सहज सेवा विस्तारमा निरन्तर काम गरिरहेको छ । 

केही समययता रेमिट्यान्स क्षेत्रमा पनि नयाँ–नयाँ प्रयोग भएका देखिन्छन् । खासगरी, डिजिटल रूपान्तरण र पहुँचमा धेरै विकास भइसकेको छ । यो सन्दर्भमा यसले सामना गर्ने चुनौती तथा अवसर के–के हुन् ?
आजको युग प्रविधिको युग हो । प्रविधिको प्रयोगले हाम्रो जीवनशैलीमा ठूलै परिवर्तन ल्याइरहेको छ । ग्राहकको रोजाइ, आवश्यकता तथा बजारको डाइनामिक्स परिवर्तन भइरहेको छ । समग्रमा, रेमिट्यान्स सेवा नयाँ चरणको रूपान्तरणको अवस्थामा छ । त्यसैले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजानु आजको आवश्यकता नै हो । हामीले पनि सोहीअनुरूप नै काम गरिरहेका छौँ । पछिल्लो समय युरोप, अमेरिकालगायतका धेरै देश नेपालीहरूको श्रम तथा बसोवासको गन्तव्य बनिरहेको छ । यस्ता श्रमस्वीकृति प्राप्त भएका नयाँ गन्तव्य मुलुकहरूमा पनि सहज सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ । 

डिजिटल रूपान्तरण र फिनटेकको विकास र प्रयोगले रेमिट्यान्स सेवालाई कम खर्चिलो, सुरक्षित एवं रियल टाइम बनाएको छ, जसका कारण रकम पठाउन र प्राप्त गर्न निकै नै सहज भएको छ । लागत न्यूनीकरण भइरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । प्रविधिको प्रयोगकै कारणले धेरैभन्दा धेरै मानिसमा बैंकिङ प्रणालीको सहज पहुँच पुग्न सकेको हो भन्ने लाग्छ ।

प्रविधिको प्रयोगमा अवसरसँगसँगै प्रशस्त चुनौती पनि छन् । सुरक्षा तथा डेटा प्राइभेसी, अनधिकृत पहुँच आदि प्रमुख चुनौती हुन जस्तो लाग्छ । त्यसैगरी, नयाँ तथा स्थानअनुसारका फरक–फरक नियमको पालना, विनिमय दरको उतारचढाव र वित्तीय समावेशीकरणको सुनिश्चितता आदि पनि चुनौतीपूर्ण रहेका छन् । यद्यपि, नियमन र प्रतिस्पर्धी मूल्य निर्धारणलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिले उपलब्ध गराएका सुविधाहरूलाई प्रभावकारी रूपमा नेभिगेट गर्न सकियो भने रेमिट्यान्स कम्पनीहरूका लागि पर्याप्त अवसर उपलब्ध हुन्छन् भन्ने लाग्छ । 

आइएमईले प्रदान गरिरहेको सेवा तथा प्रयोग गरिरहेको नयाँ प्रविधि र नवीनताबारे के भन्नुहुन्छ ?
मैले अघि नै भनिसकेँ, डिजिटल रेमिट्यान्सको प्रवद्र्धनलाई नै हामीले अबको कार्यदिशा बनाएर काम गरिरहेका छौँ । र, त्यसमा पनि आइएमईले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ भन्नेमा हामी विश्वस्त छौँ । यही नै हाम्रो डिजिटल रूपान्तरण तथा नवप्रर्वतनको लक्ष्य पनि हो । 

यसैअन्तर्गत आइएमई पे वालेटलाई थप चुस्त तथा बहुउपयोगी बनाउँदै लगेका छौँ भने डिजिटल रेमिट्यान्सलाई अझ सहज र विश्वासिलो बनाउनका लागि रेमिट्यान्स भी–२ को विकास गरिरहेका छौँ । हामीलाई विश्वास छ कि यो भर्सनले ग्राहकको अनुभवलाई अर्काे लेभलमा पुर्‍याउनेछ । यसले ग्राहकलाई भुक्तानीसम्बन्धी विविधीकृत सेवा उपलब्ध गराउनुका साथै आइएमईले प्रदान गर्ने रेमिट्यान्स सेवालाई छिटो, सुरक्षित र सेवाग्राही केन्द्रित बनाउँछ । 

नियमनको सन्दर्भमा आइएमईले रेमिट्यान्स लेनदेनको सुरक्षा तथा वैधता सुनिश्चित गर्न के–के उपाय अपनाएको छ ? 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको डाइनामिक्स तथा ग्राहकको आवश्यकताअनुरूपको सेवा प्रवाहमा आइएमई प्रतिबद्ध छ र सोहीअनुरूप सेवालाई परिष्कृत गर्दै अघि बढिरहेका छौँ । रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता हो । सोहीअनुसार सुरक्षामा आवश्यक सम्पूर्ण उपकरणहरूलाई हाम्रो सिस्टममा इन्टिग्रेट गरेका छौँ । हामी कम्प्लाइन्समा कहिल्यै पनि कम्प्रोमाइज गर्दैनौँ । 

केन्द्रीय बैंक र नेपाल सरकारको नीतिबाहेक कुनै पनि काम गर्दैनौँ । अर्काेचाहिँ हामी विश्वमा आएका नयाँ–नयाँ प्रविधिलाई आत्मसात् गर्दै अघि बढिरहेका छौँ । हाम्रो आफ्नै आइटी टिम छ, आफ्नै सिस्टम छ । त्यस्तै, हामीले इन्टरनेसनल कम्प्लाइन्स सिस्टम चलाउँछौँ, जुन नेपालका बैंकहरूले पनि चलाउँछन् ।

दुरुस्त तथा अपडेटेड केवाइसी प्रक्रिया, एएमएल नियमनको पूर्ण पालना, प्रतिबन्ध स्क्रिनिङ गर्ने, नियमित रूपमा कम्प्लाइन्स अडिट, डाटा इन्क्रिप्सन र सुरक्षा प्रोटोकलहरू समावेश गरिएका छन् । त्यसैगरी, नियामक निकायले दिने निर्देशनहरूलाई सधैँ उच्च प्राथमिकताका साथ अवलम्बन गरिएको छ । यसका साथसाथै आइएमईले कर्मचारीलाई निरन्तर रूपमा तालिम उपलब्ध गराउने गरेको छ भने सेवाग्राहीलाई पनि नयाँ–नयाँ आउने नियमका बारेमा सुसूचित गर्ने गरेको छ । चुस्त सेवा, निरन्तर अनुगमन र सुरक्षाप्रतिको प्रतिबद्धताले नै आइएमईलाई देशकै नम्बर वान कम्पनी बन्न मद्दत गरेको हो जस्तो लाग्छ । 

रेमिट्यान्सको वर्तमान प्रवृत्ति, विशेष गरी सेवाग्राहीको प्राथमिकता र डिजिटल रूपान्तरणको प्रभावको सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
रेमिट्यान्स सेवामा सेवाग्राहीको प्राथमिकतामा उल्लेखनीय परिवर्तन भइरहेको देखिन्छ । डिजिटल च्यानलहरू लोकप्रिय भइरहेका छन् । डिजिटल प्रविधिको विकास, प्रयोग तथा प्रतिस्पर्धाले लागतलाई अझ कम गरिरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । पारदर्शी तथा प्रतिस्पर्धी शुल्क निर्धारण हुने भएका कारण सेवाग्राहीलाई कम लागतमै रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने अवस्था सिर्जना भएको छ । यसबाहेक, डिजिटल रूपान्तरणकै कारण दूरदराजसम्म पनि वित्तीय पहुँच विस्तार भएको छ भने वित्तीय समावेशीकरणमा समेत उल्लेखनीय योगदान पुगेको हामी देख्न सक्छौँ ।

डिजिटल रेमिट्यान्सको प्रवद्र्धनलाई हामीले अबको कार्यदिशा बनाएका छौँ । सोही प्रयासस्वरूप हामीले आइएमई पे मोबाइल वालेटलाई सहायक कम्पनीको रूपमा सञ्चालन गरिरहेका छौँ । अब आफू बसेकै स्थानबाट रियल टाइममा रेमिट्यान्स पठाउन र प्राप्त गर्न सकिन्छ ।

प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलतामा कुन रणनीतिले योगदान पुर्‍याएकोजस्तो लाग्छ ?
उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलता यसका सेवाग्राहीले प्राप्त गरेको सेवा र त्यसले दिएको सन्तुष्टिमा निर्भर रहँदै आएको छ । आइएमईले सधैँ सेवाग्राहीको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्ने गरेको छ । वित्तीय क्षेत्रमा उपलब्ध प्रविधिलाई सकेसम्म छिटो ग्रहण गर्ने तथा पहुँच विस्तार गर्न रणनीतिक साझेदारीमा ध्यान दिने गरेको छ । प्रत्येक कारोबारको वैधता र सुरक्षा सुनिश्चित गर्दै नियमनलाई कडाइका साथ पालना गर्दै आएका छौँ ।प्रतिस्पर्धी मूल्य निर्धारण, विश्वव्यापी नेटवर्क र समयसापेक्ष हाम्रा सेवाहरूमा गरिने सुधार तथा अपडेटले आइएमईलाई सधैँ विश्वासिलो र भरपर्दाे रेमिट्यान्स कम्पनीको रूपमा स्थापित गरेको छ । अर्काेतर्फ, हामी प्रोफिट मोटिभ मात्र नभएर सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आइरहेका छौँ । 

अभिभावकविहीन बालबालिकालाई शिक्षा, विभिन्न दैवी तथा प्राकृतिक प्रकोपका वेलामा उपलब्ध गराइने सहयोगलगायतका अन्य सामजिक कार्यमा भएको संलग्नताले हामीलाई समस्त ग्राहकको सामीप्यतामा ल्याएको छ र अरूभन्दा फरक पहिचान बनाउन मद्दत गरेको छ । यसको मतलब आइएमई व्यवसायसँगसँगै निरन्तर रूपमा सेवाग्राही र त्यसमा जोडिएका समुदायहरूको हितमा समर्पित छ । यिनै बृहत् कारणले आइएमई रेमिट्यान्स क्षेत्रमा सबैभन्दा विश्वासिलो कम्पनीको रूपमा स्थापित हुन सफल भएको भन्ने लाग्छ ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको आइएमईको नयाँ क्याम्पेन र वर्षैभरि आइएमई गरौँ, करोडपति बनौँ भन्ने क्याम्पेनबारे पनि केही भनिदिनुस् न ! 
आइएमईको पछिल्लो अभियान आइएमई गरौँ, करोडपति बनौँ, वैधानिक माध्यमबाट रकम पठाउन प्रोत्साहन गर्ने मुख्य उद्देश्यले सुरु गरिएको हो । मुख्य चाडपर्वका समयमा देशमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने हाम्रो विश्वास रहेको छ । 

यस अभियानअन्तर्गत आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये भाग्यशाली एकजनाले एक करोड रुपैयाँ नगद जित्न सक्नुहुनेछ भने प्रत्येक महिना एकजनाले एक लाख नगद रुपैयाँ प्राप्त गर्नुहुनेछ । यसैगरी, दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्न सक्नुहुनेछ । 

आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजना ०८० असोज २ गतेदेखि २०८१ भदौ मसान्तसम्म लागू हुनेछ । यस अभियानले हाम्रा समस्त ग्राहक वर्गमा चावपर्व विशेष उत्साह थप्ने मात्र नभएर आइएमईको सुरक्षित डिजिटल मनी ट्रान्सफर सेवाको प्रयोगलाई पनि बढावा दिन्छ भन्ने हाम्रो विश्वास छ ।

अभियानलाई निष्पक्ष र पारदर्शी बनाउन आइएमईका संस्थापक, कर्मचारी, व्यावसायिक साझेदारहरू र आइएमईसँग आबद्ध व्यक्तिहरू अभियानमा सहभागी हुन नपाउने नियम लागू गरिएको छ । यस अभियानबाट सेवाग्राहीको संलग्नता र आइएमईका डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनीय वृद्धिको अपेक्षा गरिएको छ । आइएमई ब्रान्डलाई अझ स्थापित गर्दै सेवाग्राहीका लागि स्मरणीय वित्तीय अनुभव सिर्जना गर्ने लक्ष्य पनि यसको रहेको छ । 

आइएमईको आइपिओ निष्कासन प्रक्रिया कहाँ पुग्यो ? कति प्रिमियम मूल्य राखेर सेयर निष्कासन गर्दै छ ?
आइएमईले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्दै छ । आइपिओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेका छौँ । अब सेवोनबाट अनुमति प्राप्त गर्नेबित्तिकै सेयर निष्कासन गर्नेछौँ । 

अन्त्यमा, आगामी केही वर्षमा रेमिट्यान्स सेवाको परिदृश्यमा आइएमईले कस्तो भूमिका खेल्लाजस्तो लाग्छ ?
प्रविधिको विकाससँगै रेमिट्यान्स सेवामा पनि धेरै परिवर्तन देखा परिरहेका छन् । वित्तीय कारोबारको परम्परागत शैली परिवर्तन भएका छन् । डिजिटलाइजेसनको प्रभाव समग्र प्रणालीमा नै परेको छ । यसै सन्दर्भमा संसारभरमा विकास भएका अत्याधुनिक प्रविधिलाई एडप्ट गर्दै अनलाइन र मोबाइल प्लेटफर्मलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । 

रेमिट्यान्स पठाउने र प्राप्त गर्ने सहज र सुरक्षित तरिका प्रदान गर्ने कार्यमा नेतृत्वदायी भूमिमा आइएमईले खेल्नेछ । नियामक मापदण्डको पालना गर्दै छिटो र कम लागतमा क्रसबोर्डर मनी ट्रान्सफर सेवा प्रदान गर्न प्रतिबद्ध छौँ । आगामी दिनमा वित्तीय पहुँच विस्तारमा स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै, सेवा नपुगेका र दुर्गम क्षेत्रहरूमा हाम्रा सेवा अझ प्रभावकारी ढंगले विस्तार गर्ने लक्ष्य राखेका छौँ । 

पछिल्लो समय युरोप अमेरिकालगायतका धेरै देश नेपालीहरूको श्रम तथा बसोवासको गन्तव्य बनिरहेको छ । यस्ता श्रमस्वीकृति प्राप्त भएका नयाँ गन्तव्य मुलुकहरूमा पनि सहज सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ । समग्रमा सुरक्षित तथा गुणस्तरीय सेवा, पारदर्शी लागत, रियल टाइम कारोबार तथा रेमिट्यान्स सेवाको डिजिटल रूपान्तरण नै आइएमईको आगामी लक्ष्य तथा कार्यदिशा हुनेछन् । (नयाँ पत्रिका)

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?